Logo
Logo

दिगो विकासका लक्ष्य पहिल्याउन जनगणना : प्रमुख दाहाल


- दृष्टि न्युज/संवाददाता


चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले राष्ट्रिय जनगणनाविना योजनाहरु तयार पार्न नसकिने बताउनुभएको छ ।

राष्ट्रिय जनगणना २०७८ को तयारी सन्दर्भमा केन्द्रीय तथ्यांक विभाग र तथ्यांक कार्यालय चितवनले हिजो भरतपुरमा गरेको अन्तक्र्रियामा महानगर प्रमुख दाहालले राष्ट्रिय जनगणनाको महत्वको विषयमा प्रष्ट पार्नुभएको थियो । उहाँले भन्नुभयो, ‘यथार्थ तथ्यांकबाट नै विकासका मोडेलहरु तयार पार्न सकिन्छ, ठोस योजनाहरु निर्माण गर्न सकिन्छ, विकासका कामहरु अघि बढाउन सकिन्छ ।’

कार्यक्रमका प्रमुख अतिथि महानगर प्रमुख दाहालले राष्ट्रिय जनगणनाबाट यथार्थ तथ्यांक आउने हुनाले हरेक काम गर्न सघाउ पुग्ने बताउनुभयो । कार्यक्रममा उहाँले भन्नुभयो, ‘दिगो विकासका लक्ष्यहरु पहिल्याउन जनगणना आवश्यक छ ।’

कार्यक्रममा केन्द्रीय तथ्यांक विभागका उपमहानिर्देशक डिल्लीराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय तथ्यांक विभागका जनसंख्या शाखाका निर्देशक ढुण्डीराज लामिछानेले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँको कार्यपत्रमार्फत नेपालको जनगणनाको इतिहास, राष्ट्रिय जनगणना २०७८ को तयारी सन्दर्भबारे प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रवक्ता अरुणपीडित भण्डारीले सुुझाव संकलन गर्नुभएको थियो । कार्यक्रममा चितवनका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, अपाङ्ग जागरण मञ्चका अध्यक्ष अम्बिकालाल श्रेष्ठ, वीरेन्द्र क्याम्पसका प्राध्यापक युवराजसिं पराजुलीलगायतले मन्तव्य दिनुभएको थियो ।

नेपालमा हालसम्म ११ वटा जनगणना सम्पन्न भइसकेका छन् । राष्ट्रिय जनगणना २०६८ नेपालमा गरिएको एघारौं जनगणना हो । यो जनगणनाले देशव्यापी रूपमा तथ्यांक संकलन गरेको थियो । २०६८ को राष्ट्रिय जनगणनाको अन्तिम रिपोर्ट अनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार पाँच सय चार थियो । विसं २०१८ पछिका सबै जनगणनाहरु केन्द्रीय तथ्यांक विभागले सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्