Logo
Logo

नक्कली स्टिकर प्रकरण : क्षेत्रीलाई जोगाउन फितलो अनुसन्धान



बुटवल । नक्कली स्टिकर प्रयोग गर्ने डिस्टिलरीलाई कारबाही गरेजस्तो गर्ने तर शक्तिकेन्द्रको दबाबमा उन्मुक्ति दिने घुमाउरो प्रयास भएको छ । नक्कली स्टिकर प्रयोग गरेर अर्बौ राजस्व छल्ने डिस्टिलरी सञ्चालकले कारबाहीबाट बच्न विभिन्न प्रपन्च गरिरहेको बेला गहन अनुसन्धानविनै उच्च अदालत तुल्सीपुर, बुटवल इजलासमा राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ ।

राजस्व छलीमा संलग्नहरूलाई बच्न सजिलो हुने गरी उद्योगीसहित १० जनाविरुद्ध मुद्दा दर्ता भएको स्रोतको दाबी छ । विभागले पाँच करोड ५६ लाख ४३ हजार विगो दाबीसहित गत हप्ता मुद्दा दायर गरेको हो ।

रुपदेही सिद्धार्थनगर नगरपालिका–१३ का क्रिष्टल बोटलर्स प्रालिका सञ्चालक फूलसिंह क्षेत्री, क्रिष्टल बोटलर्सका सञ्चालक प्रदीप क्षेत्री, सिद्धार्थनगरकै माउन्ट एभरेष्ट डिष्ट्रिलरीका सञ्चालक मृगेन्द्र गोविन्द श्रेष्ठ, मोहम्दसहिद अन्सारीविरुद्द विभागले मुद्दा दायर गरेको छ । यस्तै, माउन्ट एभरेष्ट डिष्ट्रिलरीका सञ्चालक प्रतिभा क्षेष्ठ, बुटवल मैत्रीपथ घर भएका माउन्ट एभरेष्ट डिष्ट्रिलरीका मुख्य कारोबारकर्ता प्रविन्द्र गोविन्द श्रेष्ठ, सिद्धार्थनगर ३ का अमानत अलि, बुटवलका राजा कसौधन, लालबन्दीका हरिप्रसाद पौडेल, नुवाकोट तादी घरभई तिलोत्तमा बस्ने कुलबहादुर पण्डितलाई विभागले प्रतिवादी बनाएको छ ।

फितलो अनुसन्धान
गत भदौ ५ गते नक्कली स्टिकरसहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेपनि उक्त स्टिकर कुन मदिरा उद्योगमा प्रयोग गर्न ल्याइएको हो भन्ने अझै खुल्न सकेको छैन् । अनुसन्धानमा सक्रिय रहनुपर्ने राजस्व अनुसन्धान विभागले गहन रुपमा काम नगरेको स्रोतको दाबी छ । स्रोतका अनुसार पैसाकै चलखेलमा विगतदेखि नै गलत काम हुँदै आएको छ ।

यस घटनामा क्रिष्टल डिष्टिलरीका मालिक क्षेत्रीले आफू जोगिन बालुवाटारसम्म पहुँच बनाएका थिए । क्षेत्रीको अस्वभाविक चलखेलका कारण पनि उक्त स्टिकर क्रिष्टल डिष्टिलरीकै भएको दाबी गरिए पनि विभागको फितलो अनुसन्धानका कारण क्षेत्री जोगिने सम्भावना बढी छ । क्षेत्री नक्कली स्टिकर काण्डमा पटक–पटक पक्राउ परेका व्यक्ति हुन् । उनले गरेको अपराध भण्डाफोर गर्दा उनले यस दृष्टि अनलाइनविरुद्ध काठमाडौं जिल्ला अदालतमासमेत मुद्दा दर्ता गराएका छन् ।

नक्कली स्टिकर भित्र्याउने र प्रयोग गर्ने कतिपय उद्योगीलाई राजस्वका उच्च कर्मचारीदेखि मन्त्रीसम्मले बचाउन चलखेल गरिरहेका छन् । मुद्दा दायर भए पनि अनुसन्धान फितलो पारी उद्योगीलाई बचाउन उनीहरूले दबाब दिने गरेको स्रोतको दाबी छ ।

राजस्वकै कर्मचारीको मिलेमतो
उद्योग सञ्चालकहरूले अर्को उद्योगसँग मिल्दो नम्बरको नक्कली स्टिकर टाँस्नेदेखि विभागले जारी गरेकै जस्तो फर्जी स्टिकर टाँसेर मदिरा बेच्ने गरेका छन् । मुलतः मदिरा उद्योगमा प्रयोग हुने स्टिकर राजस्वका कर्मचारीबाहेक अरुको रोहबरमा प्रयोग हँुदैन । मदिरा उद्योगमा प्रयोग हुने स्टिकरमा राजस्वका कर्मचारीको मिलेमतो विना बदमासी हुन नसक्ने एक उद्योगीको दाबी छ । तर, विभागले गहिरो अनुसन्धान नगरेकोले अभियुक्तहरुले उन्मुक्ति पाउने गरेको स्रोतको दाबी छ ।

रुपन्देहीमा यसअघि पनि मदिरा उद्योगमा प्रयोग हुने स्टिकरमा बदमासी भएको थियो । स्रोतका अनुसार भारतमा नक्कली स्टिकर छापेर रुपन्देही, नवलपरासी, कपिलबस्तुलगायत जिल्लामा भित्रिने गरेको छ । अहिले पनि नक्कली स्टिकर भित्रिने क्रम नरोकिएको राजस्वकै एक कर्मचारीले बताए । तर, नक्कली स्टिकर कुन उद्योगले प्रयोग गरिरहेको छ भन्नेबारे सबैले थाहा पाएर पनि तै चुप मै चुपको अवस्था छ । सेटिङमै मुद्दा दर्ता भएकोले आरोपीले अदालतमा नक्कली स्टिकर प्रयोग गरेको स्वीकार्ने अवस्था देखिदैन । नक्कली स्टिकरका कारण राज्यले अर्बौँ रकम गुमाइरहेको छ । तर, पनि सरोकारवाला निकाय गहन अनुसन्धानमा चुक्दै आएको छ ।

क्रिष्टल डिष्टिलरीको आवश्यक कागजपत्र नियन्त्रणमा लिएर उद्योग भने चालु गर्न दिइएको छ । अनुसन्धानमा बाधा नपुग्ने, कर्मचारीलाई समस्या नपर्ने र राजस्व घाटा नहुनेगरि उद्योग संञ्चालन गर्न दिइएको विभागका कर्मचारी बताउँछन् । राजस्वकै कर्मचारीको मिलेमतोमा नक्कली स्टिकर भित्रिदै आएको जानकार बताउँछन् ।

शसस्त्र प्रहरी बल डण्डा बोर्डर आउट पोष्टबाट शसस्त्र प्रहरी निरीक्षक कृष्णप्रसाद अर्यालको कमाण्डमा खटिएको टोलीले भैरहवाको दरखसवाबाट ८० रोल नक्कली स्टिकर बरामद गरेको थियो । जुन स्टिकर नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइएको थियो । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–३ दरखसवाको एउटा घरमा लुकाएर राखेको अवस्थामा प्रहरीले खानतलासी गरि स्टिकर बरामद गरेको थियोे । आन्तरिक राजस्व विभाग लेखिएको उक्त स्टिकर दुई करोड ३५ लाख ६३ हजार बराबरको रहेको कार्यालयको प्रारम्भिक विवरणबाट देखिएको छ । तर पनि यसमा अन्तशुल्क मात्र नभएर आयकरसमेत जोडिने भएकाले करिब पाँच करोडको राजस्व छली भएको सरोकारवाला बताउँछन् ।

यस घटनामा क्रिष्टल डिष्टिलरीका मालिक क्षेत्रीले आफू जोगिन बालुवाटारसम्म पहुँच बनाएका थिए । क्षेत्रीको अस्वभाविक चलखेलका कारण पनि उक्त स्टिकर क्रिष्टल डिष्टिलरीकै भएको दाबी गरिए पनि विभागको फितलो अनुसन्धानका कारण क्षेत्री जोगिने सम्भावना बढी छ । क्षेत्री नक्कली स्टिकर काण्डमा पटक–पटक पक्राउ परेका व्यक्ति हुन् । उनले गरेको अपराध भण्डाफोर गर्दा उनले यस दृष्टि अनलाइनविरुद्ध काठमाडौं जिल्ला अदालतमासमेत मुद्दा दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्