Logo
Logo

अधिकांश ग्रामीण सडक अवरुद्ध


दृष्टि संवाददाता

252
Shares

दमैली । गत मङ्गलबारदेखि परेको वर्षाका कारण तनहुँका अधिकांश स्थानीय तहका ग्रामीण सडक अवरुद्ध भएका छन् । पृथ्वीराजमार्गस्थित मुख्य सडक पुनःसञ्चालन भए पनि ग्रामीण भेगका सडक सञ्चालन हुन सकेका छैनन् ।

सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार पहिराले अवरुद्ध भएका ग्रामीण सडक पुनःसञ्चालन गराउन प्रयास भइरहेको छ । बाढीपहिराले कतिपय ठाउँमा सडक भासिएको छ । त्यस्ता ठाउँमा सडक वारपार गर्न समस्या भएको छ । कतिपय ठाउँमा भने पैदलयात्रीसमेत हिँड्न नमिल्ने गरी पहिरो खसेको छ ।

शुक्लागण्डकी नगरपालिकाले ग्रामीण भेगका अवरुद्ध सडक खुलाउन शुरु गरेको छ । तनहुँ र स्याङ्जा जोड्ने ढोरबाराही मोटरमार्गको पहिरो हटाएर सडक सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिए । ‘
मान्द्रेदेखि छाब्दीखण्डमा पहिराको जोखिम कायमै छ, त्यहाँ सडकको ट्रयाक नै नरहने गरी क्षति पुगेको छ’ उनले भने ।

शुक्लागण्डकीअन्तर्गत दुलेगौँडा–हर्कपुर, लालध्वज, दुलेगौँडा फिरफिरे, ढोरबाराही लगायतका मुख्य मार्गमा पहिराले क्षति पुगेको छ । ग्रामीण भेगका सडक खुलाउन समस्या परेको सुवेदीले बताए ।

घिरिङ गाउँपालिकाका ग्रामीण सडक पनि पहिराले अवरुद्ध छन् । पहिरो हटाएर मुख्य मुख्य सडक सञ्चालन गर्न शुरु गरिएको गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले जानकारी दिए । ‘वर्षा रोकिएको छैन, अहिले हटायो फेरि पहिरो खस्छ’, उनले भने, ‘तत्काल आवश्यक सडकको मात्र पहिरो हटाउन शुरु गरेका छौँ ।’

बन्दीपुर गाउँपालिकाका पनि ग्रामीण सडक अवरुद्ध छन् । मुख्य सडक डुम्रे–बन्दीपुरको आंशिक खण्ड सञ्चालनमा आए पनि ग्रामीण सडक खुलाउन केही समय लाग्ने उपाध्यक्ष करुणा गुरुङले बताए । उनका अनुसार यहाँका मुख्य डुम्रे–बन्दीपुर, बन्दीपुर–ढाँडखोला, बन्दीपुर–धरमपानीलगायतका सडक अवरुद्ध छन् ।

जिल्लाका दश वटै पालिका बाढीपहिरोबाट प्रभावित छन् । सबै पालिकामा ग्रामीण सडक अवरुद्ध हुँदा सर्वसाधरण मारमा परेका छन् । बाढीले व्यास नगरपालिका–१ र १३ जोड्ने छाब्दीखोलास्थित पुल भत्किएपछि दक्षिणी भेगसम्मको पहुँच टुटेको छ ।

बुद्धसिं मार्गअन्तर्गत निर्मित पुल भत्किएपछि किसानले उत्पादन गरेका कृषि उपज दमौली ल्याएर बिक्री गर्न सास्ती भएको छ । ग्रामीण भेगमा दैनिक उपभोग्य वस्तु ढुवानी हुन सकेको छैन ।

यही पुल हुँदै व्यास–१३ को बेलवास, पोखरीभञ्ज्याङ, व्यास–१४ को केशवटार, सुढे, ऋषिङको हुस्लाङ, गुम्लेक, देवघाट, आँबुखैरेनी, बन्दीपुर लगायतका ग्रामीण भेगका बासिन्दा आवतजावत गर्दथे ।

प्रतिक्रिया दिनुहोस्