Logo
Logo

निर्यात नहुँदा गोदाममै थन्कियो रु ५ अर्बको गलैंचा


दृष्टि संवाददाता

441
Shares


काठमाडौं । निर्यात नभएपछि ५ अर्ब रुपैयाँ बराबरको गलैंचा गोदाममा थन्किन पुगेको छ । नेपालमा पैmलिएको कोरोनाको दोस्रो लहरसँगै निषेधाज्ञा भएपछि गलैंचा निर्यातमा समस्या भएको हो । विदेशी बजारबाट माग बढेको भए पनि त्यहीअनुरूप निर्यात गर्न नसक्दा गलैंचाको मौज्दात बढेको हो ।

महामारीकै कारण गतवर्ष पनि करीब ४ अर्ब रुपैयाँ बरावरको गलैंचा निर्यात हुन सकेको थिएन । यस वर्ष पनि त्यस्तै समस्या आइपरेकाले आफूहरूको व्यवसाय संकटमा परेको गलैंचा उत्पादक व्यवसायीहरूले बताएका छन् । गतवर्ष महामारी कम हुँदै गएपछि विदेशी बजारबाट गलैंचाको माग ह्वात्तै बढेकाले उद्योगीहरूले उत्पादन बढाएका थिए । तर, निर्यात गर्ने समयमा नेपालमा महामारीको असर बढेर निषेधाज्ञा भएपछि उत्पादनजति सबै गोदाममै थन्किन पुगेको नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघका अध्यक्ष रामबहादुर गुरुङले आर्थिक अभियान दैनिकलाई बताए ।

अहिले पनि विदेशी बजारबाट नेपाली गलैंचाको माग भइरहेको भए पनि महामारीको त्रासका कारण यताबाट निर्यात गर्न नसक्दा ५ अर्ब रुपैयाँभन्दा बढी मूल्यको गलैंचा गोदाममै रहेको उनले जानकारी दिए । उत्पादनलाई बजारमा पठाउन नसकेपछि अहिले करीब ३० प्रतिशत मात्र गलैंचा उद्योगहरू सञ्चालनमा रहेको उनले बताए । नेपालमा उत्पादन भएका उनी गलैंचा अमेरिका, चीन, जर्मनी, बेलायत, इटाली, फ्रान्स, क्यानडा, बेल्जियम र अस्ट्रेलियालगायत विश्वका करीब ५० भन्दा बढी मुलुकहरूमा निर्यात हुने गर्छ ।

नेपालमा गलैंचाका ७ सयजति व्यवसायी छन् भने १ सय ५० भन्दा बढी निर्यातकर्ता छन् । हाल गलैंचा उद्योगहरू नै समस्यामा परेका कारण यस उद्योगमा आश्रित करीब साढे ३ लाख कामदारहरूको जीवन प्रभावित हुन पुगेको गलैंचा उद्योग संघले बताएको छ । भन्सार विभागको तथ्यांकअनुसार नेपाली गलैंचा उद्योगहरूले वार्षिक करीब ८ दशमलव ५ अर्बको कारोबार गर्ने गर्छन् ।

गतवर्षको महामारीपश्चात् गलैंचा उत्पादन गर्न प्रयोग हुने कच्चा पदार्थ ऊन र अल्लोको मूल्य बढ्दा तयारी गलैंचाको मूल्य १० प्रतिशतसम्म बढेको गुरुङले बताए । उनका अनुसार यसअघि १ सय ५० डलर पर्ने गलैंचाको मूल्य बढेर यति बेला १ सय ६५ डलर पुगेको छ भने २ सय डलर पर्ने गलैंचाको मूल्य बढेर २ सय २० डलर पुगेको छ ।, यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्