Logo
Logo

अस्पतालमा प्रसूति प्रतिक्षा कक्ष र एकद्वार सङ्कट व्यवस्थापन केन्द्र सञ्चालन



म्यादी । सदरमुकामस्थित बेनी अस्पतालमा प्रसूति प्रतिक्षा कक्ष सञ्चालन भएको छ । ग्रामीण र दुर्गम क्षेत्रका साथै बाहिरी जिल्लाबाट बेनी अस्पतालमा प्रसूति सेवा लिन आउनेका लागि कक्ष स्थापना भएको हो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले गण्डकी प्रदेश सरकारको सहयोगमा पूर्वाधार निर्माण गरेर प्रसूति प्रतिक्षा कक्षको सेवा सुरु गरेको बताए ।

‘स्वास्थ्य मन्त्रालयको ५० शय्या क्षमताको अस्पतालमा प्रसूति प्रतिक्षा कक्ष हुनुपर्ने मापदण्ड पूरा गर्न यो सेवा थपेका हौँ’, उनले भने , “गाउँको स्वास्थ्य संस्थाबाट सिफारिस भएर आएका सुत्केरी हुने अवस्थाका गर्भवतीलाई प्रसूति भएर घर नजाँदासम्मका लागि बसोबासको व्यवस्था हुन्छ ।’ शयनकक्ष र भान्छा कोठासहितको दुईकोठे भवनमा प्रसूति हुन आउनेले आफैँ खानेकुराको जोहो गरेर बस्न पाउनेछन् । बजारमा आफन्तका घर नभएका र होटलमा बस्नुपर्नेका लागि प्रसूति प्रतिक्षा कक्षबाट सुविधा पुग्ने अध्यक्ष कटुवालले बताए ।

बेनी अस्पतालमा म्याग्दीका साथै मुस्ताङ, बागलुङ र पर्वत जिल्लाबाट पनि प्रसूति सेवाका लागि आउँछन् । यहाँ शल्यक्रियामार्फत गरिने जटिल प्रकृतिको प्रसूति सेवा उपलब्ध छ । अस्पतालका प्रमुख चिकित्सक जितेन्द्र कँडेलका अनुसार गत आर्थिक वर्ष २०७७÷७८ मा १२३ वटा शल्यक्रियामार्फत गरिने सहित ७३४ जनाले प्रसूति सेवा लिएका थिए ।

यसैगरी अस्पतालमा हिंसा प्रभावित महिला तथा बालबालिकाको मनोपरामर्श र स्वास्थ्य उपचारका लागि एकद्धार सङ्कट व्यवस्थापन केन्द्रसमेत सञ्चालन भएको छ । केन्द्रमा आउने हिंसा प्रभावित महिला तथा बालबालिकालाई आवासीय सुविधासहित चिकित्सकको परामर्श, स्वास्थ्योपचार र न्यायिक प्रक्रिया अघि बढाउन सघाउने व्यवस्था छ ।

सामाजिक विकास मन्त्रालयको रु १५ लाख बजेटमा प्रसूति प्रतिक्षा र एकद्धार सङ्कट ब्यवस्थापन केन्द्रको भवन निर्माण भएको व्यवस्थापन समितिका अध्यक्ष कटुवालले जानकारी दिनुभयो । यस्तै बालरोग कक्ष थप र साधारण उपचार कक्षको क्षमता बढाउन नयाँ भवन निर्माण भएको छ ।

प्रदेश सरकारको रु ३५ लाख सहयोगमा प्रिप्याक प्रविधिको भवन निर्माण गरेर क्षमता बढाउन लागिएको अस्पतालले जनाएको छ । नयाँ भवनमा छवटा बालरोग र सातवटा साधारण शय्या छन् । बालबालिकाको उपचारलाई प्रभावकारी बनाउन स्वास्थ्य मन्त्रालयको मापदण्डअनुसार छुट्टै कक्ष बनाएको अस्पतालका प्रमुख कँडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्