Logo
Logo

‘एउटै घरमा तीन पटकसम्म टिका लगाएर दक्षिणा थाप्थेँ’



काठमाडौं । दशैंको प्रशंगले गायिका मिलन नेवारलाई ‘फ्ल्यासब्याक’मा लैजान्छ, ‘आहा, त्यो बाल्यकाल अनि आमाले किन्दिनुभएको त्यो फूलबुट्टे जामा !’ सानोमा फूलबुट्टे जामा भनेपछि हुरुक्कै हुन्थेँ, मिलन ।

भारतको पूर्वोत्तर असममा जन्मेहुर्केकी मिलन नेवार नेपाली सांगीतिक क्षेत्रकी चर्चित गायिका हुन् । तर, मिलनले नेपालमा खासै दशैंं मनाउन पाएकी छैनन् । त्यसैले दशैंंको प्रशंग आउनेवित्तिकै उनी जन्मथलो असम र बाल्यकालको दशैंं स्मरण गरिन्, ‘बाल्यकालको दशैं सम्झँदा मन फुरुङ्ग हुन्छ ।’

त्यो फूलबुट्टे जामा

बाल्यकालमा नयाँ लुगा भनेपछि फुरुङ्ग नहुने सायदै होलान् । मिलन पनि नयाँ लुगा भनेपनि फुरुङ्ग हुन्थिन् । दशैंमा नयाँ लुगा लगाउन पाउँदा संसार जितेजस्तै आभाष भएको मिलनको अनुभव छ । ‘दशैं आउन लागेको ठूला बढाबाटै थाहा हुन्थ्यो’ मिलन भन्छिन्, ‘त्यसपछि कतिखेर नयाँ लुगा लगाउन पाइन्छ भन्ने हतारो हुन्थ्यो । दशैं आएपछि नयाँ लुगा र मीठो खान पाइन्छ भन्ने सोच हुन्थ्यो ।’

गायिका मिलनका लागि यो एउटा संयोग पनि हो । पछिल्लो समय ‘फूलबुट्टे सारी’ बोलको गीतबाट चर्चा पाइरहेकी मिलनलाई दशैंले त्यो बाल्यकालको फूलबुट्टे जामाको यादमा फर्काएको छ । ‘त्यो बेला फूलफूल जामा भन्थ्यौँ, त्यो फूलबुट्टे नै हो’ मिलनले सम्झिइन्, ‘त्यो फूलफूल जामाको याद फूलबुट्टे सारीले पनि गराएको छ ।’ पछिल्लो समय मिलनले गाएको ‘फूलबुट्टे सारी’ बोलको गीत दर्शकले अत्याधिक रुचाएका छन् ।

दक्षिणा बटुलेर पिकनिक

भारतको पूर्वोत्तर राज्य असम, जहाँ नेपाली रहनसहन, संस्कृति र परिवेश छ । असममा पनि दशैं तिहार जस्ता चाडपर्व धुमधाम मनाइन्छ । नेपाली संस्कृति र रहसनसहनमै हुर्केकी मिलनलाई दशैं स्मरण गराउने अनेक कुराहरुमध्ये टिका लगाएर बटुलेको दक्षिणा र पिकनिक पनि हो । दशैमा फूलफूट्टे जामा लगाएर एउटै घरमा तीन÷चार पटकसम्म टिका लगाउन गएको अहिले पनि उनलाई याद छ । उनी भन्छिन्, ‘सुरुमा एक्लै जान्थेँ, त्यसपछि आमाबुबासँग जान्थेँ । र, साथीहरुसँग पनि जान्थेँ । यसको एउटै कारण दक्षिणा बुटुल्न हो ।’

टिका लगाएर पाएको दक्षिणा जम्मा गरेर आफ्नो समूहका साथीहरुसँग पिकनिक जाने गरेको उनी सम्झन्छन्, ‘पिकनिक जानु पाउँदा साह्रै रमाइलो हुन्थ्यो ।’ त्यो बेला पाँच रुपैयाँसम्म दक्षिणा पाएको मिलनलाई याद छ । ‘२०/२२ वर्षअघि पाँच रुपैयाँ भनेको धेरै हो’ मिलनले भनिन्, ‘पाँच रुपैयाँ दक्षिणा पाउँदा पनि खुसी लाग्थ्यो । म त एउटै घरमा दुई÷तीन पटक टिका लगाएर दक्षिणा थाप्थेँ ।’

यसपाली नेपालमै दशैं

नेपाल आएपछि खासै दशैं मनाउन नपाएको मिलनको भनाइ छ । असमबाटै सांगीतिक करिअर सुरु गरेकी मिलन नेपाल आएपछि एकाएक गायनमा व्यस्त भइन् । ‘यसअघिका दशैं प्रायः देश विदेशकै कार्यक्रममा व्यस्त भएँ’ मिलनले सुनाइन्, ‘गत वर्ष कोरोना महामारीले गर्दा कतै जान पाइनँ । त्यसैले दशैं खासै दशैं जस्तो भएन । यसपालीचाहिँ नेपालमै दशैं मनाउँदैछु ।’

अहिले मिलनका परिवार काठमाडौंमै छन् । त्यसैले यसपालीको दशैं काठमाडौंमै भएपनि रमाइलो हुने उनको भनाइ छ । मिलनले भनिन्, ‘यसपालीको दशैं योजना खास केही छैन । आमाबुबाको हातबाट टिका लगाउने र आर्शीवाद लिने अनि मन्दिर जान्छु । परिवारसँगै बसेर दशैं मनाउनु पाउनु मेरो लागि सबैभन्दा रमाइलो र खुसीको कुरा हो । किनकि, कोरोना महामारीअघि कहिल्यै परिवारसँग बसेर दशैं मनाउने मौका मिलेन ।’

दसैैँमा नयाँ लुगा

सानो हुँदा दशैंमा नयाँ लुगा नभइ नहुने मिलनलाई अहिले वास्ता हुन छाडेको छ । अर्थात, उनलाई दशैंका लागि भनेर लुगा किन्नुपरेको छैन । टिनएजर्समै गीतसंगीतबाट चर्चा कमाएकी मिलन भन्छिन्, ‘स्टेज कार्यक्रमका लागि लुगा किनिरहनुपर्छ । त्यसैले दशैंका लागि भनेर मैले लुगा किन्नुपरेको छैन । दशैंमा नयाँ लुगा नकिनेको धेरै भइसक्यो । यसपाली पनि केही सपिङ गरिनँ ।’

घरपरिवारका लागि भने केही सपिङ गरेको मिलनले बताइन् । ‘घरमा आमाबुबा र बहिनी छिन् । उनीहरुका लागिमात्र सपिङ गरेको छु ।’ फूलपातीको अघिल्लो दिनसम्म कार्यक्रममै व्यस्त रहेकी मिलनले भनिन्, ‘अहिले त दशैंलाई भनेर नयाँ लुगा किन्न रहर पनि लाग्दैन । जति पनि रहर सानैमा पूरा भयो ।’ पछिल्लो समय जिम्मेवारी थपिएकाले दशैंप्रति चासो नभएको उनको भनाइ छ ।

दशैंमा खाना र ड्रिंक्स

गायिका मिलन खानपिन खासै सौखिन छैनन्, जति लुगामा सौखिन छिन् । उनलाई नेपाली परिकार नै ठीक लाग्छ । मासुको परिकारमा उनलाई लोकल खुकुराको मासुमा कम मसला हालेर बनाएको सुप मनपर्छ । उनी भन्छिन्, ‘मलाई मनपर्ने मासुको प्रकार लोकल खुकुराको सुप हो ।’ ती परिकार उनी आफैँ पकाउँछिन् पनि । मिलन भन्छिन्, ‘मलाई नेपाली खानाका नर्मल सबै प्रकार बनाउन आउँछ । फुर्सदमा आफै खाना बनाउँछु । यसपालीको दशैंमा पनि पकाएर परिवारलाई खुवाउने मन छ ।’

नेवारीकी छोरी भएरपनि मिलन मद्यपान गर्दिनन् । ‘अहिलेसम्म सगुनको रुपमा छिर्काबाहेक ड्रिंक्स मेरो मुखमा परेको छैन । नेवारको घर हो । घरमा चाहिँ ड्रिंक्स चल्छ । पाहुनाका लागि पनि ड्रिंक्स चलाउने गरिन्छ ।’

मिलनलाई जुवातास पनि मन पदैन । तासको ‘त’समेत आफूलाई नआउने बताउँदै उनले भनिन्, ‘म एक राम्रो दर्शकचाहिँ पक्कै हुँ । दशैं तिहारमा आमा बुबा र बहिनी रमाइलोका लागि तास खेल्नुहुन्छ । म उहाँहरुको रमिते हुँ । रमिते नहुँदा खेल्नेलाई पनि मज्जा नहुने रहेछ ।’

प्रतिक्रिया दिनुहोस्