Logo
Logo

टी-ट्वान्टी विश्वकप: पहिलोपटक जित्यो अष्ट्रेलियाले उपाधी



काठमाडौं । टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले जितेको छ । आइतबार राती दुबईमा भएको फाइनलमा न्युजिल्यान्डलाई ८ विकेटले हराउँदै अष्ट्रेलियाले पहिलोपटक टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेको हो ।

न्युजिल्यान्डले दिएको १७३ रनको लक्ष्य अष्ट्रेलियाले ७ बल बाँकी छदै २ विकेट गुमाएर भेट्टायो । उसका लागि मिचेश मार्शले नटआउट ७७ र डेभिड वार्नरले ५३ रन बनाए ।

यस्तै ग्लेन म्याक्सवेलले नटआउट २८ रन बनाउँदा कप्तान आरोन फिन्च ५ रनमै आउट भए । टिम साउथीको बलमा चौका हान्दै म्याक्सवेलले कंगारु टिमलाई टी–ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी चुमाएका हुन् ।

न्युजिल्यान्डका ट्रेन्ट बोल्टले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७२ रन बनाएको थियो । उसका लागि कप्तान केन विलियम्सनले सर्वाधिक ८५ रन बनाए । मार्टिन गुप्टिलले २८ रन बनाए ।

अष्ट्रेलियाका जोश हेजेल्वुडले ३ र एडम जाम्पाले १ विकेट लिए । सेमिफाइनलमा पाकिस्तानलाई हराउँदै दुबईको फाइनलमा टस जितेर फिल्डिङ रोज्ने निर्णय गरेको अष्ट्रेलियाले पहिलोपटक टी–ट्वान्टी विश्वकपको ट्रफी उचाल्ने सपना साकार पारेको हो । न्युजिल्यान्ड भने फेरि पनि अभागी टिममा सीमित रह्यो ।

सन् २०१५ को एकदिवसीय विश्वकपमा पनि न्युजिल्यान्ड अष्ट्रेलियासँगै स्तब्ध बनेको थियो । सन् २०१९ विश्वकपको फाइनल पुगेपनि इंग्ल्यान्डले ट्रफी उचाल्दा विलियम्सनको नेतृत्वमा रहेको किवी टिम ‘ह्वाइट बल’ क्रिकेटमा च्याम्पियन बन्न बञ्चित रह्यो ।

दुबईमा विश्वकप सुरु हुँदै गर्दा कंगारु टिममा मिचेल मार्शको खास चर्चा थिएन । डेभिड वार्नर, स्टिम स्मिथ, ग्लेन म्याक्सवेल सबैभन्दा धेरै चर्चामा थिए । पछिल्ला टी–ट्वान्टी खेलमा आक्रामक ब्याटिङ गरेर चम्किएका मार्शलाई शीर्ष वरियताको ब्याटिङ लाइनअपमा राखिएको थियो ।

फाइनल खेलको म्यान अफ द म्याच बनेका मार्शले हिरो सावित भए । सेमिफाइनल र सुपर १२ का खेलमा पनि राम्रो प्रदर्शन गरेका थिए । फाइनलमा ५० बल खेलेका उनले ६ चौका र ४ छक्का प्रहार गरे । उत्कृष्ट आक्रामक सट खेलेका उनले विश्वकपमा सनसनीपूर्ण प्रदर्शन गरेर आफूलाई अब्बल प्रमाणित गरे ।

विश्वकपकै उत्कृष्ट खेलाडी बने वार्नर

दुबई विश्वकपमा २८९ रन बनाएका डेभिड वार्नर प्रतियोगिताकै उत्कृष्ट खेलाडी बनेका छन् । अष्ट्रेलियालाई विश्वकप उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका उनले समग्र प्रतियोगिताभर उत्कृष्ट खेल्दै २८९ रन जोडेका हुन् ।

उनी विश्वकपमा सर्वाधिक रन जोड्ने दोस्रो खेलाडी बने । पाकिस्तानका कप्तान बाबर आजाम ३०४ रनसहित धेरै रन बनाउने ब्याटरको शीर्ष स्थानमा रहे । आइपीएलमा फर्ममा नदेखिएका वार्नरले सनराइजर्स हैदरावादको कप्तानी गुमाएका थिए । उनले आइपीएलका अन्तिम खेलमा मौका समेत पाएनन् ।

प्रतिक्रिया दिनुहोस्