काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले अब देशका कुनै पनि नागरिकले कोभिड–१९ विरुद्ध खोपबाट वञ्चित हुन नपर्ने गरी खोप ल्याउन लागेको बताएका छन् ।
आज मध्यपुरथिमिको बोडेमा सुरु भएको राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपालको दुईदिने राष्ट्रिय भेलामा उनले सरकारले ६ करोड खोपको सुनिश्चितता गरेको बताए ।
मन्त्री खतिवडाले भने, ‘करिब एक करोड डोज खोप जनतालाई लगाइसकेका छाँै, विश्वस्वास्थ्य सङ्गठनबाट सहयोगमा आउने २० प्रतिशत खोपबाहेक अरु खोप ल्याउन सरकारले केही सम्झौता गरिसकेको छ, केही सम्झौताको चरणमा छ, जनताका लागि छ करोड खोप सुनिश्चित गरिसकेका छौँ, अब खोपको अभाव हुँदैन ।’
उनले १२ वर्षदेखि १८ वर्षका नागरिकका लागि एक करोड खोप सम्झौता भइसकेको जानकारी दिए । अमेरिकामा पाँच वर्षसम्मका बालबालिकालाई खोप लगाएको र भारत तथा चीन पनि त्यस्ता खोपको परीक्षण भइरहेकाले त्यो सफल हुनेबित्तिकै १२ वर्षभन्दा तल पाँच वर्षसम्मका बालबालिकाका लागि पनि खोप ल्याउने उनको भनाइ छ ।
उनले दुई डोज खोप दिएर नपुग्ने भन्दै तेस्रो डोज खोज बुस्टर लगाउनुपर्ने चर्चा चलिरहेकाले त्यसबारेमा पनि सरकारले छलफल चलाएको र आवश्यकता परे तेस्रो डोज दिनका लागि बुस्टर खोप पनि ल्याइने बताए ।












