काठमाडौं । प्रधानन्यायाधीश चोलन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनको अगुवाइमा आन्दोलनमा उत्रिएका कानुन व्यवसायीले बिहीबार पनि सर्वोच्च अदालत परिसरभित्रै अराजक हिसाबले नाराजुलुस गरे ।
न्यायपालिकाको इतिहासमा सर्वोच्च अदालत परिसरभित्रै प्रधानन्यायाधीशविरुद्ध अराजक ढंगले नाराजुलुस भएको सायदै पहिलो पटक हो । नेपाल बारका पूर्वपदाधिकारी,वर्तमान पदाधिकारी,वरिष्ठ अधिवक्ताहरू सम्मिलित विरोध कार्यक्रममा उत्तेजित नारा लगाइएका थिए। कानुनका ज्ञाताहरू नै सर्वोच्च अदालत परिसरमा संयमित बन्न सकेनन् ।
प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बारले दोस्रो चरणको आन्दोलन थालेको छ । राजीनामा माग राखेर कालोपट्टीसहित नेपाल बारको प्रांगणमा धर्ना दिँदै आएका कानुन व्यवसायी बिहीबार भने सर्वोच्च अदालत परिसर पुगे ।
सर्वोच्च अदालतभित्रै माइक राखेर विरोध कार्यक्रम गर्ने तयारी गरिरहेका कानुन व्यवसायीलाई त्यहाँ खटिएका सुरक्षाकर्मीले संवेदनशील स्थान भएकाले भित्र कार्यक्रम नगरिदिन आग्रह गरेका थिए। सुरुमा पाँचजना सुरक्षाकर्मीले रोकेका थिए । माइक राखेर कार्यक्रम गर्न नपाउँदा उपस्थित कानुन व्यवसायी आक्रोशित भएका थिए ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।











