Logo
Logo

सर्जियो अगुएरो बार्सिलोनामा अनुबन्धित


दृष्टि संवाददाता


एजेन्सी । अर्जेन्टिना तथा इंग्लिस क्लब म्यानचेस्टर सिटीका पूर्व फरवार्ड सर्जियो अगुएरो क्याटलान क्लब बार्सिलोनामा अनुबन्धित भएका छन् ।बार्सिलोनाले फ्रि ट्रान्सफरमा ३२ वर्षीय अगुएरोलाई २ वर्षका लागि अनुबन्ध गरेको हो ।

सिटीका सर्वाधिक गोलकर्ता रहेका अगुएरोले गत मार्चमा नै इतिहाद स्टेडियम छाड्ने घोषणा गरेको थिए । बार्सिलोनाले उनको रिलिज क्लज १ सय मिलियन युरो तोकेको छ ।

अगुएरोले सिटीमा पाउँदै गरेको पारिश्रमिक घटाएर बार्सिलोनासँग सम्झौता गरेका हुन् । अगुएरोले सिटीमा वार्षिक १२ मिलियन पाउन्ड पारिश्रमिक लिंदै आएपनि बार्सिलोनामा भएको नयाँ सम्झौता अनुसार उनले वार्षिक ५ मिलियन पाउन्ड पाउने आँकलन गरिएको छ ।

ला लिगामा अगुएरोको यो दोस्रो यात्रा हुनेछ । यसअघि अगुइरो २०११ मा एट्लेटिको म्याड्रिड छाडेर सिटी पुगेका थिए । अगुएरोले सन २००६–०७ को सिजनमा अर्जेन्टिनी क्लब एट्लेटिको इन्डिपेन्डेन्टीबाट एट्लेटिको म्याड्रिड पुगेका थिए । एट्लेटिकोमा पाँच सिजन बिताएका अगुएरोले २३४ खेलमा १०२ गोल गरेका थिए ।

त्यसपछि अगुएरोले सिटीको जर्सीमा खेल्दै ५ पटक प्रिमियर लिग उपाधि जिते । सन् २०११/१२ सिजनको अन्तिम खेलको अन्तिम मिनेटमा गोल गर्दै अगुएरोले इतिहासमा आफ्नो नाम लेखाएका थिए । उनले क्विन्स पार्क रेन्जर्सविरुद्ध उक्त गोल गर्दै सिटीलाई पहिलो प्रिमियर लिग उपाधि दिलाएका थिए । उक्त गोलका कारण नै म्यानचेस्टर युनाइटेड उपाधिबाट विमुख भएको थियो ।

अगुएरोको आगमनसँगै बार्सिलोनाले आफ्नो टोलीका कप्तान मेस्सीले पनि बार्सिलोनामा सम्झौता नविकरण गर्ने आशा राखेका छन् । मेस्सीको सम्झौता यो सिजनको अन्त्यसँगै सकिदैछ । तर क्लबले भने मेस्सीसँग सम्झौता बढाउन छलफल भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्