Logo
Logo

लुम्बिनी, पशुपतिनाथ र जनकपुर जोड्ने सर्किट बनाउनुपर्छ : अध्यक्ष दाहाल


- दृष्टि न्युज/संवाददाता


नेपाल प्रज्ञा प्रतिष्ठान र मिथिला प्रतिष्ठानको आयोजनामा राष्ट्रिय विभूति सीता जन्म जयन्तीका अवसरमा मंगलबार काठमाडौँमा अयाोजित कार्यक्रममा सहभागी हुँदै नेकपाका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत । तस्वीर : रासस

काठमाडौं, ३० बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले लुम्बिनी, पशुपतिनाथ र जनकपुरलाई जोड्ने सर्किट बनाउन आवश्यक रहेको बताएका छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठान र मिथिला प्रतिष्ठानको सयुक्त आयोजनामा सोमबार ‘राष्ट्रिय विभूति सीता जन्मजयन्ती समारोह’मा उनले ती धार्मिकस्थललाई जोडेर सर्किट बनाएर मुलुकको धार्मिक पर्यटन विकास गर्न सकिने बताए । उनले हिन्दू र वौद्ध धर्मलाई जोड्ने सर्किट बनाउन सके विश्वको ध्यान केन्द्रीत गर्न सकिने समेत धारणा राखे । जनकपुर, पशुपतिनाथ र लुम्बिनीलाई ज्ञान विज्ञानको रुपमा विकास गर्नुपर्ने उनको भनाइ थियो ।
‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सि जिन पिङसँग एशियाको आर्थिक, राजनीतिक र सांस्कृतिक समीक्षा गर्दे भविष्य कसरी लैजाने भन्नेमा मेरो बहस भएको थियो’ अध्यक्ष दाहालले भने, ‘दुवै नेताले नेपाल देश सानो नभएको र नेपालको इतिहासको गौरव पनि कम छैन, अहिले पनि नेपालले खेल्ने भूमिका ठूलो रहेको बताएको सुनाए ।
‘दुई नेताको भनाइबाट जनकपुर, लुम्बिनी र पशुपतिनाथलाई सम्झन्छन् भन्ने देखाउँछ’ अध्यक्ष दाहालले पूर्व पाथीभरादेखि बडिमालिकासम्म रहेका सबैका शक्तिपिठलाई जोड्ने एउटा शक्तिपिठ सर्किट बनाउन आवश्यक रहेको बताए ।

नेपाल–भारतका शक्तिपिठ जोड्ने सर्किट
यस्तै उनले नेपाल र भारतका शक्तिपिठलाई जोड्ने सर्किट बनाउनुपर्ने बताए । नेपालका शक्तिपिठ र भारतका शक्तिपिठ मिलाएर शक्तिपिठ सर्किट बनाउने हो भने पर्यटन विकासमा क्रान्ति ल्याउन सकिने उनको भनाइ थियो ।

अध्यक्ष दाहालले नेपाल र भारतका केही विद्धानलाई राखेर यसको सम्भाव्यता अध्ययन गर्न लगाउनुपर्ने बताउए ।
यस्ते, उनले मिथिला सभ्यतालाई ज्ञान, आर्थिक समाजिक र विकासको केन्द्रको रुपमा लैजानुपर्ने समेत धारणा राखे । मिथिला र मिथिला सभ्यता आफैमा नेपालको मात्र नभइ विश्वका मानव जातिको संस्कृतिको केन्द्रविन्दु रहेको उल्लेख गर्दै मिथिला सभ्यताबाट मानिसले ज्ञान र विज्ञान सिक्ने सिकाउने भए पनि अहिले मिथिला यहाँबाट अयन्त्र सरेको बताए ।
जनकपुरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण, नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र दुवै प्रधानमन्त्रीद्वारा रामायण सर्किटको उद्घाटन, अयोध्यामा चल्ने बसको उद्घाटन जस्ता कार्य्मिथिला सभ्यतालाई नै बुझेर गरेको उनले उल्लेख गरे । पौराणिक तथा ऐतिहासिककालमा रहेका सबै गौरवलाई अन्वेषण गर्ने र त्यसका बारेमा जनचेतना अभिवृद्धि गदै इतिहासका गौरवलाई जनता र वर्तमान समाजको सेवामा सदुपयोग गर्नुपर्ने उनले भनाइ थियो ।
अध्यक्ष दाहालले आफू धर्म निरपेक्षभन्दा धर्म सापेक्षको पक्ष पोषण गर्ने, जनताको धार्मिक आस्थालाई सम्मान गर्ने, सबै धर्म सम्प्रदायमा राज्यले समान व्यवहार गर्नुपर्दछ भन्ने कुराको पक्षपाती रहेको बताए ।
अध्यक्ष दाहालले आफू भौतिकवादी दर्शनको विद्यार्थी भए पनि मानव जीवनमा आध्यात्मिक चिन्तनको योग र ध्यानको भूमिका रहन्छ भन्नेमा आफू रहेको उल्लेख गरे ।

यस्तै, अध्यक्ष दाहालले सीतालाई आर्दश नारीको रुपमा चिनिएकोले रामजयन्ती जस्तै सीता जयन्तीलाई पनि भव्य रुपमा मनाउनुपर्ने बताए । ‘रामको जन्मलाई जसरी मनाउँदा सीताको जन्मलाई भने कम गरी मनाउने परम्परा रहेको छ । त्यो पितृसत्तावादी सोचको अभावले भएको हो’ उनले भने, ‘रामभन्दा सीताको जन्म कत्ति पनि कम मान्नुहुदैन । महिला हुनुको नाताले सीतालाई बढी चर्चा, सम्मान हुनुपर्दछ । सीताको भूमिकालाई बढी प्रचार गर्नुपर्दछ ।’
अध्यक्ष दाहालले चीन भ्रमणमा जाँदा ल्हासाबाट काठमाडाँ हुँदै पोखरा लुम्बिनीसम्म रेल लैजाने कुरा र भृकुटीले खेलेको भूमिका स्थापित गराउने कुरा पूरा हुँदै गइरहेको बताए । उनले ल्हासाबाट रेल चाँडै अब आइपुग्ने भन्दै त्यसले पर्यटन र विकासका निम्ति कोशेढुंगा सावित गराउने बताए ।

प्रतिक्रिया दिनुहोस्