काठमाडौं । किरात राई समुदायले मनाउने उभौली पर्व आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइएको छ । नयाँ भेरियन्टसहितको कोरोनाको दोस्रो लहरबाट बच्न जारी निषेधाज्ञाका कारण भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर सीमित व्यक्तिले भूमेस्थानमा पूजा आराधना गरेका छन् ।
बाली लगाउनुअघि गाउँ गाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा किरात समुदायमा रहेको छ । गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर लाग्ने भएकाले पनि यसलाई उभौली भनिएको हो ।
यो सिजनदेखि चराचुरुङ्गी लगायत जङ्गली जनावर पनि उँभो लाग्ने किरात समुदायको विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाई छ । यो पर्व प्रकृतिपूजक भएको यस विषयका अनुसन्धाताको भनाई छ ।
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस आजदेखि उँभो लाग्छन् । उँभोको अर्थ खेती पाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने पनि रहेको किरात समुदायको चाडपर्वका विषयमा अनुसन्धातरत समाजशासत्री कीर्तिकुमार दुमी राईले बताए। यस पर्वका अवसरमा साकेला नाच समेत नाचिन्छ ।
किरात समुदायका पनि विभिन्न सम्प्रदायका बीच साकेला नाच पनि नाचिन्छ । यस वर्ष डेढ महीनादेखि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण निश्चित मानिस मात्र बसेर पूजाको विधिमात्र पूरा गरिएको किरात राई यायोक्खाका अध्यक्ष दिवस राईले जानकारी दिए ।
ललितपुरको सानो हात्तीवनमा रहेको साकेलास्थान जसलाई किरात समुदायले पितृको पूजा स्थलका रुपमा मान्छन् त्यहाँ समेत पूजारीले विधिपूर्वक पूजा आराधना गरिएको छ । विगत वर्षमा हजारौँ मानिस हात्तीवनमा जम्मा भई चण्डी र साकेला नाचका साथमा प्रकृति र पितृको पूजा आराधना गरिन्थ्यो । विगत वर्ष र यस वर्ष पनि कोरोना महामारीका कारण त्यसो गर्न नसके पनि पूजा विधि भने पूरा भएको अध्यक्ष राईले बताए ।
तस्वीर : किरात राई यायोक्खाका अध्यक्ष दिवस राईकाे फेसबुकबाट














