Logo
Logo

इलाम धोबिधाराखण्ड सडक अवरुद्ध



मङ्गलबारे । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका धोबिधारा नजिकै सडक भत्किएपछि यातायात अवरुद्ध भएको छ । इलाम बजार नजिकै पहिरो गएर सडक अवरुद्ध भएपछि वैकल्पिक सडक प्रयोगमा ल्याइने भएको छ ।

शनिबार बिहान सडकको ८५ प्रतिशतभन्दा बढी भाग पहिराले लगेपछि सवारी सञ्चालन हुनसकेका छैनन् । तत्काल सो राजमार्ग मर्मत, सुधार गर्न नसकिने भएपछि डाइभर्सन गरी सवारी पास गराइने भएको हो । भत्किएको सडक चाँडो सञ्चालन गर्न/गराउन सडक डिभिजन कार्यालय इलामलाई अनुरोध गरिएको इलाम नगरपालिकाले जनाएको छ ।

भानुपथबाट चोकबजारतर्फ आउने साना गाडीलाई एकतर्फी सवारी नियम लगाई शान्तिचोक ग्रिनभ्याली हुँदै राजमार्ग पठाउने र भानुपथबाट चोकबजार्रतर्फ आउने साना सवारीलाई एकतर्फी सवारी नियम लगाई शान्तिचोक मालापथ आदर्श मावि हुँदै राजमार्ग पठाइने भएको छ । त्यस्तै धोवीधारातर्फबाट इलाम बजार आउने साना सवारीलाई नेपाल बैंकको मोडबाट वन कार्यालय, चियाबारी क्याम्पस हुँदै टुँडिखेलतर्फ पठाउने नगरपालिकाका प्रशासकीय अधिकृत रामकुमार शाहले जानकारी दिए ।

उनका अनुसार धोवीधारातर्फबाट इलामबजार ट्याक्सीस्टेण्ड आउने साना भ्यानलाई नेपाल बैंकको मोडबाट वन कार्यालय, चियाबारी डाँफे गेस्टहाउस, ग्रिनभ्यू गेस्टहाउस नवीनचोक हुँदै ट्याक्सीस्टेण्डमा पठाइने नगरपालिकाले जनाएको छ ।

यस्तै हेभी गाडीलाई राजमार्ग सञ्चालन नहुन्जेलसम्म उल्लेखित बाटोमा परिचालन गर्न रोक्ने र अन्य हेभी सवारीलाई सम्भव भएसम्म रातको समयमा महानन्दचोकबाट इलामबजार हुँदै धोवीधारासम्मको बाटो प्रयोग गर्न ट्राफिक प्रहरीमार्फत फिक्कल, बिर्तामोड, फिदिम ताप्लेजुङसम्मका हेभी सवारी चालकलाई अनुरोध गरिने छ । पहिराले सडक भत्किएपछि इलाम बजार क्षेत्रका केही घरसमेत जोखिममा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्