Logo
Logo

मेस्सी आधा तलब घटाएर बार्सिलोनामै रहने


दृष्टि संवाददाता


एजेन्सी । अर्जेन्टाईनी फुटबल खेलाडी लियोनल मेस्सी स्पेनिस क्लब बार्सिलोनामै रहने भएका छन् ।

बार्सिलोनासँगको करार अवधि गत जुन ३० तारिखबाट सकिएसँगै विश्व फुटबलका महान खेलाडी मेस्सी कुनै पनि क्लबमा आबद्ध हुन स्वतन्त्र बनेका थिए । तर उनले बार्सिलोनामै थप ५ वर्ष रहने सम्झौतामा सहमति जनाएको बताइएको छ ।

नयाँ सम्झौता अनुसार मेस्सी अब सन् २०२६ सम्म अर्थात ३९ वर्षको उमेरसम्म बार्सामै रहनेछन् । यसका लागि उनले आफ्नो तलबमा आधा कटौती गर्नेछन् ।

हाल वार्षिक १७ करोड अमेरिकी डलर तलब लिइरहेका मेस्सीले अब भने वर्षको ९ करोडको हाराहारीमा पारिश्रमिक बुझ्नेछन् । बार्सिलोनासँगको करार अवधि सकिएपछि मेस्सी नयाँ सम्झौता नगरिकन कोपा अमेरिका खेल्न अर्जेन्टिना गएका थिए ।

उनको कप्तानीमा अर्जेन्टिनाले कोपा अमेरिका जितिसकेका छ । उनी हाल परिवारसँग विदा मनाइरहेका छन् । ६ पटकको बालोन डी’ओर विजेता मेस्सीले बार्सिलोनाबाट सबै उपाधि जितेका छन् ।

सन् २००० देखि बार्सिलोनामा आबद्ध मेसीले गत वर्षको अगस्टमा आफूले बार्सिलोना छाड्न चाहेको भन्दै फ्याक्स पठाएका थिए । तर बार्सिलोनाले ७०० मिलियन युरोको रिलिज क्लज पूरा भए मात्र मेसीले क्लब छाड्न सक्ने बताएको थियो । जसका कारण मेसी अन्य क्लबमा आबद्ध हुने बाटो कठिन बनेको थियो ।

अन्य क्लबमा जाने प्रयासमा बार्सिलोना बाधक बनेपछि मेसीले आफ्नो प्रिय क्लबविरुद्ध कानुनी लडाइँमा नलड्ने भन्दै एक वर्ष बार्सिलोनामै बस्ने बताएका थिए ।

३४ वर्षीय मेस्सीले २००४ मा सिनियर टिममा डेब्यु गरेका थिए । बार्सिलोनाका कीर्तिमानी खेलाडी मेस्सीले ७ सय ९४ खेलमा ६ सय ६८ गोल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्