Logo
Logo

राष्ट्रियसभाको प्रमुख प्रतिपक्ष दलमा माओवादीको दावी


दृष्टि संवाददाता


काठमाडौं । राष्ट्रियसभाको अधिवेशन असार १७ गतेबाट सुरु हुँदैछ । अधिवेशनको तयारीका लागि संसद् सचिवालयले गृहकार्य गरिसकेको छ । सर्वोच्च अदालतले नेकपाको एकीकरण रद्द गरेपछि पहिलो पटक बस्न लागेको राष्ट्रियसभा अधिवेशनमा प्रमुख प्रतिपक्षको विषयमा विवाद भएको छ ।

अहिलेसम्म नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्दै आएको थियो । उसले अब पनि आफू नै प्रमुख प्रतिपक्ष हुने बताएको छ । नेकपा रद्द भइसकेको अवस्थामा भने राष्ट्रियसभामा कांग्रेसभन्दा माओवादी केन्द्र ठूलो दल देखिएको छ ।

ठूलो दलको हैसियतले प्रमुख प्रतिपक्ष आफू हुनुपर्ने माओवादीको अडान छ । कांग्रेसले प्रतिनिधिसभाको प्रतिपक्ष दल भएकाले राष्ट्रियसभामा पनि प्रमुख प्रतिपक्ष दलको भूमिका आफूले पाउनुपर्ने अडान लिएको छ ।

दुई दिनअघि कांग्रेसका राधेश्याम अधिकारी, माओवादीतर्फबाट रामनारायण बिडारीलगायतका नेताको बैठक बसेको थियो । प्रमुख प्रतिपक्षी दल के हुने भन्ने विषयमा सहमति नभएपछि छलफल बिनानिष्कर्ष स्थगित भएको थियो ।

१७ गते संसद बैठक बस्नुअघि छलफल गरेर सहमति खोज्न लागिएको राष्ट्रियसभाका सांसद विडारीले जानकारी दिए । उनले भने, ‘यो विवाद भएको हैन, के हो भनेर छलफल गरेको हो ।

यसमा खाली राजनीतिक सहमति गर्ने कुरा हो। हामी १७ गतेको संसद् बैठक बस्नुअघि निष्कर्षमा पुग्नेछौं ।’ प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा कांग्रेस सांसद राधेश्याम अधिकारीले लिएका छन् । विपक्षी दलको भूमिकामा कांग्रेस रहेन भने उनको सुविधा खोसिनेछ ।

राष्ट्रियसभाको नियमावली २०७५ को परिभाषा खण्डको (ण) मा विपक्षी दलको नेता भन्नाले प्रतिनिधिसभाको विपक्षी दलको नेताले राष्ट्रियसभाको विपक्षी दलको नेता भनी मनोनयन गरी सूचना गरेको सदस्य सम्झनुपर्छ भनिएको छ भने सुविधासम्बन्धी ऐन २०७३ मा सांसद संख्यामा फेरबदल भएमा पछिल्लोलाई मान्नुपर्ने उल्लेख छ ।

स्रोतका अनुसार राष्ट्रियसभाको नियमावलीबमोजिम जाने हो भने प्रमुख प्रतिपक्ष दलको भूमिका कांग्रेसले नै पाउँछ ।प्रतिनिधिसभामा पनि कांग्रेस नै प्रमुख प्रतिपक्षी दल हो । तर ऐनबमोजिम जाने हो भने माओवादी केन्द्रले प्रतिपक्षको भूमिका पाउनेछ ।

संसदीय व्यवस्थामा संसद्को बैठकभित्र हुने गतिविधिमा संसद् नियमावली नै आकर्षित हुनेगर्छ । अधिवेशनमा एमाले र माओवादी एकीकरण हुँदाका बखत सांसद भएका १६ जनामध्ये ७ जनाले माओवादी रोजेको संकेत गरेका छन् भने ८ जनाले एमाले रोजेको संकेत गरेका छन् ।

तर एमाले खेमाभित्रका बेदुराम भुसाल भने स्वतन्त्र सिटमा बस्ने भएका छन् । उनले भने– ‘मैले स्वतन्त्र सांसदको हैसियतमा बस्न संसद् सचिवालयमा निवेदन दिएको छु। राष्ट्रियसभा अध्यक्षले सिटको व्यवस्था मिलाउनुहुनेछ।’

राष्ट्रियसभामा एमालेका ३४, माओवादीका १४, कांग्रेसका ७ जसपाका ३ र स्वतन्त्र एक सांसद छन् । अधिवेशनमा बजेटसम्बन्धी अध्यादेशसहित अन्य अध्यादेश पेस हुनेछन् ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्