Logo
Logo

केन्द्रीय कमिटी बैठकमा माधव नेपालद्धारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा के छ ? (प्रस्तावसहित)



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय कमिटी बैठकमा १२ पृष्ठको राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

मंगलबारदेखी सुरु केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा विभिन्न पाँच वटा समूह बनाएर छलफल भएको छ । बुधबारसम्म चल्ने बैठकमा सो समूहका टोली नेताले समूहगत छलफल पश्चात सुझावहरु राख्नेछन् ।

एकीकृत समाजवादी पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बैठकमा अध्यक्ष नेपालको राजनीतिक प्रस्ताव, केन्द्रीय कमिटी विस्तार, अस्थायी कार्ययोजना, चुनाव चिन्ह, समसामयिक राजनीतिक बिषयहरुको बारेमा छलफल भइरहेको बताए ।

बैठकमा अध्यक्ष नेपालले नेकपा (एमाले)बाट विद्रोह गर्नुपर्ने बाध्यकारी परिस्थिातिको चर्चा गर्दै कम्युनिष्ट अन्दोलनको रक्षा र विकासको लागि नेकपा (एकीकृत समाजवादी) गठन गरिएको बताएका छन् ।

‘नेपालको कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवाद तथा विसर्जनवाद हावी भएको र त्यो प्रवृत्तिको नेतृत्व केपी ओलीको नाममा नेकपा एमालेले गरेको छ । त्यसमा सुधारका लागि गरिएका अनेकौं प्रयास असफल भएकोले सच्चा क्रान्तिकारी कम्युनिष्ट शक्तिका रुपमा हामीले पार्टी निर्माण गर्नु परेको हो । त्यस्तो खाले राष्ट्रिय जिम्मेवारी बोध गरी कम्युनिष्ट आन्दोलनलाई जोगाउन पार्टी निर्माण गर्ने बाध्यकारी परिस्थिति सिर्जना भएको हो’ नेपालले भने ।

एमालेले मुलुकको कम्युनिष्ट आन्दोलनलाई क्षतविक्षत पारेको बताउँदै उनले एमालेले मुलुकको कम्युनिष्ट आन्दोलनलाई क्षतविक्षत पारेको बताए । ‘कम्युनिष्ट पार्टी नीतिप्रधान हुनुपर्दछ, नेताप्रधान होइन । तर, नेकपा (एमाले) नेताप्रधान पार्टीमा रुपान्तरण भइसकेको छ’ उनले भने ।

एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री ओलीले मुलुकलाई प्रतिगमनको दिशामा लैजान अनेक पटक प्रयास गरेको र त्यसवाट मुलुकलाई बचाउनका लागि राजनीतिक दलहरुबीच सहकार्य गरी संघर्ष गर्नु परेको उनले स्पष्ट पारेका छन् । त्यही संघर्षको परिणामस्वरुप संसद र संविधान जोगिएको स्मरण उनले गरेका छन् ।

तीन महिने अभियान सञ्चालन गर्ने
पार्टीले आवधिक कार्ययोजना बनाइ तीन महिने अभियान पनि सञ्चालन गरेर देशभर पार्टी सुदृढिकरण र पार्टीलाई पुर्नजागृत गर्ने भएको छ । प्रवक्ता खतिवडाले पार्टीले तीन महिने अभियान सञ्चालन गर्ने जानकारी दिए । ‘एउटा आवधिक योजना बनाउने र त्यसलाई तीन महिने अभियानको रूपमा सञ्चालन गरेर देशव्यापी रूपमा संगठन सुदृढीकरण, पार्टीको पुनर्जागरण अभियान सञ्चालन गर्नेछौ’, खतिवडाले बैठकपछि भने ।

गत भदौ ९ गते नेपाल नेतृत्वको पार्टीले निर्वाचन आयोगबाट मान्यता पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्