Logo
Logo

शहीदको अनुहारै चिन्न नसक्ने राज्य, जेनजीको सपना कसरी चिन्छ ? (भिडियोसहित)


252
Shares

जेनजीको सालिकमै लापरबाही ! शहीदको अनुहारसमेत चिन्न नसक्ने राज्यले जेनजीको सपना कसरी चिन्छ ? एकछिन कल्पना गर्नुस् । आफ्नो सन्तानलाई जन्मदेखि चिन्नुभएको छ । उसको अनुहार, उसको हाँसो, उसको आँखा, उसको हिँडाइ सबै याद छ । तर, एक दिन राज्यले त्यही सन्तानको सम्झनामा सालिक बनाउँछ । परिवार सालिक हेर्न पुग्छ । तर, आफ्नै मान्छेको अनुहार चिन्न सकिँदैन ! अब भन्नुस्, यो कस्तो लापरबाही हो ?

 गत वर्ष सडकमा गोली चल्दा जेनजीलाई आफ्नो अनुहार कस्तो देखिन्छ भन्ने चिन्ता थिएन । उनीहरूलाई चिन्ता थियो- देश कस्तो देखिन्छ भन्ने !उनीहरू सडकमा फोटो खिचाउन गएका थिएनन्, प्रवृत्ति बदल्ने अठोटसहित सडकमा उत्रिएका थिए । आफ्नै भविष्य र देशका लागि लडेका थिए । तर, त्यही क्रममा कतिपय युवाहरूको जीवन नै समाप्त भयो । कसैको छोरा फर्केन, कसैको छोरी । कसैको श्रीमान् फर्केन, कसैको भाइ फर्केन, कसैको साथी फर्केन, अनि कसैको काख सधैँका लागि रित्तियो ।

उनीहरूको त्यही बलिदान सम्झन राज्यले बनाएको सालिकमा उनीहरूको अनुहारसम्म मिलेन ! जेनजीले आफ्नो ज्यान दिएर इतिहास लेखे, राज्यले सालिक बनाउँदा एउटा अनुहारसम्म राम्रोसँग बनाउन सकेन । 

ललितपुरको सातदोबाटोमा जेनजी आन्दोलनमा ज्यान गुमाएका ४५ जनाको स्मृतिमा सालिक बनाइयो । पार्क बनाइयो । उद्घाटनको तयारी पनि गरियो । मञ्च तयार भयो । उद्घाटनको लागि मन्त्री पुगे । कार्यक्रमको तयारी पनि भयो । सबै कुरा तयार ! तर, सहिदको अनुहारै मिलेन । 

सालिकको अनुहारै नमिलेपछि परिवारले आपत्ति जनाए, जसका कारण उद्घाटन रोकियो । अनावरण गर्न पुगेका मन्त्रीहरू अनावरण नै नगरी फर्किए । देश बदल्ने दाबी गर्ने सरकार आफ्नै शहीदको सालिक चिन्न नसकेर कार्यक्रम स्थगित गर्न बाध्य हुन्छ !

अब सोच्नुस्, जसले जन्मदेखि आफ्ना मान्छेलाई चिनेको छ, उसैले सालिक चिन्न सकेन भने…राज्यले चाहिँ के चिनेको हो ? शहीद ? कि केवल एउटा कार्यक्रम, फूलमाला, भाषण र  सामाजिक सञ्जालको पोस्ट ? यदि यही हो भने, यो शहीदलाई गरिएको सम्मान होइन, शहीदको नाममा गरिएको कार्यक्रम मात्रै हो । 

यहाँ प्रश्न सालिक सुन्दर भयो कि भएन भन्ने होइन । प्रश्न अनुहारको सौन्दर्यको पनि होइन । प्रश्न पहिचानको हो । सालिक भनेको सिमेन्टको थुप्रो होइन । त्यो कसैको जीवनको स्मृति हो । कसैको परिवारको अन्तिम चिनो हो । कसैको बलिदान हो । त्यो इतिहासको दस्ताबेज हो । त्यसैले शहीदको सालिकमा अनुहार नमिल्नु भनेको मूर्तिकारको हात अलिकति चिप्लिनु मात्रै होइन । यो राज्यको संवेदनशीलता चिप्लिएको प्रमाण हो ।

अझ प्रश्न त यहाँबाट सुरु हुन्छ- सालिक बनाउँदै गर्दा परिवारसँग सोधियो कि सोधिएनरु फोटोहरू संकलन गरिए कि गरिएनन् रु नमुना तयार भएपछि परिवारलाई देखाइयो कि देखाइएन ? अनुहारको प्राविधिक परीक्षण भयो कि भएन ? अन्तिम स्वीकृति कसले दियो ? अनि उद्घाटनअघि कसैले परिवारलाई सोध्यो कि सोधेन ? यदि यी सामान्य प्रश्नहरूसमेत सोधिएनन् भने त्यो घोर लापरबाही नै हो । 

जेनजीको नाममा सत्ता आयो । जेनजीकै नाममा राजनीति भयो । जेनजीको बलिदानलाई परिवर्तनको आधार मानियो । तर, जेनजीकै सम्झनामा एउटा सालिक बनाउँदासमेत उही पुरानो सरकारी शैली देखियो– ‘बनाइहालियो, अब उद्घाटन गरिदिऊँ’ यही मानसिकतालाई जेनजीले अस्वीकार गरेका होइनन् र ?

उनीहरूले प्रश्न गरेका थिए– काम सही ढङ्गले किन हुँदैन ? जिम्मेवारी कसैले किन लिँदैन ? जवाफदेहिता कहाँ छ ? अनि प्रणाली किन सुध्रिँदैन ? तर आज.. जेनजीकै स्मारक बनाउँदासमेत प्रणाली सुध्रिएको देखिएन । जेनजी आन्दोलनको सबैभन्दा ठूलो सन्देश नै यही थियो-अनुहार बदल्ने होइन, प्रवृत्ति बदल्ने ! तर, आज सालिकको अनुहारसम्म नमिलेपछि फेरि उही प्रश्न उब्जिएको छ-सरकारको अनुहार त बदलियो, तर काम गर्ने शैलीचाहिँ किन बदलिएन ?

 बाँकी भिडियोमा :

प्रतिक्रिया दिनुहोस्