Logo
Logo
टिप्पणी

एमाले एकता अझै सम्भव छ ?


एमपी सुब्बा



सत्तारुढ दल नेकपा एमाले फुटेको छैन । तर, पार्टीभित्रको वैचारिक द्वन्द्वका कारण स्पष्ट दुई खेमामा विभाजित छ । पार्टी एउटै भइकन पनि एमाले एकताको नाटक मञ्चन भइरहेको छ । यो एकता वैचारिक र सैद्धान्तिक एकताका लागि हो कि ओलीलाई प्रधानमन्त्रीमा टिकाउन मात्र हो भन्ने कुरा केही दिनमा स्पष्ट होला । पार्टीलाई एकढिक्का बनाउने हो भने ओलीले जेठ २ गते टेक्नैपर्छ । तर, अहिलेसम्म ओली जेठ २ मा टेक्न मानिरहेका छैनन् । त्यसैले एमाले विवाद भुसभित्रको भुम्रो बनेको छ ।

के एमाले एकता सम्भव छ ? यो प्रश्न होइन । प्रश्न त यो हो कि, अब एमालेमा वैचारिक र सैद्धान्तिक द्वन्द्वको समाधान होला ? वैचारिक र आन्तरिक मतभेदको लामो शृँखला एमालेमा छ । ‘न फुट्छ, न त जुट्छ’ भनेजस्तै एमालेभित्र जरा गाडेर बसेको आन्तरिक मतभेद समाधान गर्न सकिए पार्टी एक हुन्छ ।

तर, पार्टीका अध्यक्ष केपी शर्मा ओली नै आन्तरिक र सैद्धान्तिक विचारको द्वन्द्वलाई समाधान गर्नुको सट्टा संविधान र लोकतन्त्रमाथि प्रहार गर्ने, पार्टीलाई चोइट्याउने र गुट उपगुटको घर बनाउने प्रवृति केन्द्रीत देखिन्छन् । जसका कारण एमाले विभाजन उन्मुख छ । ओली पतन उन्मुख छन् ।

पार्टी अध्यक्ष ओली प्रवृत्तिबाट असन्तुष्ट नेपाल र झलनाथ खनाल पक्ष एकता नभए नयाँ पार्टी गठन गर्ने अवस्थासम्म पुगेका छन् । यो अवस्थामा अध्यक्ष ओली पार्टी विभाजनलाई रोक्न ‘नाटकीय एकता’को प्रयास गर्दैछन् । तर, ओली प्रवृति नसुध्रिएसम्म पार्टी एकता हुने सम्भावना छैन ।

दुई ठूला कम्युनिष्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्रबीच एकतापछिमात्र होइन, त्यसअघि नै एमालेमा आन्तरिक विवादको घनचक्कर थियो । एमालेमा तीन धार छ । ओली, वरिष्ठ नेता नेपाल र तटस्थमा बस्दै आएका उपाध्यक्ष वामदेव गौतम फरक–फरक धार हुन ।

पार्टीभित्रको त्रिकोणात्मक यी धार एमालेभित्रको समस्याको जड हो । बेलैमा समस्या र विवाद समाधान गर्न नसक्दा अहिले एकताका लागि आह्वान गर्नुपर्ने अवस्था आएको हो । यो कम्युनिष्ट पार्टीका लागिमात्र होइन, आमनेपाली जनताका लागि दुःखको कुरा हो ।

पार्टीभित्रको आन्तरिक समस्याकै कारण सरकारको नेतृत्व गर्दै आएका एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली संकटमा छन् । प्रधानमन्त्री नै संकटमोचनतिर लाग्दा सरकार सञ्चालनमा समेत अवरोध भइरहेको छ । र, जनताले अपेक्षा गरेअनुसार सरकारले काम गर्न सकेको छैन ।

पार्टी अध्यक्ष ओली प्रवृत्तिबाट असन्तुष्ट नेपाल र झलनाथ खनाल पक्ष एकता नभए नयाँ पार्टी गठन गर्ने अवस्थासम्म पुगेका छन् । यो अवस्थामा अध्यक्ष ओली पार्टी विभाजनलाई रोक्न ‘नाटकीय एकता’को प्रयास गर्दैछन् । तर, ओली प्रवृति नसुध्रिएसम्म पार्टी एकता हुने सम्भावना छैन । अझैपनि अध्यक्ष ओली पार्टीभित्रको वैचारिक द्वन्द्वको समाधान होइन, सत्ता टिकाउने रुणनीतिमा केन्द्रित छन् ।

दुई कम्युनिष्ट पार्टीको एकतापछि दुई तिहाइ बहुमतसहित शक्तिशाली नेकपा नेतृत्वमा बनेको सरकार हाँक्ने जिम्मेवारी पाएका प्रधानमन्त्री ओली यतिखेर पार्टीभित्रै अल्पमतमा छन् । अर्कोतिर इतिहासकै शक्तिशाली कम्युनिष्ट नेतृत्वको सरकार ‘जग विनाको घर’जस्तै कमजोर अवस्थामा गुज्रिरहेको छ । ओलीकै कारण कमजोर बनेको सरकार कतिखेर ढल्छ, त्यो उनैलाई थाहा छैन । किनकि ‘जग विनाको घर’ र मत विनाको नेतृत्व उस्तै हो ।

यसैले अध्यक्ष ओलीबाट पछिल्लो पटक सत्ता जोगाउनका लागि भएपनि एकताको नाटक हुँदै आएका छन् । तर, त्यो एकता कस्तो हुनुपर्छ भन्ने स्पष्टता छैन । माधव पक्षकै भनाइ राख्ने हो भने, ‘ओलीलाई प्रधानमन्त्रीमा विराजमान गर्न मात्र एकता हुन्न, पार्टीको हरेक तहमा वैचारिक र सैद्धान्तिक तथा पार्टीको विधान र नीतिअनुरुप एकता हुनुपर्छ ।’ त्यसैले अझैपनि एमाले एकताको सम्भावना जीवित छ ।

तर, ओली पक्ष अर्थात स्वयंम पार्टीका अध्यक्ष ओलीले सार्वजनिक रूपमा दिँदै आएका अभिव्यक्तिहरुले एकताको सम्भावनालाई कमजोर बनाउँदै गएको छ । एकातिर एकताका लागि आह्वान गर्ने र अर्कोतिर छुद्र र उछृंगल ओलीको अभिव्यक्तिले उनी एकताको पक्षमा छैनन् भन्ने स्पष्ट छ ।

अध्यक्ष ओलीले मदन जन्मजयन्तीको अवसरमा दिएको अभिव्यक्ति माधव पक्षलाई सहमतिका ल्याउने होइन, भाँड्ने किसिमको थियो । माधव नेपालप्रति कटाक्ष गर्दै ओलीले भने, ‘केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राख्यो भन्दै हिँडेका छन् । मलाई बौलाहा कुकुरले टोक्या छ र ? कोही नेपालमा नभेटाएर यस्ता मान्छेलाई प्रस्ताव केपी ओलीले राख्ला ?’ अध्यक्ष ओलीको यस्ता किसिमका व्यवहार र छुद्र बोलीले एकता भाँड्ने काम भइरहेको छ ।

ओली एकता चाहँदैनन् भन्ने कुरा नेकपा एकतालाई सर्वोच्चले बदर गरेदेखि नै हो । जब सर्वोच्चले नेकपा एमाले र माओवादी केन्द्रलाई पूर्ववतः अवस्था फर्काइदियो, त्यो बेला नै अध्यक्ष ओलीले माधव पक्षलाई पार्टीमा स्पेश दिएको भए अहिलेको अवस्था पक्कै आउने थिएन । तर, ओलीले माधव पक्षका लागि ढोका बन्द गरेर झ्यालबाट एकता आह्वान गरेका छन् ।

अध्यक्ष ओलीले नै आफू खुसी निर्णयहरु गर्दै गएपछि नेपाल समुहले देशैभर समानान्तर गतिविधि बढायो । अध्यक्ष ओलीद्वारा कारबाहीमा परेका माधवकुमार नेपाल र उनको पक्षले देशव्यापी रूपमा सांगठनिक संरचना तयार गर्यो । कारबाहीको निर्णयसँगै पार्टी एकता धमिलो हुँदै गयो । कतिपयले त्यतिखरै नयाँ दल खोल्ने अभ्यासको रूपमा विश्लेषण गरे । तर, त्यो नेपाल पक्षको ओलीलाई काउन्टर थियो । तर, त्यसरी समानान्तर संगठन स्थापना गर्दै जाँदा पनि नेपाल पक्ष एकताकै पक्षमा बलियो रुपमा प्रस्तुत भइरहेको थियो । अझै एकताकै पक्षमा छन् ।

नेपाल पक्षले माओवादी केन्द्रसँग एकता हुनुअघिको एमालेका सबै पार्टी संरचनालाई यथावत् स्थापित गर्नुपर्ने र त्यसमा गरिएको परिवर्तन फिर्ता लिनुपर्ने माग गर्दै आएका छन् । पार्टीलाई पुरानै संरचनामा फर्काएर अघि बढ्नुपर्नेमा ओलीले त्यसो नगरी एकलौटी ढंगले पुनः अगाडि बढे र बढिहरेका छन् । पार्टीभित्र समेत अध्यक्ष ओली नै एकता चाहँदैनन् भन्ने आशंका गर्न थालिएको छ ।

हुन त नेकपा घोषणाअघिको संरचनामा फर्कन तयार नभएको अवस्थामा पनि सर्वोच्च अदालतले १०औँ महाधिवेशन आयोजक कमिटीलाई नमान्ने बताएपछि ओली केही हद हच्किए । त्यसमा ओली पक्षले बाहिरीरुपमा असन्तुष्टि जनाएपनि भित्रीरुपमा ओलीलाई पुनः जेठ २ कै अवस्थामा फर्कन मार्गप्रशस्त गरिदिएको विश्लेषण गरियो ।

खासगरी, बादल समूहलाई पाखा लगाउन नमिल्ने प्रधानमन्त्री ओलीले अढान लिँदै आएका थिए । अदालतले फैसलापछि महाधिवेशन आयोजक किमिटी भंग गरिएसँगै ओलीले बादल समूहलाई समेटेर स्थायी कमिटी समेत विस्तार गरे । पार्टी एकताको बहस अगाडि बढिरहेकै बेला ओलीको उक्त निर्णयले पुनः एकताको सम्भावनामा हिलो छ्याप्ने काम भएको एक थरीको बुझाइ छ ।

पार्टीका एकताका लागि माधव नेपाल पक्ष पछिल्लो समय निकै लचक भइसकेका थिए । अध्यक्ष ओलीले नमानेपनि सर्वोच्च अदालतले एमालेलाई २०७५ जेठ २ अघिकै अवस्थामा फर्काएपछि कार्यकर्ता तहमा समेत खुसी छाएको थियो । तर, अहिले ओलीबाटै एकता टार्ने खालका अभिव्यक्ति र रणनीतिहरु हुन थालेको छ ।

अध्यक्ष तथा प्रधानमन्त्री ओलीबाट पार्टी भित्रमा मात्र होइन, सरकारको नेतृत्वमा समेत असंवैधानिक र अलोकतान्त्रि कदमहरु चाल्दै आएका छन् । प्रधानप्रतिनिधिसभा विघटनदेखि संवैधानिक आयोगहरु नियुक्ती र विभिन्न निर्णयहरु विवादित छन् ।

ती सबै आफ्ना गल्ती र असंवैधानिक कदमहरु सच्याएर पार्टीलाई २०७५ जेठ २ गतेकै अवस्थामा फर्काउन ओली तयार भए एमाले एक ढिक्का हुनसक्छ । एमाले एक ढिक्का भएर अगाडि बढेमा कम्युनिष्ट नेतृत्वको सरकार बच्न सक्छ र ओलीले नै बाँकी समय सरकारको नेतृत्व गर्न पाउँछन् ।

प्रतिक्रिया दिनुहोस्