काठमाडौं । गीतकार किशोर चाम्लिङ राईको शब्द तथा वरिष्ठ सङ्गीतकार शिवसंगम राईको सङ्गीतमा तयार भएको नयाँ गीत ‘के छ खबर’ सार्वजनिक भएको छ। परदेशी जीवनको पीडा, गाउँघरको सम्झना, पारिवारिक बिछोड र स्वदेश फर्किने आशालाई समेटिएको गीतमा एआई प्रविधिमार्फत स्वर प्रयोग गरिएको छ।

गीतमा परिवारको खुसीका लागि परदेशमा सङ्घर्ष गरिरहेका नेपालीको व्यथा र स्वदेशमा रहेका प्रियजनको प्रतीक्षालाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ। विशेषगरी, वृद्ध आमाको छोराप्रतिको माया, मायालु जोडीबीचको प्रेमलाई गीत समेटिएको छ ।
केटा र केटीबीचको संवादात्मक शैलीमा अगाडि बढ्ने गीतले परदेशमा शरीर रहे पनि मन भने आफ्नै गाउँघरमा हुने परदेशी नेपालीको भावनालाई समेटेको छ। चाडपर्वमा परिवारबाट टाढा रहनुपर्दाको पीडा, बित्दै गएको जवानी र पारिवारिक खुसी गुम्दै गएको अनुभूतिले गीतलाई थप मार्मिक बनाएको छ।
गीतकार राईले यसअघि पनि नेपाली सङ्गीत क्षेत्रमा विभिन्न गीतहरू श्रोतामाझ ल्याइसकेका छन्। केही समयअघि सार्वजनिक भएको उनको गीत ‘दिक्तेल बजार’ ले श्रोताको मन जित्नुका साथै सामाजिक सञ्जाल टिकटकमा समेत लोकप्रियता हासिल गरेको छ।
राईका यसअघि सार्वजनिक भएका गीतहरूमध्ये ‘ओ निम्सदाइ’, ‘सामबारे हाटैमा’, ‘बगैँचाको कुन डालीमा’, ‘यो ज्यानलाई फिट हुने’, ‘मलाई जल्न देऊ’ र ‘पहिलो चोटी भेट भयो’ लगायत दर्जनौँ गीत रहेका छन्।
‘के छ खबर’ ले परदेशमा रहेका नेपालीको सङ्घर्ष, परिवारप्रतिको माया र मातृभूमिप्रतिको भावनालाई सङ्गीतमार्फत अभिव्यक्त गरेको छ।
भिडियो













