Logo
Logo

लखेटी-लखेटी खुकुरी प्रहार गरी युवकको हत्या, ८ जना पक्राउ



काठमाडौं । कैलालीमा एक युवकको हत्या गरेको अभियोगमा ८ जना पक्राउ परेका छन् । टिकापुर नगरपालिका–१ स्थित सिद्वार्थ होटल नजिकै लम्कीचुहा नगरपालिका–१ लम्की चौराह बस्ने २३ वर्षीय भुपेन्द्र बडुवालको हत्या भएको हो ।

पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–३ चिसापानी बस्ने २४ वर्षीय महेश रावल, सोही ठाउँ बस्ने २० वर्षीय आर्यन देवकोटा, सोही ठाउँ बस्ने २० वर्षीय धिरज शाही, लम्कीचुहा नगरपालिका–१ बस्ने २२ वर्षीय कपिल श्रेष्ठ तथा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, टिकापुर नगरपालिका–१ बस्ने २३ वर्षीय प्रबीन रिमाल, टिकापुर नगरपालिका–१ बस्ने २१ वर्षीय रोहित आले र सोही ठाउँ बस्ने २६ वर्षीय सोहन शाह रहेका छन् ।

प्रहरीका अनुसार बडुवाललाई सुरूमा टीकापुरस्थित केराबारीमा पुर्‍याइएको र त्यहाँबाट लखेट्दै–लखेट्दै होटल सिद्धार्थनजिक पुर्‍याएर हत्या गरिएको थियो ।

बडुवाललाई खुकुरी र टाउकोमा रड प्रहार गरेको देखिएको कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए।

आक्रमणपछि घाइते भएका बडुवालको टिकापुर अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको थियो ।

घटनास्थलबाट सु.प.प्र.०१००८ प ५५६५ नम्बरको स्कुटर र सु.प.प्र. ०१००८ प १०७२ नम्बरको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोही बिषयलाई लिएर मृतकका आफन्तहरुले चिसापानी बजारस्थित महेश रावलको संगम होटल, भैरव शाही र राज बहादुर शाहीको घरमा ढुंगामुडा गर्दा सामान्य क्षति भएको छ ।

साथै उनीहरुले लम्कीचुहा नगरपालिका–१ स्थित लम्की चोकमा पूर्व पश्चिम राजमार्ग समेत अवरोध गरेकोले हटाउने पहल भइरहेको छ ।

घटनामा संलग्न अन्यको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्