धरान । एउटा हाकिमले घुस खाएर कमसल सामान खरिद गर्दा कसरी दर्जनौँ मानिसको ज्यानै जान सक्छ भन्ने कुराको उदाहरण अहिले धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले खरिद गरेको अक्सिजन प्लान्ट बिग्रिएर बिरामी मर्न थालेको घटनाले प्रष्ट पारेको छ ।
केही दिनअघि सप्तरी राजविराजवाट कोभिड संक्रमित ३० वर्षीय उमेश मेहतालाइ विपी प्रतिष्ठान ल्याइएको थियो । तर, उनलाई अस्पतालले बेड छैन भनेर फर्काइएपछि विराटनगर लैजाँदालैजाँदै बाटोमा उनको मृत्यु भयो । यस्तै जेठ ४ गते राजविराजकै हनुमान नगरबाट ल्याइएका ७२ वर्षीय रामदेवी साहलाई पनि बेड छैन भनेर प्रतिष्ठानले फर्काएको थियो । उनलाई पनि बाध्य भएर नोबेल अस्पताल लगियो तर श्वास फेर्न कठिन भइरहेको उनले पनि समयमा अक्सिजन नपाएर मर्नु परेको उनका छोरा सुकदेव साह बताउँछन् । यसरी प्रदेश नं १ कै सबैभन्दा ठूलो कोभिड अस्पतालसमेत स्थापना भएको विपी प्रतिष्ठानमा यो महिना अक्सिजन अभावकै कारण झण्डै दुई दर्जन बिरामीले ज्यान गुमाउनुपरेको छ ।

अक्सिजन नभएको कारण बिरामी मरिरहे पनि आफ्नो राम्रो सेवा छ भनी दाबी गरिरहेको प्रतिष्ठानले गत जेठ ८ गते भने एउटा विज्ञप्ति निकालेर प्रतिष्ठानमा रहेको अक्सिजन प्लान्ट बिग्रिएकाले अक्सिजन आपूर्ति राम्रो नहुञ्जेलसम्मको लागि बिरामी भर्नामा कटौती गर्ने भनिएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा चुणामणी पोख्रेलको नाममा प्रकाशित सो विज्ञप्तीमा हाल प्रतिष्ठानमा भएको अक्सिजन प्लान्टमा प्राविधिक समस्या आएर उत्पादनमा कमि आएकोले सिलिण्डरको अक्सिजनबाट काम चलाउनु परेको र अक्सिजनको मात्रा हेरेर मात्र नयाँ बिरामी भर्ना लिन सकिने भएकोले यसबाट पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छौ भनिएको छ ।
कसरी बिग्रियो अक्सिजन मेशिन ?
प्रतिष्ठानभित्र प्रतिमिनेट १६ सय लिटर अक्सिजन उत्पादन गर्ने क्षमताको नयाँ मेसिन छ । तर घरीघरी बिग्रिरहने सो प्लान्टबाट गत वर्षदेखि नै ८०० लिटर मात्र अक्सिजन उत्पादन भइरहेको थियो । तर दोस्रो चरणको कोभिड प्रकोपका बिरामीहरु आउन थालेपछि त्यो ८०० लिटर पनि उत्पादन हुन छाडेर २÷३ सयमा पुगेको छ । एक सय बेडको कोभिड अस्पताल हजार बेडको अन्य विभिन्न रोगका बिरामी राखिने प्रतिष्ठानमा अक्सिजनको हाहाकार भएपछि प्रतिष्ठानले अपुग अक्सिजन विभिन्न ठाउँबाट खरिद गरेर ल्याइरहेको कुरा सो विभागका प्रमुख राकेश मिश्राले बताए ।
यसो गर्दा प्रतिष्ठानलाई आर्थिकरुपमा क्षति त पुगेकै छ नै त्यो भन्दा महत्वपूर्ण बिरामीलाई प्लान्टको अक्सिजन सकिएर सिलिण्डरको अक्सिजन हाल्दाहाल्दै कसैकसैको श्वास खुस्किसकेको हुृन्छ अनि हामीले गाली खानुपर्छ भन्छिन् एक कर्मचारी । यसरी आफ्नो प्लान्ट हुँदाहँुदै सो नयाँ मेसिन पूर्ण क्षमताका साथ किन चल्न सकेन भन्ने जिज्ञासा राख्दा इलेक्टोमेड शाखाका एक कर्मचारीले प्रमाणसहित एउटा रोचक कथा बताए ।
कथा यस्तो थियो– प्रतिष्ठानमा १६ सय लिटर क्षमताको अक्सिजन प्लान्ट स्थापना गर्न २०७३ साल असार ३१ गते तत्कालीन उपकुलपति डा विपी दासले काठमाडाँैका डाइनोकेम इन्टरनेशनल नामको कम्पनीलाई ठेक्का लगाएका थिए । सम्झौताअनुसार उनले १२० दिनभित्रै उक्त प्लान्ट हस्तान्तरण गर्नुपर्ने थियो । तर एक वर्ष ढिलो ल्याइएको उक्त प्लान्टमा कमसल सामान हालिएको कारण एक वर्षभित्रै बिग्रिन थालेको थियो । २ वर्षसम्मको ग्यारेन्टी अवधि काटिएपछि पनि सो प्लान्ट बिग्रिरहेपछि कम्पनीले मर्मतको लागि भनी २५ लाख माग गरेको थियो । प्रतिष्ठानकै प्राविधिकहरुले सो कम्पनीले नक्कली सामानहरु हालेर बिगारेको हुनाले उनलाई मर्मत खर्च दिन जरुरी नभएको सुझाव प्रतिवेदन भिसीलाई बुझाएको थियो । तर हालै भिसीले लेखाफाँटलाई चर्को दबाब दिएपछि सो कम्पनीलाई २५ लाख भुक्तानी गरिसकेको छ । तर भुक्तानी पाएर पनि मेसिन बिग्रिएपछि यसको सर्वत्र आलोचना भएको छ ।
राजनीतिक दलको नाराबाजी
प्रतिष्ठानका उपकुलपतिले जिम्मेवारपूर्वक काम नगरिदिँदा प्रतिष्ठान तहसनहस हुने अवस्थामा पुगेको भन्दै सोमबार बिहान धरानका सबै राजनीतिक दलका नेताहरुले प्रतिष्ठानको भिसी कार्यालय अगाडि एक घण्टा नारा लगाएर फर्किएका छन् । खासगरी यस्तो महामारीको बेला पनि प्रतिष्ठानले कमिशनको खेलमा डुबेर अक्सिजनजस्तो महत्वपूर्ण चिजमा पनि हेलचेक्र्याइँ गरेर जनता मारेको भनी नेकपा माओवादी धरानका इन्चार्ज अइन्द्र वेधाले आक्रोश पोखेका थिए ।
यसैगरी सो विरोध कार्यक्रममा नेपाली कांगे्रस सुनसरीका सचिव सुजेन्द्र गोले, नेकपा एमालेका धरान नगर अध्यक्ष, जनता समाजवादी पार्टी, संघीय लिम्बूवान राज्य परिषद्, राष्ट्रिय जनमुक्ति पार्टीको सहभागिता रहेको थियो । उनीहरुले प्रतिष्ठानको अक्सिजन प्लान्ट भेन्टिलेटरहरु दुई दिनभित्र बनाएर सेवामा सुधार नगरे थप विरोधका कडा कार्यक्रम ल्याउने बताए । यसैगरी सुनसरीका जिल्ला प्रशासन प्रमुख उमेश ढकालले पनि अन्य जिल्लालाई अक्सिजन आपूर्तिमा सहयोग गर्ने सुनसरी जिल्लाको विपी प्रतिष्ठानजस्तो अस्पतालमा अक्सिजनको कमी छ भनेर सुन्दा आफू छक्क परेको बताए । यदि अक्सिजनको कमी नै थियो भने पनि हामीलाई भनेको भए हुन्थ्यो यसरी जनतालाई दुःख दिन त पाइँदैन भनेर भिसीसँग रिसाएका थिए ।











