काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगलले आन्दोलनरत कानुन व्यवसायीमाथि अनावश्यक बल प्रयोग नगर्न आग्रह गरेको छ । बिहीबार अयोगका प्रवक्ता टीकाराम पोखरेलले एक विज्ञप्ति जारी गर्दै कानुन व्यवसायीमाथि अनावश्यक बल प्रयोग नगर्न सरकारसँग अनुरोध गरेको हो ।
साथै, घाइते भएका वकिलको निस्शुल्क उपचार गराउन तथा घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग आयोगले माग गरेको छ ।
प्रवक्ता पोखरेलद्वार जारी विज्ञप्तिामा भनिएको छ– ‘कानुन व्यवसायीहरूबाट गरिएको शान्तिपूर्ण आन्दोलनमा प्रहरीबाट अनावश्यक बल प्रयोग गरी घाइते बनाइनु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन विपरीतको कार्य भएकोले शान्तिपूर्ण आन्दोनमा रहेका कानुन व्यवसायीहरूमाथि अनावश्यक बल प्रयोग नगर्न, घाइतेहरूको निस्शुल्क उपचार गर्न तथा घटनाको छानबिन गरी दोषी देखिएकालाई कानुनी कारबाहीको दायरामा ल्याउन आयोग सरकारलाई आग्रह गर्दछ ।’
आयोगले मानव अधिकारको दृष्टिकोणबाट अनुगमन गरेको र अधिकृतहरूको टोलीले घाइते भएका वकिलहरूको अवस्था समेत बुझ्न अस्पताल पुगेको जनाएको छ ।
बिहीबार अदालत परिसरमा प्रहरी र कानुन व्यवसायीहरूबीच घम्साघम्सी भएको थियो। त्यसक्रममा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित केही घाइते भएका थिए ।













