
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले संसद कमजोर भएको भन्ने टिप्पणीलाई खारेज गर्दै संसदको मर्यादा, काम गर्ने गति र प्रभावकारितामा कुनै कमी नआएको दाबी गरेका छन् । गत वैशाख २८ देखि असोज १६ सम्म सञ्चालन भएको संसदको बर्खे (बजेट) अधिवेशन समापनको सन्दर्भमा सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
विगतमा सांसद र त्योभन्दा अघि सचेत नागरिकका रूपमा संसदलाई नजिकबाट नियालेको अनुभव स्मरण गर्दै उनले अहिले आफूले नेतृत्व गरिरहेको संसद्लाई कमजोर भन्न नमिल्ने प्रस्ट पारे ।
उनले भने, ‘संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन। संसद्को आफ्नै मर्यादा र काम गर्ने गति हुन्छ । हामी करिव तीन करोड नेपालीका लागि काम गर्न खटिएका हौँ । यस्तो जिम्मेवारीमा मेरो व्यक्तिगत थकानको कुनै अर्थ रहँदैन, खटिनु मेरो कर्तव्य (ड्युटी) हो ।’
सदनमा नयाँ अभ्यास र रचनात्मक बहस
सभामुख अर्यालले परम्परागत संसदीय भाष्य चिर्दै यस अधिवेशनमा नयाँ अभ्यासहरूको थालनी गरिएको बताए । विगतमा सत्तापक्षले सभामुखको समर्थन र प्रतिपक्षले अन्धविरोध मात्रै गर्ने परिपाटीलाई बदलेर यसपटक दुवै पक्ष जनजीविकाका महत्त्वपूर्ण मुद्दाहरूमा केन्द्रित भएको उनको दाबी छ ।
वर्तमान प्रतिनिधि सभामा ३७ प्रतिशतभन्दा बढी ४० वर्षमुनिका युवा, लैङ्गिक तथा यौनिक अल्पसंख्यक एवं अग्रज राजनीतिज्ञहरूको सन्तुलित मिश्रण रहेकाले यसले दीर्घकालीन रूपमा सकारात्मक नतिजा दिने विश्वास उनले व्यक्त गरे ।
उनले भने, ‘हामीले दलका शीर्ष नेताहरूलाई रोस्ट्रमबाटै जनताका आवाज उठाउन महिनामा दुई पटक समय उपलब्ध गरायौँ । यसले गर्दा नेताहरूले आफ्ना धारणा निर्धक्क राख्न पाउनुभयो र सदन सांसदहरूले बोल्ने वास्तविक थलोका रूपमा स्थापित भयो ।’
विपद्का कारण रोकियो प्रधानमन्त्रीको सम्बोधन
कार्यपालिकालाई जवाफदेही बनाउनु सांसद, नागरिक र सञ्चारमाध्यम सबैको साझा दायित्व भएको उल्लेख गर्दै सभामुखले संसद्मा उठेका प्रश्नको जवाफ दिन सरकार पछि हट्न नहुने धारणा राखे ।
सांसदहरूले उठाएका समसामयिक प्रश्नहरूको जवाफ दिन सम्माननीय प्रधानमन्त्री भदौ १० गते संसद आउने कार्यसूची रहे पनि अकस्मात् आइपरेको प्राकृतिक विपत्तिका कारण रोकिएको उनले प्रस्ट पारे ।
उनले भने, ‘मुलुकमा बाढी–पहिरोको महाविपत्ति आइलागेपछि राज्यको सम्पूर्ण ध्यान पीडितको घाउमा मलम लगाउनेतर्फ केन्द्रित भयो । त्यस्तो संकटको घडीमा सदनमा जवाफ दिनुभन्दा राहत र उद्धारमा लाग्नु प्राथमिकता बन्यो । आगामी दिनमा सांसदहरूका हरेक प्रश्नको जवाफ सरकारबाट आउनेछ ।’
‘आगामी अधिवेशन नयाँ भवनबाटै चल्छ, ढिलाइ गर्नेलाई जरिवाना होस्’
सिंहदरबारमा निर्माणाधीन नयाँ संसद भवनबारे बोल्दै सभामुख अर्यालले अब बस्ने आगामी अधिवेशन नयाँ भवनबाटै सञ्चालन हुनेमा आफू ढुक्क रहेको बताए । विकास निर्माणका काम तोकिएको समयमै पूरा हुनुपर्नेमा जोड दिँदै उनले ढिलासुस्ती गर्ने निर्माण व्यवसायीमाथि जरिवाना लगाउनुपर्ने बताए ।













