Logo
Logo

इलाम-२ को नतिजाले दिने राजनीतिक सन्देश



काठमाडौं । यतिबेला इलाम–२ को उपनिर्वाचनले राष्ट्रिय राजनीतिको ध्यान आकर्षित गरेको छ । प्रतिनिधिसभातर्फ एक मात्र क्षेत्रमा उपनिर्वाचन भएपनि दलहरुले यसलाई प्रतिष्ठाको लडाइँ बनाएका छन् ।

यो उपनिर्वाचन पुराना र नयाँ दलहरूको शक्ति परीक्षणको प्रयोगशाला समेत भएको छ । यसमा कोशी प्रदेशको नामकरणपछि उदाएको पहिचानको राजनीतिले पनि उपनिर्वाचन अझ रोचक बनेको छ ।

उम्मेदवारहरूमध्ये नेकपा एमालेका सुहाङ नेम्वाङ, नेपाली कांग्रेसका डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बू र स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमको चर्चा बढी छ । यी चार उम्मेदवारमध्ये कसले जित्लान् भनेर सबै चुनावी नतिजाको पर्खाइमा छन् ।

उपनिर्वाचन सुहाङका लागिभन्दा एमाले, डम्बरका लागिभन्दा कांग्रेस र मिलन लिम्बूका लागिभन्दा रास्वपाको लागि महत्त्वपूर्ण बनेको छ । त्यस्तै यो उपनिर्वाचन स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमभन्दा पहिचानवादीको लागि महत्त्वपूर्ण छ । 

अहिले इलाम–२ को मतगणना जारी छ । शनिबार सम्पन्न निर्वाचनमा जम्मा ६९ हजार २ ८७ मत खसेको थियो ।  मुख्य निर्वाचन अधिकृत केवशप्रसाद घिमिरेका अनुसार, मतगणनाको नतिजा आउन केही दिन लाग्न सक्छ ।

अन्तिम नतिजा आएसँगै दलहरूको मूल्याङ्कन र भावी राजनीति दिशा समेत कोरिने देखिन्छ । यो उपनिर्वाचन सत्ता उलटफेर र सत्तासँग जोडिएको नभएपनि दलहरूका मान्यता परीक्षण हुनेछ ।

उपचुनावको नतिजाले पुराना दलहरू एमाले र काँग्रेसको सान्दर्भिकता पनि  प्रमाणित गर्नेछ । यस निर्वाचन क्षेत्रमा २०५६ सालदेखि एमालेका नेता सुवाचन्द्र नेम्वाङले निरन्तर चुनाव जित्दै आएका थिए । सुवासको निधनपछि एमालेले उनकै कान्छा छोरा सुहाङलाई उम्मेदवार बनाएको छ ।

यो, उपनिर्वाचनमा सुहाङ विजयी भए सुवासले तीन दशकदेखिको धानेको एमालेको विरासत जोगिने छ । तर, सुहाङप्रति सकारात्मक तथा नकारात्मक दुवै पक्ष छन् । सकारात्मक पक्ष सुवासको विरासत र सहानुभूतिको भोट हो । नकारात्मक पक्ष वंशवाद र परिवारवाद हो ।

त्यस्तै एमालेलाई पहिचानविरोधिको ट्याग समेत लागेको छ । उपचुनावमा सुहाङ विजयी भएमा एमालेको वंश परम्परागत पनि शैली अनुमोदित हुनेछ । पहिचान पक्षधरलाई पराजित गर्दै एमालेले जित्नु भनेको पहिचान पक्षको राजनीति गर्नेहरूलाई सबभन्दा ठूलो अनुदारवादी झट्का हुनेछ । तर, सुहाङ पराजित भएमा एमालेलाई ठूलो धक्का लाग्ने देखिन्छ । त्यस्तै वंश परम्परा र पहिचानविरोधि पार्टी अस्वीकृत हुनेछ । 

२०७९ को निर्वाचनमा सुवाससँग ११४ मतले मात्र पराजित भएका कांग्रेसका डम्बर  खड्काले जिते अघिल्लो हारको बदला लिनेछन् । पार्टीभित्रको सम्पूर्ण एकतासहित निर्वाचनमा होमिँदा एक्लै पनि परिणाम आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने कांग्रेसमा आत्मविश्वास बढ्ने देखिन्छ ।

कांग्रेसको आन्तरिक राजनीतिमा देखिएको नयाँ नीतिको अनुमोदन मात्र हुनेछैन, त्यसलाई राष्ट्रिय राजनीतिमा कांग्रेसको आत्मविश्वासलाई उँचो बनाउनेछ । यदि, इलामको परिणाम एमाले र कांग्रेस दुवै पक्षमा नआएर पुराना दलहरूको औचित्य सकिँदै गएको पुष्टि हुनेछ ।

इलाम–२ मा मिलन लिम्बू विजयी भए पूर्वमा पनि रास्वपाको उदय हुनेछ । त्यस्तै रास्वपाको मिसन–२०८४ को यात्रा पनि बलियो हुनेछ । प्रचारकै क्रममा रास्वपाका नेताहरूले २० बाट २१, २१ बाट २२ हुँदै आगामी चुनावमा बहुमतको सरकार भनेका छन् ।

त्यसैले यो उपचुनाव रास्वपाको लागि पूर्वी नेपाल प्रवेश गर्ने खुड्किलो बन्न सक्छ । इलाममा रास्वपा विजयी हुने भनेको पहिचान पक्षधरका लागि पनि अप्रत्यक्ष विजयी हुनेछ किनकि मिलन पहिचानको अभियन्ता पनि हुन् । 

यस उपचुनाव पहिचान पक्षधरहरूको पनि अग्नि परीक्षा हो । जनता समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी लगायत राजनीतिक दलहरूको समेत समर्थन पाएका पहिचान पक्षधरका तर्फबाट डकेन्द्र थेगिम उम्मेदवार छन् ।

कोशी प्रदेशको नामकरणप्रति असन्तुष्टहरूले थेगिमलाई साझा उम्मेदवार बनाएकाले यसको जवाफ पनि उपचुनावबाट हुनेछ । पहिचानको एजेन्डा कतिको बलियो छ भन्ने कुरा यसै उपचुनावबाटै पुष्टि हुनेछ ।

इलाममा पहिचान पक्षधरले विजयी निकाल्नु भनेको कोशी प्रदेशको राजनीति मात्र नभएर सिङ्गो देशको पहिचान पक्षधर राजनीति गर्नेहरूलाई अभूतपूर्व क्षण हुनेछ । तर, पराजित भएको पहिचानको मुद्दा कमजोर हुँदै जाने छ ।

त्यसैले झट्ट हेर्दा इलामको उपनिर्वाचनमा भूगोलका हिसाबले सहभागिता इलाममा मात्रै सीमित भएपनि सिङ्गो देशभरि चासोका रूपमा लिइएको छ । यो, उपनिर्वाचन राष्ट्रिय राजनीतिमा रास्वपाको भविष्य, एमाले र कांग्रेसको औचित्य र पहिचानवादीको एकमुष्ट रूपमा परीक्षण हुनेछ । त्यसैले इलामको राजनीतिको सन्देशको झुल्को निश्चय पनि सामान्य हुने छैन । 

प्रतिक्रिया दिनुहोस्