Logo
Logo

सहजै सत्ता त्याग्नुपर्ने परिस्थितिमा अफगान शासक



काठमाडौं । अफगानिस्तान अहिले आन्तरिक द्वन्द्वमा फसेको छ । आतंकवादी संगठन तालिवानले लगभग अफगानिस्तानको राजधानी काबुलसहित सबै शहर कब्जा गरेको छ । पछिल्लो एक सातामा तालिवानले लगभग देशका प्रमुख शहर सबै कब्जा गरेको छ ।

उनीहरुले राष्ट्रपति अशरफ घानीलाई पद छोड्न दबाब दिइरहेका छन् । थप हिंसात्मक घटना नहोस् भनेर काबुलमा रहेका आफ्ना नागरिकलाई विभिन्न देशले फिर्ता लैजान थालेका छन् । विद्रोहीले देश कब्जा गर्ने परिस्थिति बनेसँगै विश्वको ध्यान तालिएको छ । यहाँको अवस्था छिनछिन्मा बदलिरहेको छ ।

अफगानिस्तानमा आइतबार दिनभर के भयो ?
–कुनै मुठभेडबिना लालबादको पूर्वी शहर कब्जा ।
–तालिवानका लडाकु राजधानी काबुल प्रवेश ।
–अमेरिकाद्धारा आफ्ना दूतावासका कर्मचारीको हेलिकप्टरमार्फत उद्दार ।
–बेलायती दूतावासले महत्वपूर्ण कागजात जलायो ।
–तालिवानको एक पक्ष र राष्ट्रपति अशरफ घानीबीच वार्ता ।

किन कमजोर बन्यो अफगान फौज ?
असरफ घानी नेतृत्वको अफगान सरकार आत्मसमर्पणको अवस्थामा पुग्नै लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । एक अमेरिकी गोप्य प्रतिवेदनमा आगामी एक साताभित्र काबुल तालिवानको नियन्त्रणमा आइसक्ने र ९० दिनभित्र वर्तमान सरकार गिर्ने आकलन गरिएको छ ।

पछिल्लो २० वर्षसम्म अमेरिका र बेलायतजस्ता शक्तिशाली मुलुकका सुरक्षाकर्मीसँग सहकार्य गरिरहेका अफगान सुरक्षाकर्मीको अवस्था यति दयनीय कसरी हुन पुग्यो भनी विश्लेषणसमेत हुन थालेको छ ।

२० वर्षपछि तालिवानको पुर्नउदय
सन् २००१ मा अमेरिकाको ट्वीन टावरमा आक्रमण गर्ने ओसामाबिन लादेनलाई आश्रय दिने अफगानिस्तानको तालिवान सरकारविरूद्ध अमेरिकाले २० वर्षअघि सैन्य कारबाही सुरू गरेको थियो । त्यो कारबाहीबाट तालिवान विस्थापित गरेको थियो । संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा तालिवान समूहलाई हराउन त्यहाँको सरकारी सेनालाई हतियार तथा अन्य बन्दोबस्तका सामान आपूर्ति गर्न अरबौं खर्च गर्यो ।

तर अफगानी सुरक्षा बलको द्रूत पतनले विद्रोहीहरूको हतियार संकलनमा सफलता मिलेपछि उनीहरूलाई थप आक्रामक बन्न सहयोग पुगेको थियो । तालिवानले सार्वजनिक गरेको भिडियोमा देखिएका अधिकांश हतियार अमेरिकाले प्रदान गरेका हुन् । अर्बौ रकम खर्चेर किन्नुपर्ने हतियार सबै पाएपछि तालिवान सरकारभन्दा पनि बलियो बन्यो ।

यो बीचमा अमेरिकी सेना अफगानिस्तानबाट फर्किने भएपछि तालिवानले पुनः आफ्नो प्रभूत्व जमाउन देशका मुख्य शहर हुँदै राजधानी काबुल कब्जा गर्ने तरखरमा पुगेका छन् । अमेरिकाले अगष्ट महिनाको अन्तिम सम्ममा सबै अमेरिकी सेना फर्काउने तालिका बनाएपछि तालिवान पकड बनाउन सफल भयो । अहिले ७५ हजार तालिवानी फौज अफगानिस्तानमा आतंक मच्चाइरहेका छन् ।

के चाहान्छ तालिवान ?
मुस्लिम कट्टरपन्थी तालिवान समूहको विशेषता धर्मलाई केन्द्रमा राख्दै पुरातन सोच र संस्कृतिअनुसार शासन चलाउनु हो । विश्व प्रविधिको युगमा प्रवेश गरिसकेको सन्दर्भमा अफगानिस्तान भने उही पुरानै युगमा फर्किन लागेको भन्दै अफगानी जनता चिन्तित छन् ।

इस्लामिक कानून लागू गर्ने र सत्तामा एकपटक शरिया संस्करण कार्यान्वयनमा ल्याउने योजना तालिवानले बनाएको छ । तालिवानका प्रवक्ता सुहेल शाहीनले गत महिना एसोसिएटेड प्रेसलाई दिएको जानकारी अनुसार उनीहरू राष्ट्रपति अशरफ घानी हटाउन चाहान्छन् ।

अफगानिस्तानमा सत्ताको एकाधिकार नभई आफ्नै कानून बनाउनका लागि सत्तामा पुग्न चाहेको शाहीनको प्रतिक्रिया थियो । द्वन्द्वविज्ञका अनुसार तालिवान सत्तामा पुग्यो भने ९० को दशकमा जसरी दमनकारी र तानाशाही भएको थियो, त्यही दाहोरिनेछ ।

प्रतिक्रिया दिनुहोस्