Logo
Logo

निषेधाज्ञामा काठ तस्करी बढ्याे


दृष्टि संवाददाता


कैलाली । कैलालीका सामुदायिक वनमा काठ चोरीका घटना बढेका छन् । यहाँ निषेधाज्ञा भएको ३७ दिन पुगेका छ । निषेधाज्ञाको समयमा सबै मानिस घरभित्रै बस्ने भएकाले तस्कर तथा चोरीमा संलग्नहरु वन ताक्न थालेको गुनासो वनकर्मी नै गर्न थालेका छन् ।

यतिबेला सामुदायिक वनमा वन हेरालुले गस्ती गर्न नसकेका कारण काठ चोरीका घटना बढेका छन् । कोरोना सङ्क्रमणका कारण सामुदायिक वन संरक्षणसँगै अन्य गतिविधि गर्न नसकेको सामुदायिक वनका पदाधिकारी बताउँछन् ।

वन हेरालु दिउँसोका समयमा गस्ती गर्ने भएकाले दिउँसोभन्दा रातिको समयमा सामुदायिक वनमा काठ चोरी भइरहेको उनीहरुको गुनासो छ ।

काठ चोरी गर्नेहरु योजना बनाएर रातिको समयमा आउने भएकाले नियन्त्रणमा समस्या भएको शिवशक्ति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष प्रेम विश्वकर्माले बताए । ‘रातिको समयमा वनमा काठ चोरीका घटना बढेका छन्, रातिको समयमा गस्ती गर्न समस्या भएको छ’, अध्यक्ष विश्वकर्मा भन्छन्, ‘विपत्ति तथा महामारीको समयमा तस्कर सल्बलाएका छन् ।’

कैलालीको जगतपुर सामुदायिक वनमा केही दिनअघि सयौँ क्युफिट काठ चोरी भयो । तस्करको समूहले सयौँ क्युफिट काठ काटेको सूचना स्थानीयवासीले दिएपछि तस्करले काटेको काठ वन समितिले नियन्त्रणमा लिएर घाटगद्दी गरेको छ ।

‘काठ चोरीबारे अनुसन्धान भइरहेको छ, लकडाउनको मौकामा चोरीका घटना बढेका छन्, सामान्य चोरीका घटना अन्य बेला पनि भइरहन्छन्’, जगतपुर सामुदायिक वनका अध्यक्ष रेशमलाल चौधरीले भने, ‘संरक्षण समिति र वन हेरालुले नियमित गस्ती गरेका छन्, अब उपभोक्ताको सहयोग लिएर गस्ती थप बढाउने योजनामा छौँ ।’

नियमित सचेतना र नियमित हेरालुको गस्ती गरिरहेको चेतना सामुदायिक वनमा भने अहिले चोरीका घटना नभएका अध्यक्ष बलबहादुर रावलले बताए । ‘हाम्रो वनमा बर्सातको समयमा नदीमा काठ बगाएर चोरी गर्ने सक्रिय हुन्छन्, बर्सातमा वनमा काठ चोरीका घटना बढ्छन्’, अध्यक्ष रावलले भने, ‘‘नदीमा पानीमा काठ बगाएर चोरी गर्नेलाई नियन्त्रण गर्न चुनौती छ, यसबारेमा समेत वन समितिमा छलफल गर्ने भएका छौँ, कोरोना सङ्क्रमण फैलिएपछि सामुदायिक वनका अन्य गतिविधि सञ्चालनमा समेत समस्या भएको छ ।’

प्रतिक्रिया दिनुहोस्