Logo
Logo

अमेरिकी मध्यावधि चुनाव: २ बाट ३ हुँदै नेपाली मूलका सांसद !


0
Shares

अमेरिकामा आज भैरहेको मध्यावधि चुनावमा नेपाली मूलका चारजना उम्मेद्वारहरू विधानसभा सांसदका लागि चुनावी मैदानमा छन् । उनीहरू हुन्, मेरिल्याण्ड ८ बाट डा. ह्यारी भण्डारी, मेरिल्याण्ड ७ ‘ए’ बाट सतीस चापागाइँ, न्युयोर्क १०३ बाट सराहना श्रेष्ठ र न्यू हायाम्पसायर ४१ बाट विश्वबहादुर शाह ।

चारैजना डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेद्वार भएका हुन् । मेरिल्याण्ड ८ बाट डा. भण्डारी र न्युयोर्क १०३ की श्रेष्ठ वहालवाला सांसद हुन् । भण्डारी तेस्रो कार्यकालका लागि र श्रेष्ठ दोस्रो कार्यकालका लागि चुनावी मैदानमा छन् । श्रेष्ठ डेमोक्रेटिक प्राइमरीमा निर्विरोध भइन् भने डा. भण्डारी प्रतिस्पर्धामा विजयी भएका थिए ।

मेरिल्याण्ड ७ ए का चापागाइँ र न्यू हायाम्पसायर ४१ का शाह भने पहिलोपटक प्रतिस्पर्धा गरिरहेका छन् । चापागाइँ दुई स्थान भएको क्षेत्रमा दोस्रो र शाह तीन स्थान भएको क्षेत्रमा तेस्रो स्थानमा प्राइमरी छिचोलेर उम्मेद्वार भएका हुन् ।

के छ इतिहास ?
अमेरिकामा नेपाली जनसंख्या बढेसँगै यहाँको मूलधारको राजनीतिमा प्रवेश र हस्तक्षेप आवश्यक पर्ने पैरवी सुरू भयो । त्यसको एक अगुवा अभियानकर्ता हुन्, डा. ह्यारी भण्डारी । उनले २०१४ को मेरिल्याण्ड राज्यको विधानसभामा डिस्ट्रिक्ट ८ मा डेमोक्रेटिक प्राइमरीमा उम्मेद्वारी दिएर आफ्नो राजनीति यात्रा सुरू गरे । पहिलो प्रयासमा उनी असफल भए । तर, २०१८ को चुनावमा उनले डेमोक्रेटिक प्राइमरी मात्र जितेनन्, आमचुनाव नै जिते ।

यो जीतसँगै डा. भण्डारीले अमेरिकामा नेपालीका लागि राज्य विधानसभाको ढोका खोले । अमेरिकाकै पहिलो नेपाली मूलको विधानसभा सदस्य हुने इतिहास उनको नाममा लेखियो । अमेरिकी मूलधारको राजनीतिमा प्रवेश र हस्तक्षेप गरेर अमेरिकामा नेपाललाई अरू बढी देखिने र सुनिने बनाउने यो अभियानमा २०२२ मा न्यूयोर्क राज्यको डिस्ट्रिक्ट १०३ को सांसदका रूपमा सराहना श्रेष्ठ थपिइन् ।

उनको यो प्राप्तिले अमेरिकामा नेपाली मूलको विधानसभा सांसद हुने पहिलो महिलाको इतिहास उनको नाममा लेखियो । न्युयोर्क विधानसभामा सराहना थपिएकै वर्ष मेरिल्याण्डमा भएको चुनावमा डा. भण्डारी दोस्रो कार्यकालका लागि चुनिए । उता, दुई वर्षे कार्यकाल रहेको न्युयोर्कमा श्रेष्ठ पनि २०२४ मा दोस्रो कार्यकालका लागि चुनिइन् ।

स्मरणीय रहोस्, विधानसभाको कार्यकाल मेरिल्याण्डमा ४ वर्षको छ भने न्युयोर्कमा दुई वर्षको । त्यसयता अमेरिकामा नेपाली मूलका दुई विधानसभा सांसद दोस्रो कार्यकालका लागि कार्यरत छन् । यसपटक यी दुई वहालवाला विधायक सभासदसँगै मेरिल्याण्ड डिस्टिक्ट ७ ‘ए’ बाट चापागाइँ र न्यूहायाम्पसायर ४१ बाट शाह थपिएका हुन् ।

कस्तो छ स्थिति ?
चारजनामध्ये सबैभन्दा सुरक्षित छिन्, सराहना श्रेष्ठ । गाढा नीलो न्युयोर्कको हडसन भ्याली निर्वाचन क्षेत्रबाट उनको जीत सुनिश्चित छ । यस निर्वाचन क्षेत्रको खास चुनाव भनेको डेमोक्रेटिक प्राइमरी हो । यो चुनाव जित्नेले स्वतः आमचुनाव जित्छ ।

प्राइमरी चुनावमा उनको कोही प्रतिस्पर्धी नै भएन । यसअघिका दुई प्राइमरीमा पार्टीको मध्यपन्थी संस्थापन पक्षबाट टक्कर दिनेहरूले यसपटक त्यो साहस गरेनन् ।

स्मरणीय रहोस्, श्रेष्ठ पार्टीमा वामपन्थी धारको प्रतिनिधित्व गर्छिन् । उनी एओसीका नामले चिनिने न्युयोर्ककी चर्चित कंग्रेसवुमन अलेक्जान्ड्रिया ओकासियो–कोर्टेज नजिक छिन् ।

डा. भण्डारीको जीत पनि लगभग निश्चित छ । २०२२ मा उनकै नेतृत्वमा पर्पलबाट नीलो भएको मेरिल्याण्ड ८ यतिबेला डेमोक्रेट्स बहुल क्षेत्र भएको छ । यसअघि यस क्षेत्रबाट तीनैजना डेमोक्रेटिक पार्टीका उम्मेद्वार विजयी भएको र त्यसमा पनि डा.भण्डारी पहिलो स्थानमा विजयी भएका थिए ।

२०२४ मा पार्टी संस्थापन पक्षको चाहना विपरित कंग्रेस मेनका लागि चुनाव लडेपछि उनको राजनीति संस्थापन इतर हुन पुगे । परिणामतः उनले सिनेटर हुने मौका गुमाए र यसपटक प्राइमरीमा कडा प्रतिस्पर्धा गर्नुपर्ने परिस्थिति आयो । तर, पनि उनले हिम्मत हारेनन् र प्रतिस्पर्धात्मक बनेको प्राइमरीमा दोस्रो स्थानमा रहेर चुनाव जिते ।

सामान्यतः यस क्षेत्रमा डेमोक्रेटिक प्राइमरी जित्ने उम्मेद्वारले आमचुनाव जित्ने लगभग निश्चित हुन्छ । त्यसमाथि तीन स्थानका लागि हुने चुनावमा डा. भण्डारीले दोस्रो स्थानमा जितेका छन् ।

यसअघि २०२२ को प्राइमरीमा पनि भण्डारी दोस्रो स्थानमा प्राइमरी जितेका थिए । आमचुनाव भने पहिलो स्थानमा जिते । यसपटक पनि उनले त्यही इतिहासको पुनरावृति गर्ने सम्भावना छ ।

विश्ववहादुर शाह नेपाली सेनाका पूर्व मेजर हुन् । लामो समय न्युयोर्क बसेर सार्वजनिक व्यक्तित्व बनाएका उनी २०२० मा न्यू ह्याम्पसायरको म्यान्चेष्टरमा बसाइ सरे । अहिले उनी म्यान्चेस्टर हिल्बरो क्षेत्रबाट डेमोक्रेटिक उम्मेद्वार छन् । डेमोक्रेटिक पार्टीकै प्रभाव रहेको यस निर्वाचन क्षेत्रमा यसअघि तीनैजना सभासद डेमोक्रेटिक पार्टीका थिए । तीनमध्ये दुईले उम्मेद्वारी नदिएपछि ओपन सिट भएको प्राइमरीमा शाह विजयी भएका हुन् ।

डेमोक्रेटिक प्रभाव क्षेत्र भएको र यसअघि तीन स्थान नै डेमोक्रेटस्सले जितेको हेर्दा शाह पनि पहिलो प्रयासमै विधानसभा सदस्य हुने प्रवल सम्भावना देखिन्छ । यद्यपि, २०२४ को आमचुनावमा तेस्रो स्थानमा रहेर विजयी हुने डेमोक्रेट उम्मेद्वार र चौथो स्थानमा रहेर निकटतम प्रतिस्पर्धी रहेको रिपब्लिकन उम्मेद्वारबीच ४३० को मत मात्रै फरक रहेको छ ।

स्मरणीय रहोस्, यसपटक पनि डेमोक्रेटिक प्राइमरी पहिलो हुने लिली रोस यसअघि पनि पहिलो स्थानमै रहेर विजयी हुने वहालवाला सभासद हुन् । दोस्रो हुने टम स्टेवार्ट नयाँ भए पनि ९० मतले उछिनेर शाहलाई तेस्रो बनाएका थिए ।

यो पृष्ठभूमी र तथ्यांकलाई हेर्दा शाहको पहिलो प्रयासमै सभासद हुने सम्भावना धेरै भए पनि सत् प्रतिशत भने भन्न सकिन्न । यसपटक आएको नीलो लहरलाई समेत मध्यनजर राख्दा भने उनलाई विजयीको सूचीमा राख्दा हुन्छ ।

तर, मेरिल्याण्ड ७ ‘ए’ को चापागाइँको निर्वाचन म्याप भने अलि फरक छ । २०२० को जनगणनाअनुसार २०२२ मा ७ लाई फुटाएर बनाइएको यो क्षेत्र रिपब्लिकन पार्टीको गण हो । यस क्षेत्रबाट दुईजना सभासद निर्वाचित हुन्छन् । यसअघि २०२२ मा भएको पहिलो र एकमात्र निर्वाचनमा दुईजना उम्मेद्वार चाहिने यस क्षेत्रमा डेमोक्रेटिक पार्टीको एक मात्र उम्मेद्वार थिए ।

यसपटक भने दुईजना उम्मेद्वार चाहिनेमा चारजना आकांक्षी भए । उनीहरू बीचको प्राइमरी प्रतिस्पर्धामा सतिस दोस्रो हुँदै उम्मेद्वार छानिए ।

२०२२ को चुनावमा दोस्रो स्थानमा विजयी रिपब्लिकन उम्मेद्वारले तेस्रो स्थानमा रहेर निकटतम प्रतिस्पर्धी रहेका डेमोक्रेटिक उम्मेद्वार लिडिया ब्राउनभन्दा ५,४८८ बढी मत पाएका थिए । उनै ‘नेम रिकल” भैसकेकी लिडियाले यसपटक पनि डेमोक्रेटिक प्राइमरी पहिलो स्थानमा रहेर जितिन् । उनले सतिसलाई २२७ मतले पछि पारेकि थिइन् ।

यस क्षेत्रको अर्को तथ्यांक पनि सतिसको पक्षमा देखिदैन । त्यो के भने रिपब्लिन प्राइमरीमा दोस्रो स्थानमा रहेर आमचुनाव उम्मेद्वार भएको रायनको मत ४,९५९ छ भने डेमोक्रेटि प्राइमरीमा दोस्रो हुने सतिसको मत २,७१८ छ ।

यी सबै तथ्यांकहरूलाई एक ठाउँमा राखेर विश्लेषण गर्ने हो सतिसको जीतको कामना त गर्न सकिएला तर त्यो कामनाले कुनै रङ नल्याउने निश्चित छ । एउटा सकारात्मक पक्ष के चाँहि हो भने यसअघिको चुनावमा दुई उम्मेद्वारीसमेत नपरेको डेमोक्रेटिक पार्टीमा यसपटक चार उम्मेद्वारबीच प्राइमरी प्रतिस्पर्धा भयो ।

यसको सकारात्मक सन्देश के हो भने यस क्षेत्रमा डेमोक्रेटिबक पार्टीको सम्भावना छ । दक्षिण एसियाली त्यसमा पनि नेपालीको जनसंख्या यस क्षेत्रमा बढ्दो छ । सतीस लामो रेसको घोडा भए भने यस क्षेत्रबाट एक दिन विधायक पनि हुन सक्छन् ।

पार्टीका लागि मेहनत गर्ने हो भने यो नयाँ क्षेत्रमा सम्भावना छ । सतीस अहिले पनि यस क्षेत्रबाट बाल्टिमोर काउन्टीको डेमोक्रेटिक पार्टीका केन्द्रीय सदस्य हुन् । नेपालमा रहँदा पत्रकारिता फर्टिनिटीमा रहेका उनको त्यो नशा आज पनि जारी छ । उनी अहिले पनि आफ्नै नेपाली न्युज पोर्टल सञ्चालन गर्छन् ।

के हो त निस्कर्ष ?
यसपटकको अमेरिकी चुनावले नेपाल र नेपाली पक्षमा खुशीकै समाचार दिने सम्भावना बढेको छ । मेरिल्याण्डको संसदबाट खोलिएको ढोका न्युयोर्क हुँदै यसपटक न्यू ह्याम्पसायरसम्म बिस्तारित हुने सम्भावना छ ।

समग्र अमेरिकाकै कुरा गर्दा यसपटक अमेरिकामा ‘ब्लु वेभ’ आएको छ । यो वेभले अमेरिकामा रहेका लगभग ९० प्रतिशत नेपाली-अमेरिकी डेमोक्रेट्सलाई पनि खुशीको भाग लाग्छ नै ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000