Logo
Logo

मागअनुसार अण्डा पुर्‍याउन मुस्किल


दृष्टि संवाददाता


चितवन । कोरोना सङ्क्रमणका कारण देशभर निषेधाज्ञा भइरहँदा अण्डाको माग धान्न मुस्किल पर्न थालेको छ । निषेधाज्ञामा घरमा बसेकाले उपयोग बढाएपछि उत्पादनले धान्न कठिन हुँदै गएको अनुमान गरिएको छ ।

आफ्नै उत्पादन र सङ्कलन गरेर देशैभर अण्डा बिक्री गर्दै आएको दाउन्ने ग्रुप अफ पोल्ट्रीका कार्यकारी निर्देशक विनोद पोख्रेल मागअनुसार अण्डा पुर्‍याउन कठिन भएको बताए।

दैनिक एक लाख ३८ हजार गोटा आफ्नै उत्पादन र त्यति नै सङ्ख्यामा कृषकको अण्डा सङ्कलन गरेर दाउन्नेले देशभर बिक्री गर्दै आएको छ । देशकै सबैभन्दा ठूलो सञ्जालसहितको सप्लायर्स दाउन्ने भएको जानकारी दिँदै उनले आफूले पालो मिलाएर मात्र अण्डा दिन सकेको बताए ।

उनले भने, ‘बिक्रेताले मागेकै दिनमा अण्डा दिन सक्ने अवस्था छैन ।’ माग बढेकै कारण उत्पादनले पु¥याउन कठिन भएको व्यवसायी बताउँछन् । निषेधाज्ञामा घरमा रहेकाहरुले अण्डाको उपयोग बढाएको पाइएको छ ।

पहिलेको तुलनामा उत्पादन घटेको र माग बढेको छ । बीचका केही महिना उत्पादन निकै घटेको भए पनि अहिले बढ्दो क्रममा रहेको छ । यद्यपि पहिलेको तुलनामा पुग्न सकेको छैन ।

अण्डा उत्पादक कृषक मदन पोख्रेल कोरोनाको सङ्क्रमणका बेला रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागिसमेत सहयोगी हुने भएकाले उपभोग बढेको बताए । उनले भने, ‘किराना पसल खुल्दा सबैको हातहातमा अण्डाको क्रेट देख्न सकीन्छ ।’

आफूलाई विभिन्न जिल्लाबाट अण्डाको माग हुने गरेको उनको भनाइ छ । अण्डाको मूल्य पहिलेको तुलनामा बढेको भए पनि दानाको कच्चापदार्थमा भारी वृद्धिका कारण कृषक लाभान्वित हुन नसकेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्