Logo
Logo

भकुण्डेबेँसीमा ‘तामाङ चलचित्र महोत्सव’


- दृष्टि न्युज/संवाददाता


बनेपा, २९ चैत । तामाङ कलाकार संघको आयोजनामा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–७ भकुण्डेबेँसीमा तीनदिने ‘तामाङ चलचित्र महोत्सव–२०७५’ शुरु भएको छ ।
संघको आयोजनामा नयाँ वर्ष २०७६ वैशाख १ गते गरी तीन दिनसम्म महोत्सव सञ्चालन हुने आयोजकले जनाएको छ । ‘तामाङ भाषामा निर्माण भएको तामाङ चलचित्रको प्रवद्र्धन गर्नुका साथै गुणात्मक चलचित्र निर्माण, चलचित्रकर्मीलाई प्रोत्साहन, बजार व्यवस्थापन र चलचित्रकर्मी कल्याणकोष स्थापना गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्दैछौँ, तामाङ चलचित्र संघका महासचिव जयनकुमार मोक्तानले भने ।
महोत्सवमा तामाङ चलचित्रको वृत्ति विकासबारे विज्ञ तथा दर्शकबीच छलफल अन्तरक्रियासमेत हुने जनाइएको छ । सो क्रममा तामाङको मौलिकता झल्कने खाना, बाजागाजा, गोइलो, बुद्धचित्त माला, सांस्कृतिक झाँकीका साथै आवश्यक संसाधन, विज्ञ र तिनलाई समेट्ने स्टलको समेत व्यवस्था गरिने आयोजकले जनाएको छ ।

महोत्सवमा विसं २०७० देखि यता निर्माण गरिएका चलचित्रमध्येबाट पाँच चलचित्र छनोट गरी प्रदर्शन गरिँदैछ । प्रदर्शन हुने चलचित्रमा ‘सेमरीन मुला माया, आप्लेङला नाम्सा, स्होङ, रुङसी टिला र सेर्कु रहेका छन् । उत्कृष्ट चलचित्रलाई रु ५१ हजार नगद पुरस्कारसहित सम्मान गरिने महासचिव मोक्तानले बताए ।
तामाङ चलचित्रमार्फत भाषा, साहित्य, कला, संस्कार, संस्कृति, धर्म, शिक्षा र मनोरञ्जन प्रदान गर्नुका साथै चेतना प्रदान गर्ने काममा टेवा पु¥याउँदै आइरहेको छ । यसरी गर्न लागिएको महोत्सव तेस्रो पटकको हो । यसअघि संघले पहिलो तामाङ चलचित्र महोत्सवको रुपमा मकवानपुरको हेटौँडामा विसं २०६७ मा र दोस्रोपटक सोही ठाउँमा २०६८ मा सम्पन्न गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्