Logo
Logo

कसले ‘बुस्ट’ गर्‍यो राष्ट्रपतिको नाममा खोलिएको ‘फेक’ पेज ?


प्रदीपराज दाहाल


काठमाडौं । फेसबुकमा ‘विद्यादेवी भण्डारी’ नामका धेरै अकाउन्ट भेटिन्छन् । राष्ट्रपतिकै नाममा खोलिएको अकाउन्ट भएकाले धेरैले लाइक गरेका छन् । तर, राष्ट्रपति कार्यालयले दिएको जानकारी अनुसार राष्ट्रपतिको फेसबुक अकाउन्ट नै छैन । यसको मतलव फेसबुकमा भेटिने ‘विद्या देवी भण्डारी’ नामका सबै अकाउन्ट ‘फेक’ हुन् ।

विद्यादेवी भण्डारी नामको पेज बुस्ट !
राष्ट्रपतिको फेसबुक छैन भन्ने थाहा पाइसक्नु भयो । तर, फेसबुकमा ‘विद्यादेवी भण्डारी’ नामको फेसबुक पेज ‘बुस्ट’ गरिएको छ । तपाईको होम पेजमा समेत ‘स्पोन्सर्ड’ लेखिएको विद्यादेवी भण्डारी नामको पेज देखा परेको हुनसक्छ ।

आफूले फेसबुकमा लेखेको कुनै पनि स्टाटसलाई धेरैभन्दा धेरै व्यक्तिसम्म पुर्‍याउन पैसा तिरेर ‘बुस्ट’ गर्ने व्यवस्था छ । त्यसरी बुस्ट गरिएको सामग्रीको मुनी ‘स्पोन्सर्ड’ लेखिएको हुन्छ । फेसबुक पेजमा लाइक बटुल्न पनि ‘बुस्ट’ गर्ने व्यवस्था छ । राष्ट्रपतिको नाममा खोलिएको पेजमा पनि लाइक बढाउन ‘बुस्ट’ गरिएको हो ।

पेजमा खास केही छैन
१५ जनवरी २०२१ मा खोलिएको उक्त पेज १८ सयभन्दा बढीले लाइक गरेका छन् । हालसम्म तीन वटा फोटो मात्रै पोष्ट गरिएको छ । पेज खोलिएको दिन बाहेक अरु दिन पोष्ट गरिएका छैनन् । रमाइलो त के छ भने, तीन मध्ये दुई तस्वीर नेपालका लागि भारतीय राजदूत र एक तस्वीर भारतीय सेनापति सँगका हुन् । ति बाहेक अरु केही पोष्ट छैन ।

हालसालै ‘बुष्ट’ गरिएकाले एउटा नयाँ कमेन्ट समेत भेटिन्छ । त्यहाँ प्रधामन्त्री केपी शर्मा ओलीले सपथ लिँदाको ‘त्यो पर्दैन’ प्रकरणसँग जोडेर ‘हिजोको सपथ ग्रहणमा हिहिहि’ भन्दै राष्ट्रपतिको खिल्ली उडाउन खोजिएको छ । सोही कमेन्ट भएको फोटो केही ग्रुपमा सेयर समेत गरिएको छ ।

प्रोफाइलबाट कन्भर्ट गरिएको पेज
प्रस्तुत फेसबुक पेज प्रोफाइल अकाउन्टबाट कन्भर्ट गरिएको हो । कन्भर्ट गर्दा नामको पहिलो अल्फाबेट अंकित ‘प्रोफाइल पिक्चर’ बन्छ । विद्याको ‘बी’बाट सुरु हुने भएकाले उक्त पेजमा अटो जेनेरेट भएको (B) अंकित प्रेफाइल पिक्चर अझै छ ।

कसले गर्‍यो बुस्ट ?
जम्मा तीन वटा पुरानो फोटो भएको पेजलाई के स्वार्थमा कसले ‘बुष्ट’ गरेको हो ? कसैलाई थाहा छैन । राष्ट्रपतिलाई पैसा तिरेर ‘म पनि फेसबुकमा आएँ है’ भनिराख्नु पर्ने अवस्था र आवश्यकता पनि होइन । राष्ट्रपति कार्यालयका अनुसार सामाजिक संजालमा राष्ट्रपतिको नाममा खोलिएको एक मात्र आधिकारिक ट्वीटर अकाउन्टमा छ । जुन अकाउन्ट ‘भेरिफाइड’ छ ।

के कारवाही होला ?
नेपालमा अहिलेसम्म इन्टरनेटको माध्यमबाट हुने अनैतिक गतिविधिमा संलग्नलाई विद्युतीय कारोवार ऐन अन्तर्गत कारवाही हुँदै आएको छ । राष्ट्रपतिकै नाम दुरुपयोग गरिएको हुनाले यस सन्दर्भमा अरु कारवाही हुनसक्छ । यस अकाउन्टलाई दुरुपयोग गर्दै अन्य गतिविधि गरेमा थप अरु सजाय हुनसक्ने कानूनका जानकार बताउँछन् ।

राष्ट्रपति बदनाम हुन सक्छ !
सामान्य रुपमा हेर्दा एउटा पेज न बनाएका हुन् । पेज बनाउँदैमा बिग्रने केही होइन भन्ने मत पनि हुन सक्छ । तर, राष्ट्रपतिसँग जोडिएको विषय भएकाले यो संवेदनशील विषय हो । राष्ट्रपतिको नाम दुरुपयोग हुनु भनेका सिंगो संस्थाको बदनामी हुनु हो ।

साइबर ब्यूरोले केही गर्न सक्छ ?
नेपाल प्रहरीको ‘साइबर ब्यूरो’ इन्टरनेटसँग सम्बन्ध राख्ने घटनालाई हेर्दै आएको छ । कसैले प्रमाण पुर्‍याएर निवेदन दिएमा फेसबुकसँग सहकार्य गरे केसको प्रकृति हेरेर ‘साइबर ब्यूरो’ले कारवाही गर्दै आएको छ । त्यसैले राष्ट्रपतिको नाम दुरुपयोग गर्नेलाई ब्यूरोले कारवाही गर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्