Logo
Logo

भागबण्डा मिलाउन गठबन्धन कार्यदलको बैठक



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार बनेको ८० दिन बित्यो । अझै सरकारले पूर्णता पाएको छैन । मन्त्रिपरिषदले पूर्णता नपाउँदा गठबन्धन सरकार आलोचित बनेको छ । सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरु पटक पटक मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल भएपनि भागबण्डामा अड्किएका छन् ।

करिब तीन महिनासम्म ६ मन्त्री बनाएका प्रधानमन्त्री देउवाले १८ मन्त्रीको भारी आफैँले बोकेका छन् । काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वका कार्यदलको बैठकमा काँग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)का प्रतिनिधि सहभागी छन् ।

खड्कालाई कोरोना संक्रमण भएकाले आजको बैठकको संयोजन कानुनमन्त्री ज्ञानेन्द्र कार्कीले गरेका छन् । गत आइतबार गठबन्धनका शीर्ष नेताको बैठकपछि आज मात्र गठबन्धन कार्यदलको बैठक बसेको हो ।

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल बिरामी भएकाले शीर्ष नेताहरुको बैठक बस्न नसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरी मन्त्रिपरिषद विस्तार गर्ने भनिएपनि मन्त्रालयको भागबण्डा मिलेको छैन । कार्यदलले मन्त्रालयको भागबण्डा टुंग्याएपछि शीर्ष नेताहरुको बैठक बस्ने बताइएको छ ।

संख्यागतरुपमा काँग्रेसले ७, माओवादी, जसपा र एकीकृत समाजवादीले ५ मन्त्री र एक राज्यमन्त्री पाउने सैद्धान्तिक सहमति भएको थियो । तर, यतिबेला काँग्रेसले आठ मन्त्रालय पाउनुपर्ने अडान राखेको छ भने जसपालाई ५ मन्त्रालय मात्र दिएर प्रधानमन्त्री देउवाले आठ मन्त्रालय राख्न खोजेपछि विवाद देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्