Logo
Logo
निषेधाज्ञाको मोडालिटी

अब सार्वजनिक सवारीलाई पनि जोरबिजोर


दृष्टि संवाददाता

2.1k
Shares


काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप खुकुलो बनाउने तयारी भएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीबीच भएको छलफलका क्रममा निषेधाज्ञाको मोडालिटीलाई थप खुकुलो बनाउनेबारे छलफल भएको हो । जारी निषेधाज्ञालाई थप खुकुलो परिमार्जन गर्ने विषयमा आज निर्णय हुने भएको छ ।

सार्वजनिक यातायातलाई पनि जोरबिजोरमा सञ्चालन गर्ने कि केही दिन पर्खने भन्नेमा छलफल भएको तर टुंगो भने नलागेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । ‘निषेधाज्ञाको मोडालिटीलाई परिमार्जन गर्ने भन्ने विषयमा छलफल भयो, सार्वजनिक सवारीलाई पनि जोरबिजोरमा सञ्चालन गर्ने भन्ने विषय पनि उठेका छन्, तर टुंगो लागेको छैन,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले भने ।

‘यो साता खुकुलो भएको निषेधाज्ञाले संक्रमणदरमा पारेको प्रभाव अर्को साताबाट मात्र थाहा हुन्छ । एकैपटक ह्वात्तै यातायात खुलाउने भन्दा पनि जोरबिजोरबाट लैजान सकिन्छ । सुझाव पनि यसरी नै आएका छन् ।’, सीडीओ पराजुलीले भने । निषेधाज्ञाको मोडालिटीलाई अब कसरी अघि बढाउने भन्ने विषय थप छलफलपछि सोमबार बस्ने बैठकले टुंगो लगाउने उनले जानकारी दिए ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले सार्वजनिक सवारी साधनलाई सीमा तोकेर सञ्चालन गर्न दिने विषयमा छलफल भएको बताए । यसरी सीमा तोक्दा साना सवारी साधनभन्दा ठूला र दूरी कायम हुन सक्ने सवारी साधन सञ्चालन हुन सक्नेछन् । तर, सो विषय छलफल पछि मात्रै टुंगो लाग्ने उनले बताए ।

यसैगरी, पसल तथा व्यवसाय सञ्चालनका लागि पनि बारअनुसार भन्दा समय निर्धारण गरेर सञ्चालन गर्न दिने विषयमा छलफल भइरहेको छ । यसरी समय निर्धारण गर्दा कुन र कस्ता पसल कुन समयमा खोल्न पाइने भन्ने तोकिनेछ । राजनीतिक कार्यक्रम, सभा सम्मेलन, विवाह, व्रतबन्ध, सभा तथा जुलुसजस्ता कार्यक्रम भने अझै केही समय सञ्चालनमा रोक लगाइने तयारी भइरहेको छ ।

उपत्यकामा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै गत १६ वैशाखबाट निषेधाज्ञा कायम रहँदै आइरहेको छ । यसअघि भने उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले ८ असारबाट निषेधाज्ञाको मोडालिटीलाई थप खुकुलो बनाउँदै निजी यातायातमा जोरबिजोर प्रणाली लागू गरेको थियो ।

सोही निर्णयका आधारमा उपत्यकाका तीनवटै जिल्लामा बारका आधारमा पसल व्यवसाय सञ्चालन हुँदै आइरहेको छ । यसरी सञ्चालन गरिने पसल व्यवसायका लागि प्रशासनले समयसमेत निर्धारण गरिदिएको छ ।

तीनजनै सीडीओबाट जिल्लाको अवस्था रिपोर्टिङ भएपछि भोलिको बैठकबाट मंगलबारदेखिको निषेधाज्ञाको मोडालिटी निर्णय हुने बताइएको छ । त्यसका लागि केहीबेरमा सीडीओहरूको छलफल तय गरिएको हो । निजी सवारीसाधन र व्यापाररव्यवसाय सञ्चालनमा केही खुकुलो गर्दै पछिल्लो समय थपिएको निषेधाज्ञा आजसम्म लागू हुनेछ । निषेधाज्ञाको मोडालिटीबारे अन्तिम टुङ्गो लगाउन अहिले बिहान १० बजे तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्