Logo
Logo

‘दलाल पुँजीवादको पक्षमा लागेका ओली कम्युनिष्ट रहेनन्’



वीरगञ्ज । नेकपा (एकीकृत समाजवादी)का सचिव नागेन्द्र चौधरीले दलाल पुँजीवादको पक्षमा एमाले अध्यक्ष केपी ओली लागेको आरोप लगाएका छन् ।

शनिबार एकीकृत समाजवादी वीरगञ्ज नगर कमिटीको भेलालाई सम्बोधन गर्दै सचिव चौधरीले यस्तो आरोप लगाएका हुन् । ‘दलाल पुँजीवादको पक्षमा एमालेका अध्यक्ष केपी ओली लागेपछि पार्टीभित्र विद्रोह गर्नु गर्यौ । कम्युनिष्ट पार्टी र जनताको मुख्य सत्रुको पक्षमा नै केपी ओली नेतृत्वको पार्टी लागेपछि विद्रोह गरेर एकीकृत समाजवादी पार्टी निर्माण हामीले गर्यौ’ सचिव चौधरीले भने ।

सबै सच्चा कम्युनिष्टहरु एकीकृत समाजवादीमै रहेको दाबी गर्दै उनले समाजवादी क्रान्तिको लागि पार्टी गठन भएको बताए । अब समाजवादी क्रान्तिको समय आएकोले दालाल, पुँजीवाद, नोकरशाहीको पक्षमा खडा भएकाहरुको विरोधमा आफूहरु लागेको बताए ।

‘कम्युनिष्ट पार्टीमा व्यक्ति प्रधान हुँदैन, नीति र संगठन प्रधान हुन्छ । तर अहिले एमालेमा व्यक्ति प्रधान भएका छन् । केपी ओलीले जे भन्छन्, त्यही हुन्छ’ चौधरीले भने, ‘त्यही भएर एमाले कम्युनिष्ट पार्टी रहेन, त्यसैले नयाँ र सच्चा कम्युनिष्ट पार्टी एकीकृत समाजवादी भएको छ ।’

सोही भेलालाई सम्बोधन गर्दै एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य रामचन्द्र साहले पार्टीमा युवाको आवश्यकता रहेको र पार्टीको नीति पनि सोहीअनुसार रहेकोले पार्टीमा युवालाई लाग्न आग्रह गरे । उनले पार्टीमा युवालाई ४० प्रतिशत स्थान दिने पार्टीको नीति रहेको बताए ।

पार्टीको पर्सा जिल्ला इन्चार्जसमेत रहेका साहले लामो समयपछि केपी ओलीको नेतृत्वमा बहुमतको सरकार बनेपनि उनले सरकारको नेतृत्व गरेको ३ वर्षसम्म पार्टीको कुरा नसुनेका कारण विद्रोह गर्नुपर्ने अवस्था आएको बताए ।

वीरगञ्ज महानगर कमिटीका अध्यक्ष मनोज चौधरीको अध्यक्षतामा भएको भेलामा जिल्ला अध्यक्ष बालगोपाल थापा, प्रदेश कमिटी सदस्य सुरेन्द्र यादव, किशोरी कुशवाहा, जिल्ला सचिवालय सदस्य सुबादार यादव, शान्ति महर्जन, युवा विभागका जिल्ला इन्चार्ज अनिल पटेल लागायत उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्