मकवानपुर । मकवानपुरमा जेठ २० गतेसम्म निषेधाज्ञा थप भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको सिफारिसमा जिल्ला सुरक्षा समतिकिो बिहीबार बसेको बैठकले यस अघि जिल्लामा जारी भएको निषेधाज्ञालाई निरन्तरता दिने र थप ७ दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।
यसअघि जिल्ला सुरक्षा समितिले जेठ १३ गतेसम्म जिल्लामा निषेधाज्ञा गर्ने निर्णय गरेको थियो । मकवानपुरमा गत बैशाख १९ गतेदेखि निषेधाज्ञा जारी गरिएको हो ।
त्यस्तै बैठकले औषधी तथा खाद्य वस्तु तथा तरकारी पसलहरु विहान ५ बजेदेखि ८ बजेसम्म संचालन गर्न दिने, पेट्रोल पम्प, ग्याँस डिपो, अक्सिजन सिलिन्डर पसल नियमित सञ्चालन गर्ने र अन्य सबै प्रकारका व्यवसायहरू पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।
तर, हेटौडा उपमहानगरपालिकाको मुख्य बजारको उत्तरमा चौकीटोल, दक्षिणमा कर्रा खोला, पश्चिममा थाना भर्याङ र पूर्वमा क्याम्पाडाँडाभित्रका औषधी, कृषि बीउबिजन तथा मल तथा भेटनरी पसल मात्र संचालन गर्न दिइने निर्णय गरेको छ ।
सो क्षेत्रमा खाद्यान्न तथा तरकारी, दूध लगायतका दैनिक उपभोग्य बस्तुहरु सम्बन्धित सहकारी वा संघ संस्थाहरूमार्फत स्वास्थ्यका मापदण्ड अपनाएर मोबाइल भ्यानमार्फत टोल–टोलमा विक्री वितरण गर्न दिइने भएको छ ।
त्यस्तै बैठकले बैंकहरुको हकमा स्वास्थ्यका मापदण्ड पालना गरी चौथाई कर्मचारीको उपस्थितिमा साताको २ दिन मंगलबार र शुक्रबार विहान ९ बजेदेखि दिउसो १ बजेसम्म मात्र सञ्चालन गर्ने निर्णय गरेको छ ।











