Logo
Logo

चौधरी ग्रुपको उद्योगमा लागेको आगो पाँच घण्टापछि निभ्यो


दृष्टि संवाददाता


नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकास्थित चौधरी उद्योग परिसरमा लागेका आगो निभेको छ ।
आज बिहान उद्योग परिसरभित्रको सिजी ब्रुअरीमा लागेको आगो करीब पाँच घण्टामा पूर्णरुपमा निभाइएको हो ।

नवलपरासी पूर्व, नवलपरासी पश्चिम र चितवनका सात दमकल, नेपाली सेना, सशस्त्र, नेपाल प्रहरीसहितको प्रयासमा आगो निभाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए ।

सिजी ब्रुरअरीको गोदाम घरमा लागेको आगो निभाउनको लागि गोदाम घरका भित्तासमेत भत्काइएको थियो । आगो कम्पनीको प्लान्ट भएको क्षेत्रमा नपुगोस् भनेर गोदाम घरको भित्तासमेत भत्काएर आगो निभाइएको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए ।

आगलागीबाट तयारी अवस्थामा रहेको बियर, अन्य पेयपदार्थ, उत्पादनका लागि राखिएका कच्चापदार्थलगायत सामग्रीमा क्षति पुगेको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । आगलागीबाट के कति क्षति भयो भन्ने यकिन विवरण भने अझै नआएको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

प्रतिक्रिया दिनुहोस्