काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बिहीबार अदालत प्रवेशमा रोक लगाउन धर्ना दिइरहेका कानुन व्यवसायीमाथि प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीले गरेको लाठीचार्जबाट नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र केन्द्रीय सदस्य प्रकाश महर्जनलगायत घाइते भएका छन् । गम्भीर घाइते भएका महर्जनलाई नजिकैको अन्नपूर्ण न्युरो अस्पतालमा तत्कालै लगिएको थियो ।
प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै केही सातादेखि नेपाल बारको नेतृत्वमा कानुन व्यवसायीले सर्वोच्च अदालत प्रवेश गर्ने मूल गेटमा धर्ना दिँदै आएका छन् । प्रधानन्यायाधीश जबरा भने मूल गेटबाट नभई गेट नम्बर २ बाट अदालत प्रवेश गर्दै आएका थिए । कानुन व्यवसायीहरूले बिहीबार गेट नं. २ मा पनि धर्ना दिएपछि प्रहरीले बल प्रयोग गरेको हो । वकिलहरूले धर्नाका लागि तय गरिएको दुई घण्टा गेट नं। २ मा सुरक्षाकर्मीसँग घम्साघम्सीमै बिताए । कानुन व्यवसायीलाई रोक्न अदालतको सुरक्षामा एसपीको कमान्डमा रहेका प्रहरीले नपुगेर दंगा प्रहरीलाई समेत खटाइएको थियो । एसएलआर हतियार बोकेका ‘स्पेसल टास्क फोर्स’ का सुरक्षाकर्मी पनि कानुन व्यवसायीलाई रोक्न तैनाथ देखिन्थे ।
प्रहरीले आफूलाई लक्ष्य गरेर प्रहार गरेको घाइते महर्जनले बताए । अग्रमोर्चामा रहेका उनी यसअघि धर्नास्थलमा व्यवस्थापकीय काम गर्थे । ‘डीएसपी सधैंझैं आज ९बिहीबार० पनि माइक खोस्न आउनुभयो । मैले यस्तो नगर्नुस्, हामी भ्रष्टको विरुद्धमा आवाज उठाइरहेका छौं भनेको थिएँ । उहाँले म हुन्जेल गर्न दिन्नँ भन्नुभयो,’ महर्जनले सुनाए, ‘भीडमा तानी घेरा हालेर लाठी र बुटले प्रहार गरियो ।’, यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।












