
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी जनयुद्धका कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा.बाबुराम भट्टराईमाथि गैरराजनीतिक टिप्पणी गरेका छन् ।
एमाले कर्णाली–काठमाडौं सम्पर्क समितिले आइतबार तिहारको अवसरमा काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ‘जनयुद्धका क्रममा १७ हजारको मृत्यु हुँदा प्रचण्ड कसरी बाँचे ?’ भन्दै प्रश्न समेत गरेका छन् ।
माओवादी सशस्त्र विद्रोहका क्रममा १७ हजारको मृत्यु हुँदासम्म पनि सुप्रिम कमाण्डर प्रचण्ड भने बाँचेकोमा अचम्म व्यक्त गर्दै ओलीले भने, ‘प्रचण्ड बाँचे, १७ हजार मरे ।’
त्यसपछि उनी डा. भट्टराईविरुद्ध खनिए, ‘बाबुराम बाँचे, बाबुरामका छोराछोरी त बेलायत पढ्थे । बाबुराम भट्टराई भूमिगत हुँदा पनि उनका छोराछोरी बेलायत कसरी पढेका थिए ? हामी बेलायत जान भिसा पाउँदैनथ्यौँ । बाबुरामका छोराछोरीले भिसा पाउँथे । के जादु होला त्यसमा ? एउटा भूमिगत क्रान्तिकारी नेताका छोराछोरीको बाउको नाउँ त चाहिन्छ, नागरिकता चाहिन्छ, नागरिकता पाउन, पासपोर्ट पाउन । कुन पासपोर्टबाट जानुभएको ? कहाँ भिसा लाग्यो ? बाबुरामजी बताउनुस् त ?’
ओलीले थप प्रश्न गर्दै भने, ‘बेलायतमा २, ४, ५ लाख खर्च हुन्छ महिनाको । कहाँ कमाउनुभएको थियो भूमिगत हिँड्दा ?’
ओलीका अनुसार प्रचण्ड र बाबुरामहरु भूमिगत हुँदा युरोप घुमेका थिए । तर, आफूहरु भने प्रहरीको रेकर्डमा खराब भएको भनेर पासपोर्ट नपाएको ओलीले बताए । ओलीले आफूले २०४८ सालमा सांसद भएपछि मात्र पासपोर्ट बनाएको बताए ।











