Logo
Logo

भारत फर्कनेको ताँतीः युवा देशको नेटो काट्दै


दृष्टि संवाददाता


तस्विर: कान्तिपुरबाट

दार्चुला । प्रायः सबैले पिठ्युँमा झोला भिरेका छन् । निधारमा छ साइतको टीका । नाका काटेर पारिको बस छोप्ने हतारो सबलाई छ । सलह आउँदा आकाश ढाकेजस्तो, उनीहरू जाँदा नेपालको सीमावर्ती जमिन छपक्कै ढाकिन्छ । यस्तै हूलमूलमा शनिबार बिहान गड्डाचौकी नाकामा कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भासीका युवा देशको नेटो काट्दै थिए  ।

भारतमा कोरोना संक्रमणले रोजगारी बन्द भएपछि उनीहरू घर आएका थिए । पछिल्लो समय कोरोना संक्रमण रोकथाम हुँदै गएपछि उनीहरू पुनः उतै काममा फर्किन लागेका हुन् ।

कैलालीको गौरीफन्टा, दार्चुला खलंगाको पुलघाट नाका र बैतडीको झुलाघाटमा देश छाड्दै गरेका सयौं युवाका मलिन अनुहारको ताँती केही दिनयता नियमित देखिन थालेको छ । उसो त कैलाली र कञ्चनपुरको सीमानाका भएर भारततर्फ कामको खोजीमा नेपालीहरूको आउजाउ भइरहन्थ्यो । पछिल्लो चरणमा कोरोनाका कारण भारत र नेपालमा जारी लामो निषेधाज्ञाले आवागमन बन्दझैं थियो । अचेल फेरि नाकामा पहिलेझैं चहलपहल हुन थालेको छ ।

कोरोना संक्रमण घटेको र लकडाउन पनि खुकुलो हुँदै गएको हुनाले खेतीपातीको काम सकेर युवा काम खोज्दै भारत पस्ने क्रम सुरु भएको हो । कैलाली र कञ्चनपुर मात्रै नभएर एक सातायता दार्चुला र बैतडीका सीमानाका भएर दैनिक ज्यालादारीमा समेत कामदारहरू सीमापारिका सहर पस्न थालेका छन् । ‘स्वदेशमा रोजगारी नै नपाएर यहाँका अधिकांश स्थानीय दैनिक ज्यालादारीमा मजदुरी गर्न भारत गइरहेका छन्,’ दार्चुलाको दुहु गाउँपालिका–५ का सन्तोष बडाल भन्छन्, ‘एक सातादेखि खलंगा नाकाबाट भारत जान पाउने भएपछि केटाहरूको ताँती लाग्न थालेको छ ।’

संकटका बेला घरमै बस्दा सुरक्षित हुने भए पनि भोको पेटका कारण बाध्य भएर मुग्लान पस्नुपरेको युवा बताउँछन् । ‘यता गाउँघरमा ज्यालादारीमा समेत काम पाइँदैन,’ दार्चुलाको महाकाली नगरपालिका–६ का धनसिंह बोहराको दुखेसो छ, ‘घरको काम सकियो, खाली बस्नुभन्दा दैनिक ज्यालादारीमै दिन काट्छु भनेर निस्केको हुँ ।’ पिथौरागढ जिल्लाको सेलाग्राम पञ्चायतमा सडकको ट्र्याक खोल्न उनी र अरू थुप्रै युवा यतिखेर सीमापारि पुगिसकेका छन् । सुदूरपश्चिमका पहाडी जिल्लाबाट यतिखेर गाउँ नै रित्तो पारेर भारत पस्नेको धुइरो लागेको छ ।

दार्चुलाबाट पारि पिथौरागढका विभिन्न ठाउँमा रोजगारीका लागि जानेहरू दैनिक ४ सय ५० देखि ८ सय भारतीय रुपैयाँमा मजदुरी गर्छन्  । मिस्त्रीको काम गर्ने मानिसहरूले राम्रै ज्याला पाउँछन् । यो क्षेत्रका स्थानीय नजिक भारतको सीमानाकामा बस्ने भएकाले समय–समयमा दैनिक ज्यालादारी वा ठेक्कामा मजदुरी गर्छन् । ‘धेरै जग्गा थिएन, सानोतिनो रोपाइँको काम पनि सकियो, उतातिर होटलहरू पनि खुल्न थाले,’ ७ वर्षदेखि दिल्लीको होटलमा काम गरिरहेका कञ्चनपुरको भीमदत्त–३ भासीका शिवसिंह साउद भन्छन्, ‘मालिकले पनि फोन गरेर बोलाउन थालेका छन् ।’, यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्