Logo
Logo

मदिरा उद्योगमा नक्कली स्टिकरमा, अझै पत्ता लागेन मालिक


दामोदर खनाल


बुटवल । केही दिनअगाडि सशस्त्र प्रहरीले राजस्व छलिका लागि बनाइएको नक्कली स्टिकरसहित २ जनालाई पक्राउ गरे पनि उक्त स्टिकर कुन मदिरा उद्योगमा प्रयोग गर्न ल्याइएको हो भन्ने कुरा अझै गोप्य राखिएको छ । जबकि उक्त नक्कली स्टिकर गोप्य सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो । मदिरा उद्योगमा प्रयोग हुने स्टिकर राजस्वका कर्मचारीबाहेक अरुको रोहबरमा प्रयोग हँुदैन भनी उद्योगमा सिसीटिभी पनि जडान गरिएको हुन्छ । मदिरा उद्योगमा प्रयोग हुने स्टिकरमा राजस्वका कर्मचारीको मिलेमतोबिना बदमासी हुन नसक्ने उद्योगीको दाबी छ । यद्यपि, रुपन्देहीमा यसअघि पनि मदिरा उद्योगमा प्रयोग हुने स्टिकरमा बदमासी भएको थियो ।

गत भदौ ५ गते आन्तरिक राजस्व कार्यालय लेखिएको २ करोड ३५ लाख ६३ हजार बराबर मूल्यको नक्कली स्टिकरसहित २ जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको थियो । ती स्टिकर अनुसन्धानकै क्रममा रहेकाले कुन मदिरा उद्योगले प्रयोग गर्न ल्याएको हो भन्ने कुरा सार्वजनिक गरिएको छैन ।

सशस्त्र प्रहरी बल डण्डा बोर्डर आउट पोष्टबाट सशस्त्र प्रहरी निरीक्षक कृष्णप्रसाद अर्यालको कमाण्डमा खटिएको टोलीले भैरहवाको दरखसवाबाट ८० रोल नक्कली स्टिकर बरामद गरेको थियो । उनले भने “हामीले नियन्त्रणमा लिएर राजस्व अनुसन्धानमा बुझाएका छौँ, मध्यस्तकर्ता र मुख्य मानिस भने नियन्त्रणमा परेका छैनन् अनुसन्धान भइरहेको होला” ।

रुपन्देहीको सिद्धार्थनगर नगरापलिका–३ दरखसवाको एउटा घरमा लुकाएर राखेको अवस्थामा प्रहरीले खानतलासी गरी स्टिकर बरामद गरेको थियोे । यसमा अन्तशुल्क मात्र नभएर आयकरसमेत छलेको हुने हुँदा करिब ५ करोडको राजस्व छलि भएको अनुमान गर्न सकिन्छ । ५० युपी १८० मिलीलिटरको २ लाख ४० हजार थान स्टिकरमध्ये आयकरको १० लाख बराबर, मूल्यअभिवृद्धि करको ३१ लाख ६३ हजार र सबैभन्दा बढी अन्तशुल्कको १ करोड ९४ लाखको स्टिकर बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएका स्टिकरका बारेमा थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवलमा ल्याइएको छ ।

उता, राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख राजन बिसी यसबारे अनुसन्धान भइरहेको जानकारी दिँदै करिब ५ करोड राजस्व चुहावट भएको बताउँछन् । उनी भन्छन यसमा तीनवटै निकायको संलग्नता हुनसक्छ । यो नीतिगत समस्या पनि भएको बताउँदै उनले राजस्वको केन्द्रीय निकाय भन्सार र अर्थमन्त्रालयले ध्यान दिन आवश्यक छ ।

पछिल्लो समय रुपन्देहीको बेलहिया सुनौली भन्सार नवलपरासीको महेशपुर र कपिलबस्तुको कृष्णनगर भन्सार तस्करका लागि स्वर्ग नै बनेको स्रोतको दावी छ । स्रोत भन्छ, ‘यहाँबाट लिच्ची कोड भाषाका नाममा स्टिकरमात्र होइन, मोटर पार्टससमेत प्रहरी र भन्सारका कर्मचारीको सँगको मिलेमतोमा भैरहवा, बुटवलदेखि नारायणगढ, काठमाडौं, पोखरादेखि दाङसम्म पुग्ने गरेको छ ।

तर, राजस्व अनुसन्धान कार्यालयलाई दैनिकजसो दर्जनौँ व्यक्तिले मोटर पार्टसको कारोबार भएको पटकपटक जानकारी गराउँदासमेत ध्यान नदिएकाले ठूलो मात्रामा राजस्व गुमिरहेको र आफ्नो ब्यवसाय धरासायी भएको एक व्यवसायीले दृष्टिसँग बताए । उता राजस्व अनुसान्धान कार्यालयको स्रोत भन्छ– बेलहिया भन्सारमा माल आयात निर्यात तरीकामा बेथिती छ भन्सारका कर्मचारी भन्दा अरुको दबदबा बढी छ ।

अनुसन्धानमा संलग्न एक कर्मचारीका अनुसार यो स्टिकर कुन उद्योगले प्रयोग ग¥यो भन्ने सम्बन्धमा गहिरो अनुसन्धान भइरहेको र सिसीटिभी, सेन्सर सबै प्रयोग हुने जानकारी दिँदै भने– अनुसन्धानले लोकेसन भैरहवा क्षेत्रतिर देखिएको छ । स्रोतका अनुसार अनुसनधानको समय ९० दिन हुन्छ धरौटी राखे ९ महिना हुन्छ तर पनि यो मुद्दा जटिल प्रकृतिको भएकाले मदिरा उद्योगहरु अनुसन्धानकै क्रममा छन्, चाँडै टंग्याउने गरी काम भएको छ ।

पहिला बुटबलको यातायात कार्यालयमा बसेका राजस्व अनुसन्धानका प्रमुख पुनः बुटवल उपमहानगरपालिकामा प्रमुख भएर आए पनि बिष्णु पौडेल अर्थमन्त्री भएपछि उनकै जोडबलमा आन्तरिक राजस्व कार्यालय बुटवलमा प्रमुख बनेर आएका राजन बिसी सानातिना ब्यापारी फलफूल, किराना, कपडा, चाउचाउ बिस्कुटवाला रिटेलरलाई समातेर धेरै थोरै जरिवाना गराएर कारबाही गर्ने गरे पनि ठूलो राजस्व चुहावट गर्नेतिर ध्यान दिन नसकेको ब्यापारीहरुको आरोप छ । यस क्षेत्रकामा लामो समय बिताएका बिसी प्रायः सानातिना ब्यापारीलाई हप्काइदप्काइ गर्ने गरे पनि ठूला माछासँग साँठगाँठ गर्ने गरेका कारण राजस्व गुमिरहेको पीडित व्यवसायीको गुनासो छ ।

नक्कली स्टिकरसँगै सिद्धार्थनगर नगरपालिका ३ दरखसवाका २३ वर्षीय साहिद अन्सारी र सोही ठाउँका २४ वर्षीय अमानत अलि पक्राउ परेका छन् । पक्राउ परेका ब्यक्तिहरुको बयानकै आधारमा उक्त सामान ढुवानी गर्न प्रयोग गरिएको लुु२च २५० नम्बरको गाडी नियन्त्रणमा लिएको छ । यतिका दिन हुँदा पनि वास्तविक आशंकित उद्योगका व्यक्ति अनुसन्धानका लागि नियन्त्रणमा नआउनु र उद्योगमा छापा नमारिनुले गलत कामको ढाकछोप भएको र यस अघि पनि यस्तो काम नभएका होलान् भन्न सकिँदैन ।

हाल यस क्षेत्रमा रहेका धेरै मदिरा उद्योग बन्द छन् । रुपन्देही मदिरा उद्योग संघका अध्यक्ष शम्भु भट्टराईका अनुसार ‘चालु रहेको मदिरा उद्योगमा किशान डिस्टिलरी, माउण्ट एभरेष्ट डिस्टिलरी, क्रिस्टल बोटलर्स, शशि डिस्टिलरी, रेम्बो डिस्टलरी, माउण्ट लिकर्स र इभरग्रिन डिस्टलरी, रहेका छन् ।’ उनी भन्छन्– उद्योगको मदिरामा स्टिकर अगाउने काम राजस्वका कर्मचारी विना सम्भव छैन । उद्योगमा सिसीटिभी पनि राजस्वको नियन्त्रणमा हुन्छ । सरकारले छापेर पठाउने स्टिकर कर कार्यालयको रोहवरमा उद्योगलाई उपलब्ध हुन्छ, उद्योगमा हुने गलत काम राजस्वका कर्मचारीको मिलोमतो बिना सम्भव छैन्” उनको दाबी छ । कर्मचारीहरुले मदिरा उद्योगका लागि बनाएको नियम पनि कर्मचारीमैत्री छ, उद्योगी वा कारोवारी मात्र फस्ने किसिमको रहेको उन्को आरोप छ ।

केही हप्ताअघि बाँकेको रुपैडिया क्षेत्रमा समातिएका स्टिकर पनि गुपचुप पारिएको श्रोतको दाबी छ । आन्तरिक राजस्व कार्यालय बुटवलका प्रमुख ध्रुव प्रसाद पाण्डेले बुटवल कार्यालय अन्तरगत इभरग्रिन डिस्टिलरी, मोहनी हाईजि र टाईगर ब्रअरी तीन उद्योग रहेको वताउदै उद्योगमा स्टिकर प्रयोग कार्यका लागि राजस्व कार्यालयबाट नासु स्तरको कर्मचारी खटिने जानकारी दिए । प्रमुख पाण्डेका अनुसार कर्मचारी दरबन्दी अनुसार नहुदा कार्याल र मदिरा उद्योगमा काम गर्नु परेको छ उद्योगमा निरन्तर बस्न नपाउदा केही कमजोरी त हुन सक्छ । बुटवल कार्यालयमा १२ जना नासुको दरबन्दी भएपनि ६ जना कार्यरत रहेकोले यस क्षेत्रको अन्य ब्यापार ब्यवसाय पनि निरन्तर अनुगमन थर्न नसकेको उनले गुनासो पोखे ।

हाल वीचको नम्बरबाट बरामद भएको स्टिकर कुन उद्योगले प्रयोग गरेको त्यो अनुसन्धानपछि पत्ता लाग्ला । तर, यी स्टिकर भनेको नगद रुपैयाँ सरह नै हो । तसर्थ, यो स्टिकर प्रकरणप्रति राजस्व अनुसन्धान विभाग, भन्सार बिभाग, अर्थमन्त्रालय र संघीय सरकारको तत्काल ध्यान जान जरुरी छ । राजस्व चुहावट नियन्त्रण गर्न काम गर्ने दृढ इच्छाशक्ति हुने हो भने भन्सार र राजस्वका कर्मचारी र सिसीटिभी क्यामेराको फोटोबाट पनि धेरै गलत काम पत्ता लाग्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्