Logo
Logo

पहिरोले घर भत्कायो, आश्रय खोज्दै जंगल पुर्‍यायो


हिक्मत बम


कैलाली। १२ साउनमा कैलालीको चुरे गाउँपालिका वडा नम्बर ५ मा पहिरो जाँदा १४ घरपरिवार विस्थापित भए । पहिरोले खेतबारी, पशु चौपायासँगै बस्ने घर पनि बगायो । तर, एक महिना वितिसक्दा पनि पीडितको अझै पुनर्उत्थान भएको छैन । वडा नम्बर ५ को निङलाडी, काफलगैरा, कसेनी, धप्रेनीका पहिरो पीडितहरू भीमदत्त राजमार्गको छेउछाउमा त्रिपाल टाँगेर बसिरहेका छन् ।

गाउँपालिका वडा नम्बर ५ काफलगैराकी पहिरो पीडित सरुली देवी रावतले समस्या समाधान गर्न कसैले पनि ध्यान नदिएको गुनासो गरिन् । उनले भनिन्,‘हाम्रा पीडा सबैले देखेको छ । तर दुःख, पीडा पर्दा मलम लगाउने कोही पनि आएनन् । अहिले हामीलाई साँझबिहानको हातमुख जोड्न समस्या भएको छ ।’

पहिरोले खेतबारीसंगै घरमा भएको अन्नपात पनि बगाएपछि उनीहरू अहिले के खाने भन्ने चिन्तामा छन् । पीडित दलबहादुर बोहराका अनुसार उनीहरूलाई अहिले गाँस, बास र कपासको आवश्यकता छ । तर, राज्यले कुनै पनि सहयोग नगरेकोमा उनीहरू झन् दुःखी छन् । उनले भने,‘हामी गरिवका लागि त सरकार नै छैन । यदि सरकार थियो भने गरिबहरूका दःुख, पीडाका मलम लगाउन आउने थियो ।’

ठेकेदारसंगको मिलेमतोमा स्थानीय जनप्रतिनिधिहरूले चुरेका प्राकृतिक सम्पदाहरूको दोहन र उत्खनन गरेका कारण आफूहरू दैविक र प्राकृतिक प्रकोपको शिकार बन्न पुगेको पीडितको आरोप छ ।

गत वर्षका बाढी पीडितको पनि जंगलमै बास
चुरे गाउँपालिकाका गत वर्षका पहिरो पीडितहरूको पनि अहिलेसम्म उचित व्यवस्थापन हुन सकेको छैन । उनीहरू पनि जंगलमा त्रिपालमूनि बस्न बाध्य भएका छन । वर्षाको समयमा उनीहरू जंगलमा त्रिपालमूनी बसेर कष्टकर जीवनयापन गरिरहेका छन् ।

जङ्गलमा बस्न थालेको एक वर्ष भइसक्दा पनि सरोकारवाला निकायले उचित व्यवस्थापन नगर्दा कष्टकर जीवनयापन गर्न बाध्य भएको पहिरो पीडित रमेश धामीले बताए ।

जङ्गलको बीचमा त्रिपालै त्रिपालले ढाकिएको बस्तीमा तीन सय घरपरिवार बसिरहेका छन् । गाउँपालिकाका विभिन्न वडाहरूबाट पहिरो पीडित भएर वासस्थानको खोजी गर्दै जङ्गललाई आफ्नो वासस्थान बनाएका उनीहरूको अवस्था अहिले दयनीय बन्दै गएको छ ।

पहिरोले घर खेत बगाएपछि घरबारविहीन भएका पीडितहरू राज्य प्रति उदासिन देखिन्छ । उनीहरू खाने व्यवस्था भन्दापनि बासको व्यवस्था मिलाई दिन सरकारलाई पटकपटक आग्रह गर्दै आएका छन् ।

त्रिपालमुनिको बसाइले गर्दा सानासाना बालबालिकालाई जङ्गलमा रहेका किरा फट्याङ्ग्रा सर्पबाट बचाउन गाह्रो भएको पीडित ललिता रोका मगरको दुखेसो छ ।

उनीहरू जङ्गलमा पाइने गिठा, तरुल, व्याक्कुर, निगुरो र खोले खाएर बस्न बाध्य छन् ।

स्थानीय र प्रदेश सरकार बेखबर
१७ साउन २०७७ मा पहिरोका कारण २ सय ११ घरपरिवार विस्थापित भए भने यो वर्ष ४०÷५० घरपरिवार पहिरोले विस्थापित हुन पुगे । तर, उनीहरूको अवस्था बुझ्न अहिलेसम्म नजिकको सरकार भनिएको स्थानीय सरकार समेत पुगेको छैन ।
पहिरोले विस्थापित भएकाहरू भन्छन्,‘हाम्रा लागि सरकारले कुनै पहल गरेको छैन । एक वर्ष भइसक्यो, जंगलको आश्रय लिएर बसेका छौं ।’

विकल्प खोजिरहेको गाउँपालिकाको दावी
चुरे गाउँपालिकाका अध्यक्ष धनबहादुर रोकामगरले पहिरोले विस्थापित भएकाहरूको व्यवस्थापनका लागि विकल्पको खोजीमा रहेको बताएका छन् । उनले भने, ‘अर्को विकल्प नभएसम्मका लागि भनेर अहिले पहिरोबाट विस्थापित भएकाहरूलाई भीमदत्त राजमार्ग क्षेत्रमा व्यवस्थापन गरेर राखेका छौँ । सुरुमा पूर्ण रुपमा विस्थापित भएका १२ परिवारलाई टेन्टको व्यवस्था गरेर त्यहाँ राखेका थियौँ । तर अहिले पहिरोको जोखिममा रहेका अन्य परिवार पनि जान थालेका छन् ।’

पहिरोबाट विस्थापित भएका परिवारलाई क्षतिपूर्तिसहित उचित व्यवस्थापन गर्न माग गर्दै दुई पटकसम्म सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाइसकेको अध्यक्ष रोकामगरले जानकारी दिए । त्यस्तै जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत लगत गृह मन्त्रालयमा समेत पठाइएको छ । तर हालसम्म कुनै सुनवाइ हुन नसक्दा पहिरो विस्थापित परिवार सोही क्षेत्रमा बस्न बाध्य भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्