Logo
Logo

मुद्दा हाल्ने प्रहरी सरुवा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । सशस्त्र प्रहरीका एसपी बढुवामा हालै उजुरी दिने दुई डिएसपीलाई कारबाही स्वरुप उपत्यका बाहिर पठाइएको छ । डिएसपी लेखनाथ खनाल र अच्युत मजगैयालाई उपत्यका बाहिर सरुवा गरिएको हो । उनीहरुले अदालतमा मुद्दा दायर गरेपछि अदालत धाउन नसकुन् भनेर नियोजित रुपमा सरुवा गरिएको हो ।

खनालको नवलपरासी र मजगैयाको बाँकेमा सरुवा गरिएको छ । आफूहरुको मुद्दालाई प्रभावित पार्न सरुवा गरिएको उनीहरुले बताएका छन् । उजुरी गरेर बदमासी बाहिर ल्याउँदा उनीहरु कारबाहीमा परेका हुन् ।

सशस्त्र प्रहरी नियमावलीको नियम ५५ मा बढुवा सिफारिस उपर चित्त नबुझे उजुरी गर्न सक्ने प्रावधान छ । गत ५ चैतमा बढुवा सिफारिस समितिले ३७ जना डिएसपीलाई एसपी बढुवामा सिफारिस गरी चित्त नबुझे एक साताभित्र उजुरी दिन सूचना प्रकाशन गरेको थियो । बढुवा समितिले निष्पक्ष मूल्याङकन नगरी आफूहरुलाई अन्याय गरेको भन्दै उनीहरुले उजुरी दिएका थिए । बढुवामा खनाल र मजगैयासहित ६ डिएसपी छुटेका थिए ।

गृहसचिव नेतृत्वको बढुवा उपरको बढुवा उपर उजुरी सुन्ने समितिमा उनीहरुले उजुरी दिएका थिए । सो समितिको सदस्यमा सशस्त्र प्रहरी महानिरीक्षक सदस्य रहन्छन् । सो समितिले पुरानै सूचिलाई सदर गरेपछि अदालत गएका हुन् । अदालतले बढुवालाई यथास्थितिमा राख्न आदेश दिएको थियो । तर, त्यसबेलासम्म बढुवा भएकाले फुली लगाइसकेका थिए । अदालतको आदेश अवज्ञा गरी उनीहरुले एसपीकै रुपमा काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्