Logo
Logo

महानगरको सौन्दर्य चेत


दृष्टि संवाददाता


काठमाडौं । बुधबार मध्यान्ह काठमाडौं महानगरपालिकाले आधा दर्जनभन्दा धेरै कर्मचारी लगाएर रत्नपार्कको आकाशे पुलमा बनाइएको मुरल कला मेटेको खबर सार्वजनिक भयो । कोभिड फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, संचारकर्मी र सरसफाईमा खटिएकाहरुको सम्मानमा बनाइएको मुरल कला मेट्न महानगरपालिकाले देखाएको हतारो कुनै नौलो थिएन ।

गत वर्षको भदौमा कोरोना संक्रमितहरुलाई राख्न महानगरले एउटा गतिलो आइसोलेसन सेन्टर बनाउन नसकिरहेका बेला आफू भने संक्रमित भएपछि सपरिवार सोल्टी होटलको आइसोलेसनमा बस्न रुचाउने कम्युनिष्ट दलका विद्यासुन्दर शाक्य मेयर भएको सहरमा यस्तो हुनु कुनै किञ्चित अनौठो घटना थिएन ।

प्रत्येकजसो बिजुलीका पोलमा गुजुल्टिएका तारहरू, ठाउँ कुठाउँ पैदलयात्री अल्झाउन लत्रिएका तारहरू, केहीबेरको बर्षापछि भलमा परिणत हुने बाटोघाटो, सार्वजनिक भित्तामा बर्षौदेखि नमेटिएका राजनीतिक दलका नाराहरू सबैले महानगरको सौन्दर्य बढाएकै थिए ।

बेलाबखत सहरका चोक कुनामा थुप्रिराख्ने फोहोर, हलक्कै हुर्किएका घासले भरिएका पार्कहरु, सानाठूला खाल्डाको धरापले भरिएको सडक पेटीहरु सबैले सहरको आभा बढाइरहेकै थिए । सहरी सौर्न्दयको यस्तो मानक बनाइरहेको महानगरपालिकाले एउटा मुरल कला मेट्ने हतारो देखाउनु कुनै नयाँ कुरा थिएन ।

सहरको सौर्न्दय जोगाउने नाममा महानगरले यसअघि पनि सडक छेउछाउका गीत गाएर दुई चार पैसा जम्मा पार्ने दृष्टिविहीनहरुलाई पटकपटक खेदेर आफ्नो ‘सक्रियता’ देखाएको थियो । दृष्टिविहीनहरुले कुन दुःखले जोरेको माईक र स्पिकर खोस्दै उनीहरुलाई लेखेटेर आफ्नो बहादुरी देखाएको धेरै महिना बितिसकेको छैन ।

फुटपाथमा दुईचार घोगा मकै बेच्नेहरुलाई खेद्ने तर ठूला होटलले सडकमै पार्किङ बनाएको पटक्कै नदेख्ने महानगरले बुझेको सौर्न्दयको मानक के हो हामीले देखिसकेका छौं । रानीपोखरीमा डोजर चलाउँदा, कमलपोखरीको कंक्रिट थुपार्दा, माइतीघर मण्डलमा झिलिमिली बत्ती हाल्दा र अनि मण्डलको एकछेउमा कलाको हुर्मत काढ्ने शैलीको नेपालको नक्साको फलामे प्रस्तर आकृति ठड्याउँदा हामीले महानगरको सौन्दर्य देखिआएकै हो ।, यो समाचार कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्