काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेस प्रदेशमा आयोजित अन्तरक्रिया कार्यक्रमबाट विरोध भएपछि बीचमै बाहिरिनुको कारणबारे स्पष्टीकरण दिएका छन् ।

मन्त्री पोखरेलका अनुसार कार्यक्रममा दुई जना व्यक्तिले आएर हल्ला गरेपछि विद्यार्थी, शिक्षक र अभिभावकको सहभागिता प्रभावित हुने अवस्था बनेकाले कार्यक्रमस्थलबाट बाहिरिएका हुन् ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै पोखरेलले नेपालको विद्यालय शिक्षालाई थप व्यवहारिक, सीपमूलक र समयसापेक्ष बनाउने उद्देश्यले राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि मधेसका विभिन्न जिल्लामा पुगेर विद्यार्थी, शिक्षक र अभिभावकका सुझाव संकलन गरिरहेको बताएका छन् ।
उनका अनुसार सिरहा र सप्तरीमा आयोजित अन्तरक्रियामा १०० भन्दा बढी सरोकारवालाको सहभागिता थियो। आगामी शैक्षिक सत्रदेखि कार्यान्वयनमा ल्याउने तयारी गरिएको ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ जस्ता अवधारणाबारे पनि प्रत्यक्ष संवाद भइरहेको उनले उल्लेख गरेका छन् ।
तर, अन्तरक्रियाका क्रममा दुई जना व्यक्तिले आएर हल्ला गरेपछि बाँकी सहभागीको सहभागिता प्रभावित हुने अवस्था बनेको र त्यसपछि कार्यक्रमस्थलबाट बाहिरिएको पोखरेलको भनाइ छ ।















