Logo
Logo

१० बुँदे कार्यान्वयन भइसक्यो : महासचिव पोखरेल


378
Shares

चितवन । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले पार्टीमा १० बुँदे कार्यान्वयनको विषयमा कुनै समस्या नरहेको बताएका छन् ।

आज चितवनमा पत्रकारहरुसँग कुरा गर्दै उनले १० बुँदे समझदारी आधारभूत रुपमा कार्यान्वयनमा आइसकेको बताए । ‘१० बुँदे समझदारी आधारभूत रुपमा कार्यान्वयनमा आइसकेको छ’, उनले भने, ‘कहींकतै समस्या भए त्यसलाई पार्टीले समाधान गर्छ ।’

महाधिवेशनमा आफ्नो उम्मेदवारीको विषयमा टुङ्गो लागि नसकेको महासचिव पोखरेलले बताए । नेकपा एमालेको १० औँ महाधिवेशनको तयारीको अवस्था बुझ्न पोखरेलसँगै महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा, सह–संयोजक सुरेन्द्र पाण्डे, पार्टीका उपमहासचिव विष्णु पौडेल, स्थायी समिति सदस्य विष्णु रिमाल, शङ्कर पोखरेल, योगेश भट्टराई र प्रदीप ज्ञवाली आएका छन् ।

यसैगरी विदेश विभाग प्रमुख राजन भट्टराई, केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङ पनि आज चितवन आएका हुन् । उनीहरुले महाधिवेशनको उद्घाटन सत्र हुने भनिएको नारायणी नदी किनारको स्थलगत रुपमा अवलोकन गरी आवश्यक जानकारी लिएका छन् ।

बन्द सत्र गर्न लागिएको सौराहाको बाघमारा चौरसहितका अन्य क्षेत्रको पनि आज अवलोकन गरी छलफल गर्ने कार्यक्रम रहेको जिल्ला अध्यक्ष पार्वती रावलले बताए । उद्घाटन सत्रमा देशैभरबाट नेता कार्यकर्ता ल्याउने पार्टीको योजना छ । बन्द सत्रमा दुई हजारको हाराहारी सदस्य रहने छन् । नेकपा एमालेको आगामी मंसिर १० देखि १२ गतेसम्म महाधिवेशन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्