Logo
Logo

आश्रय पाउन ज्येष्ठ नागरिकले मासिक शुल्क तिर्नुपर्ने बाध्यता


दृष्टि संवाददाता


भक्तपुर । झापाकी लक्ष्मी पोखरेलको १२ वर्षको उमेरमा विवाह भयो तर विवाह भएको एक वर्षमै उहाँको श्रीमान्को मृत्यु भयो । विधुवा महिलाले दोस्रो विवाह गर्न नहुने तत्कालीन समाजको परम्परावादी सोचका कारण लक्ष्मी आमाबुबासँगै माइतीमा बस्दै आउनुभयो ।

उनलाई माइतीमा बस्दा कुनै समस्या भएन । दाजुभाइले राम्रै व्यवहार गर्थे तर अवसरको खोजीमा दाजुभाइ सबै विदेश गए । दिदीबहिनीहरुले पनि विवाह गर्दै आ–आफ्नो घरजम गर्न थाले । बुबाआमा रहुन्जेल लक्ष्मीलाई कुनै समस्या भएन ।

जब आमाबुबा दुवैको मृत्यु भयो, तब लक्ष्मीलाई एक्लो महसुस हुने र बिरामी हुँदा होस् या दैनिक दिनचर्यामा तातोपानी तताएर दिने पनि कोही भएन । लक्ष्मीलाई कहिलेकाहीँ नातेदारतर्फका भाइहरुले गाह्रोसाह्रो पर्दा सहयोग गर्थे । सधैँ उनीहरुको सहयोग लिन पनि व्यावहारिक नभएपछि ७५ वर्षीय लक्ष्मीले रोज्नुभयो वृद्धाश्रम । उनी भक्तपुर आदर्शस्थित सिद्धि शालिग्राम ज्येष्ठ नागरिक वृद्धाआश्रम बस्न थालेको तीन वर्ष भइसकेको छ ।

‘नातेदारका भाइहरुलाई कति दुःख दिउँजस्तो लाग्यो । त्यही भएर मलाई हेर्ने ठाउँमा पुर्याइदिनु भनें’ उनले भने– ‘उनीहरुकै सहयोगमा यो ठाउँमा आइपुगें ।’ वृद्धाश्रममा मासिक रु १८ हजार शुल्क बुझाउनुपरेको उनको गुनासो छ । ‘अहिले मलाई खुट्टा दुख्ने, रक्तचाप र मधुमेहको रोग छ । कसले हेर्छ । कोही छैन मेरो । मेरो सहारा भन्नु नै भगवान् र यही आश्रम हो’ उनी भन्छन् ।

त्यस्तै सोही आश्रममा बस्दै आएकी अर्की आमा हुन् ६४ वर्षीया सपना सिग्देल । काठमाडौँकी सपनाको हेटौँडाका युवकसँग मागी विवाह भएको थियो । वैवाहिक जीवन ठिकठाक चल्दै थियो । विवाहको अर्को वर्ष सपनाले छोरी जन्मायन । भनिन्छ, सन्तानको आगमनले वैवाहिक जीवनलाई थप खुसी र सुखी बनाउँछ तर उनको जीवनमा त्यस्तो हुन सकेन । विवाहको अनुपम उपहारका रूपमा पहिलो सन्तान छोरीको जन्मसँगै श्रीमानले साथ छाडे ।

अग्नि साक्षी राखी जीवनको हरेक पलमा साथ दिने वाचा कसम खाई सातफेरा लगाएका श्रीमान्ले छोरीको जन्मसँगै छाडेपछि सपना माइतीको शरणमा पुग्नु पर्यो । छोरीसहित माइतीमा बस्दै आएकी सपनालाई बुबा छउन्जेल खासै समस्या परेन ।

सपनाका बुबा राष्ट्र बैंकमा जागिरे थिए । बुबाको पेन्सनले सपना र उनकी छोरीलाई आवश्यक पर्ने सम्पूर्ण खर्च सपनाकी आमाले बेहोर्दै आएका थिए । तर, लामो समय माइती बस्न बाध्य सपनालाई दाजुभाइको व्यवहार निको लाग्न छाड्यो । आमालाई पनि घरमा छोराबुहारीको कचकचले दिक्क बनाएपछि उनै आमाले सपनालाई सिद्धि शालिग्राम ज्येष्ठ नागरिक वृद्धाआश्रम पुर्याएका हुन् ।

सपना वृद्धाआश्रममा आइपुगेको चार वर्ष भइसकेको आश्रमका प्रशासन प्रमुख अनिल राजभण्डारी बताउँछन् । वृद्धाआश्रम आए पनि कहीलेकाहीँ फोनमा आमासँग कुरा गरेर मन बहलाउने गरेकी सपना डेढ वर्षअघि आमाको मृत्यु भएपछि एक्लो महसुस गर्छन् ।

बेलबेलामा सपनालाई भेट्न आउने छोरी पनि गतवर्षको लकडाउनदेखी आउन छाडेपछि सपनामा एकान्तमा बरबराउने समस्या देखिएको छ ।

श्रीमानको हेटौँडामा जग्गा जमीन भए पनि कानूनबमोजिम अधिकार नदिएको उनले बताए । सपनाका अनुसार वृद्धाश्रममा राखेर स्याहारसुसार गरेबापत लिने मासिक रु १२ हजार भने श्रीमान्ले पठाउने गरेका छन् ।

त्यस्तै पाटन लुक्सीकी ७८ वर्षीया सुर्जमायाँ श्रेष्ठ पनि तीन वर्षदेखि सोही आश्रममा बस्दै आएका छन् । विवाहपछि एक छोरीलाई जन्म दिएकी श्रेष्ठ अहिले एक्लै छन् । ‘विवाहपछि सन्तानको नाममा एउटी छोरी थिइन्, त्यो पनि सानै उमेरमा भगवान्लाई मन पर्यो,’ उनले पीडा पोखे।

आजभन्दा ४१ वर्ष अगाडि श्रीमान् बितेर एक्ली भएकी श्रेष्ठले आश्रम आउनुभन्दा अघि ३० वर्षसम्म पाटन औद्योगिक क्षेत्रमा काम गरेर जीवन निर्वाह गर्दै आएका थिए । ‘सम्पत्तिका नाममा एउटा सानो घडेरी थियो, त्यो पनि जेठाजुलाई भाग लगाउनुपर्ने,’ उनले भने– ‘जेठाजु भएसम्म घरमै बस्यौँ । पछि उहाँको छोराछोरीले हेरेनन् । वास्ता पनि गरेनन् । रोगी भएका कारण औषधि खर्च चाहिन्थ्यो । त्यो पनि भएन । आफ्नाले त हेरेनन्, अरुको के भर भनी आफु खुशी यहाँ बस्न आएँ ।’

सुर्जमायाँले अहिले आश्रमलाई मासिक रु १७ हजार तिर्नुपर्ने बाध्यता छ । त्यो शुल्क तिर्न सगोलको घर बेचेर आफ्नो भागमा आएको पैसा बैंकमा राखेको उनी सुनाउँछन् । त्यही पैसा अहिले उनको जीवन जिउने आधार बनेको छ ।

सपना, सुर्जमायाँ र लक्ष्मी जस्तै दुर्गा सुवेदीले पनि चार वर्षदेखि आश्रमको सहारामा आफ्नो जीवन व्यतित गर्दै आएका छन् । पन्ध्र वर्षअघि श्रीमान् बितेपछि छोरोको सहारामा बसेकी दुर्गालाई छोरोले पनि छोडेर गए । उनले भने– ‘सन्तानको नाममा भएको एउटा छोरोको पनि चार वर्षअघि सवारी दुर्घटनामा परेर मृत्यु भयो । त्यसपछि घरमा बस्ने वातावरण मिलेन । छोरोको साथीलाई भनेर यहाँ आएकी हूँ ।’

उमेरले ७२ वर्ष कट्नुभएकी दुर्गालाई मुटु र मिर्गौलाको समस्या छ । घरमा बुहारी र नातिनीहरु छन् तर बुहारीको जागिर भएको र नातिनीहरु विदेश गएका कारण आफू आश्रममा बस्न आएको उनको भनाइ छ । ‘बुहारीको जागिर छ । उनले मलाई रेखदेख गर्न भ्याउँदिनन् । नातिनीहरु पढ्न विदेश गए । उनीहरुलाई पनि गाह्रो छ । त्यही भएर म यहाँ आएकी हूँ,’ उनले भने ।

उनले नातिनीहरुसँग फोनमा कुरा भने हुने गरेको बताए । ‘कहिलेकाहीँ फोनमा नातिनीहरुसँग कुरा हुन्छ । घर लिएर जान्छु भन्छन् नानीहरुले, हेरम के हुन्छ,’ उनको मन दोधारमा छ । उनले पनि आश्रमलाई मासिक रु १५ हजार तिर्ने गरेका छन् ।

‘त्यो पैसा आफ्नै कमाइबाट जोगाएको रकमबाट तिर्ने गरेकी छु,’ उनले भने– ‘पहिला त्रिभुवन विश्वविद्यालयको होस्टेलमा काम गर्दाखेरीको पैसा जोगाएर राखेकी छु । त्यही पैसाले आश्रमको शुल्क तिर्छु ।’

आश्रममा आउने अधिकांश ज्येष्ठ नागरिक आफ्नै खुसीले आउने गरेको आश्रमका प्रशासन प्रमुख राजभण्डारी बताउँछन् । ‘आफ्ना छोराछोरी विदेशमा भएका, सन्तान नभएका र घरमा हेरचाह गर्ने कोही नभएका ज्येष्ठ नागरिकहरु स्वइच्छाले यहाँ आउनुहुन्छ’, राजभण्डारीले भने ।

आश्रममा अहिले ३० आमा र आठ बुबा आश्रित छन् । तीमध्ये अशक्त १२ जना छन् । ‘अशक्त १२ आमाबाका लागि दैनिक तीन जना कुरुवा २४ घण्टा खटिरहेका हुन्छन् । अन्य बाआमाको हेरचाहका लागि २४ सै घण्टा ६ जना नर्स र चार जना डाक्टर खटाएका छौँ”, उनले भने– ‘आश्रममा २६ कर्मचारी र स्वास्थ्यकर्मी कार्यरत छन् ।’

आश्रमले आश्रममा बसेका ज्येष्ठ नागरिकहरुलाई दिनको पाँच पटक खाना चिया नास्ता दिने गरेको राजभण्डारीले बताए । उनका अनुसार आश्रमले बिहान कालो चिया र बिस्कुट, आठ बजे दूध चिया, १० बजे खाना, २ बजे खाजा र आवश्यकताअनुसार कसैलाई रोटी त कसैलाई भात खुवाउने गरेको छ ।

आश्रित ज्येष्ठ नागरिकहरुलाई नियमित खानाका साथै आवश्यकताअनुसार पोषण पनि दिने गरेको राजभण्डारीले जानकारी दिएका छन् । ज्येष्ठ नागरिकहरुको स्वास्थ्य बीमा गरिएको र उपचारका क्रममा आवश्यक परेका औषधिहरु विदेशबाट समेत मगाएर दिने गरेको उहाँले बताए ।

आश्रितहरुले शुल्क तिर्ने गरेको बताए पनि राजभण्डारीले भने निःशुल्क रूपमा आमाबुबाहरुलाई राखेको बताए । उनले भने– ‘इच्छाअनुसार दिनेको लिन्छौँ । मासिक यति नै शुल्क भनेर तोकिएको छैन ।’

ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को दफा २० मा नेपाल सरकारले हेरचाह केन्द्र वा दिवा सेवा केन्द्र वा दुवै केन्द्रको स्थापना र सञ्चालन गर्न सक्ने व्यवस्था गरेको छ तर भक्तपुरमा सरकारीस्तरमा कुनै केन्द्रको स्थापना र सञ्चालन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्