Logo
Logo

प्यूठान अस्पतालमा बिरामी सहायता कोष स्थापना



प्यूठान, २१ पुस (रासस) ः प्यूठान अस्पतालले गरीब बिरामी सहायता कोषको स्थापना गरेको छ । आज प्यूठान अस्पतालमा सम्पन्न अस्पताल व्यवस्थापन समितिको बैठकले ग्रामीण क्षेत्रबाट धेरै गरीब बिरामी आउने पैसा नभएर उपचार गर्न कठिनाइ भएको अवस्थालाई मध्यनजर गर्दै यस्तो कोष स्थापना गरेको हो । 



गरीब बिरामी सहायता कोषमा प्यूठान नगरपालिकाका नगर प्रमुख अर्जुनकुमार कक्षपतिले आफ्नो तलबबाट रु ५० हजार उपलब्ध गराउने घोषणा गर्नुभएको छ । गरीब विपन्न वर्गको सहयोगका लागि नगर प्रमुख कक्षपतिले ‘प्रमुख’ कोष स्थापना गरेको बताउनुभयो । 

मासिक तलब नलिई गरीबलाई सहयोग गर्ने प्रतिबद्धता गरेका नगर प्रमुख कक्षपतिले यसअघि आगलागी पीडित, विपन्न बिरामी, गरीबका लागि दशैँ खर्चसमेत उपलब्ध गराउनुभएको छ । गरीबले सहजरुपमा उपचार सेवा प्राप्त गर्ने वातावरण मिलाउनेछौँ”, नगर प्रमुख कक्षपतिले भन्नुभयो, “गरीब र असहायको उपचारमा पहिलो प्राथमिकता दिनेछौँ ।” 

उहाँका अनुसार अस्पतालभित्रको सरसफाइ र उपचारको व्यवस्थापनमा सुधार गरी भित्र पस्दा आधा रोग निको हुने खालको वातावरण सिर्जना गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । पछिल्लोपटक प्यूठान अस्पतालमा व्यवस्थापकीय समस्या रहेको सरोकारवालाको गुनासो छ । अस्पतालले सुधारका लागि विभिन्न योजना ल्याउँदा नागरिक आशावादी बनेका छन् । 

प्रतिक्रिया दिनुहोस्