Logo
Logo

प्रदेश १ मा गठबन्धन सरकार बनाउने तयारी



विराटनगर । प्रदेश १ मा सरकार परिवर्तन गर्न पाँच दलीय गठबन्धन तयारीमा लागेका छन् । नेकपा एमाले विभाजन भएसँगै मुख्यमन्त्री भएका भीम आचार्य अल्पमत परेपछि विपक्षी गठबन्धन सरकार बनाउने तयारीमा जुटेका हुन् ।

निर्वाचन आयोगले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई प्रदेशमा प्रमाणपत्र दिएलगत्तै संसदीय दलको नेता चुन्ने र त्यसपछि सरकार परिवर्तनको औपचारिक प्रक्रिया सुरु नेपाली कांग्रेसका एक प्रदेश सांसदले बताए ।

उनले प्रदेश १ मा पाँच दलीय गठबन्धनले नयाँ सरकार बनाउने तयारी भइरहेको बताउँदै भने, ‘एकीकृत समाजवादीले दलको मान्यता पाएको प्रमाणपत्र पाउनेबित्तिकै प्रक्रिया सुरु गछौँ ।’

भदौ ९ गते नेकपा एमाले विभाजन भएसँगै प्रदेश १ मा एमालेका १० सांसद एकीकृत समाजवादी पार्टीमा लागेका छन् । प्रदेश १ मा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी (जसपा), संघीय लोकतान्त्रिक मञ्च मिलेर नयाँ सरकार गठन गर्न लागेका हुन् ।

एमाले विभाजन नहुन्जेल आचार्यसँग एमालेका ५१ सांसदसहित बहुमत थियो । तर एमालेका १० सांसद नयाँ पार्टीमा लागेपछि मुख्यमन्त्री आचार्य अल्पमतमा परिसकेका छन् । आचार्य गत भदौ १० गते मुख्यमन्त्री बनेका थिए । प्रदेश १ मा ९३ जम्मा सांसद छन् । विभाजन भएपछि १० जना सांसदले नयाँ दल रोज्दा अब एमालेसँग ४१ सांसद बाँकी छन् । उनलाई बहुमतका लागि ४६ सांसद आवश्यक पर्छ ।

प्रदेशमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादी पार्टी १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च १ जना प्रदेश सांसद गरेर जम्मा संख्या ५० हुन्छ । सरकार बनाउन ४६ सांसद चाहिने भएकाले अहिले प्रतिपक्षसँग बहुमत देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्