सप्तरी । हावाहुरी आए भत्किएला झैँ झुप्रो छ । पश्चिममा ६ फिट चौडाइ र ७ फिट लम्बाइ रहेको झ्याल नभएको एउटा कोठा छ । त्यसैमा भान्सा रहेको कोठामा दुई जना सरस्वती नाम गरेकी महिला बस्छन् । एउटीको थर दास हो भने अर्कीको चौधरी । दुबैको मुहार हिजोआज मलिन छ ।
सस्तोमा पाइएकाले सप्तरीको राजविराज–४ भलुवाही खोला किनारमा एउटा सानो कोठा डेरा लिएका उनीहरुसँगै दासकी १२ वर्षीया छोरी प्रियंका पनि बस्छिन् । एउटा खाटमा सुत्न ठाउँ नपुगेपछि खाटसँग जोडेर बेञ्च लगाइएको छ । प्रियंका पनि निन्याउरो र चिन्तित मुद्रामा आमाको छेउमा सँगै देखिन्छिन् ।
राजविराज नगरपालिका–६ माइत भएकी सरस्वती दासको १६ वर्षकै उमेरमा सप्तरीको हनुमाननगर बजारका उमेश दाससँग मागी विवाह भयो । विवाह भएर घर गएपछि मात्र उनलाई थाहा भयो कि त्यो घर आफ्नो नभई सासुको माइती रहेछ ।
केही महिनापछि सासुलाई उनका माइतीले घरबाट निकालेपछि सरस्वतीको परिवार घरवारविहीन भयो । सासुले त उनको अर्को भाइकोमा शरण पाए । तर नवविवाहिता उनले सहारा पाएनन् ।
श्रीमान सन्तोष साहुजीको पसलमा मिठाइ बनाउथे र केही रकम हात लाग्थ्यो । दासका अनुसार उनका श्रीमानले पनि मादकपदार्थ र नशालु पदार्थ सेवनकर्ता भएकाले त्यसैमा पैसा सक्थे । दास भन्छन्, ‘श्रीमानले त्यतिबेला छाडनु भयो, जतिबेला सबैभन्दा बढी सहाराको जरुरी थियो ।’
गर्भवती भएका बेलामा श्रीमानले छाडेर बेपत्ता भएको घटनालाई उनी सबैभन्दा अप्ठ्यारो समयको रूपमा सम्झिन्छन् । गर्भवती भएका बेला घरपरिवारबाट कुनै पनि सहयोग नपाएपछि माइती घरमा नै गएर छोरीलाई जन्म दिएको उनले सुनाइन् ।
सानै उमेरमा विवाह गरी आमा बनेकी दासले रोजीरोटीका लागि तरकारी पनि बेचिन् । रोजगारी तथा कमाइखान तरकारी बेच्ने व्यवसाय उहाँको लागि सुरक्षित भएन । तरकारी कुहिने र पर्याप्त पुँजी नभएपछि गुजारा चलाउन उनलाई समस्या भयो । पछिल्लो समय उनले होटलमा भाँडा माझ्ने काम गरिन् ।
तरकारी बिक्री गर्दा दासको चिनजान भवन निर्माणमा मजदूरी गर्दै आएकी सरस्वती चौधरीसँग भयो । एउटै नाम भएका उनीहरूको चिनजान मित्रतामा परिणत भयो ।
सुनसरीको भोक्राहा गाउँपालिका–६ नरसिंह घर भएकी चौधरीका श्रीमान् दमका रोगी थिए । श्रीमानको मृत्यु र एक मात्र छोरीको विवाहपछि एक्ली बनेकी ३९ वर्षीया सरस्वती मजदूरी गर्दै राजविराज आइन् ।
भवन निर्माणको ज्याला मजदूरीको काम दैनिक रूपमा नपाएपछि उनी स्थायी कामको खोजीमा थिइन् । यस काममा दासले सघाइन् र उनलाई पनि होटलमा सँगै काम दिलाइन् ।
दुबै जनाले महिनाको सात/सात रुपैयाँ हजार कमाउन थाले । खर्च बचतका हिसाबले दुबै जनासँगै एउटा कोठामा बस्न थाले ।
उनीहरुले काम गर्दै आएको होटल कोभिड–१९ रोकथामका लागि भएको लगातारको बन्दाबन्दीका कारण अहिले बन्द छ । निषेधाज्ञा खुल्ने अनिश्चित भएसँगै होटल खुल्ने पनि अनिश्चित बनेपछि होटल सञ्चालकले उनीहरूलाई छुट्टी दिएका छन् । न्यून तलबमा जसोतसो गुजारा चलाइरहेका उनीहरूलाई अहिले हातमुख कसरी जोर्ने भन्ने चिन्ता छ ।
उनीहरूलाई कोभिड–१९ को सन्त्रासभन्दा पनि भोकभोकै मरिन्छ कि भन्ने चिन्ताले सताउन थालेको छ । छोरी जन्मिदा र हुर्कदा माइतीको सहयोग भए पनि हाल सहयोग नभएको दासले बताइन् ।
लकडाउनका बेला माइत जाँदा भाइ बुहारीले कोरोनाका बेला नआउन भनेको बताइन् । निषेधाज्ञाले होटल बन्द भई काम गर्न नपाउँदा आफूहरूलाई घरखर्च चलाउन निकै समस्या परेको उनीहरूको भनाई छ ।
निषेधाज्ञा भएको १७ दिन पुगेको छ । उनीहरूसँग भएको पैसा पनि सकिएको छ । उनीहरूसँग नत पैसा छ, नत एक छाक गाँसको व्यवस्था गर्ने अन्य उपाय नै छ । पोषणयुक्त खाना खाने कुरा त परै जाओस् घरमा साँझ, बिहानको छाक कसरी टार्ने भन्ने उनीहरूलाई चिन्ता छ ।
चौधरीको श्रीमानको मृत्यु भइसकेको छ भने दासको श्रीमान सम्पर्कमा छैनन्। चौधरीको एक मात्र छोरीको विवाह भइसकेको छ भने दासको एउटी छोरी नाबालिका छिन् ।
होटलमा काम गर्दै आएका उनीहरूले कोभिड–१९ रोकथामका लागि शुरु भएको बन्दाबन्दीका कारण काम गर्न पाएका छैन् ।
निषेधाज्ञाका कारण काम गर्न नपाएपछि उनीहरूलाई दैनिक छाक टार्न समेत मुस्किल परेको छ । काम गर्ने होटलमा नै दुई छाक खान पाइरहेका उनीहरूको होटल बन्द भएपछि खाने समस्या भएको हो ।
त्यसै माथि १२ वर्षीया छोरी भोकाउँदा झनै पिडा थपिने गरेको दासले बताइन् । आँखाभरि आँसु लिँदै दासले भनिन्– ‘आफ्नो भोकभन्दा पनि छोरीलाई भोकले तडपिएको देख्दा निकै गाह्रो हुन्छ ।’












