Logo
Logo
एमालेको १०औँ महाधिवेशन

विश्लेषक श्याम श्रेष्ठ भन्छन्- ओली प्रतिगामी भइसके, केको महाधिवशेन ?



काठमाडौं । नेकपा एमालेको १०औंँ महाधिवेशन शुक्रबार चितवनमा सुरु हुँदैछ । मंसिर १० देखि १२ गतेसम्म हुने यस महाधिवेशनमा एमालेले पाँच लाख कार्यकर्ता उतार्ने तयारी गरेको छ । एमालले यस महाधिवेशनलाई उत्सवकै रुपमा मनाउँदैछ ।

तर, एमालेलाई यो स्थानसम्म ल्याउने माधवकुमार नेपाल र झलनाथ खनाल यस पटकको महाधिवेशनमा छैनन् । एमाले पार्टी निर्माणमा महत्वपूर्ण योगदान गरेका नेपाल र खनाल विनाको महाधिवेशन नेता कार्यकर्ताका लागि स्वभाविक खल्लो हुनेछ ।

माले हुँदै एमाले यहाँसम्म ल्याइपुर्याउन नेपाल र खनालले २७ वर्षसम्म पार्टीको नेतृत्व गरे । तर, अहिले नेता नेपाल र खनाल अलग पार्टीमा छन् । उनीहरुले एमालेबाट विद्रोह गरेर नेकपा एकीकृत समाजवादी गठन गरेका छन् ।

लामो समय पार्टीभित्र वैचारिक अन्तरद्वन्द्वपछि नेता नेपाल र खनाल लगायतका एमाले नेताहरु अलग पार्टी स्थापना गरेर अगाडि बढिरहँदा एमालेको १०औंँ महाधिवशेन हुँदैछ । यो महाधिवेशनबाट एमालेले पाँच वर्षे नेतृत्व चयन गर्दैछ ।

१९ असारदेखि १ साउन २०७१ मा भएको एमालेको नवौँ राष्ट्रिय महाधिवेशनले पार्टीका १३ वटा कार्यभार पारित गरेको थियो । त्यो बेला अध्यक्षका हैसियतमा राजनीतिक प्रतिवेदन पेस गरेका अध्यक्ष खनाल अहिले एकीकृत समाजवादी पार्टीका सम्मानित नेता छन् ।

नवाैँ महाधिवेशनले केपी शर्मा ओलीलाई अध्यक्ष चयन गर्दै बृहत् वाम एकताको नारासहित एमाले अगाडि बढेको थियो । तर, वाम एकता होइन, उल्दै ओलीका कारण एमाले विभाजन भयो । ओलीको दम्भ, घमण्ड र अहंकारले एमाले मात्र विभाजन भएन ऐतिहासिक एकताको आधारमा बनेको नेकपासमेत खारेज भयो ।

अध्यक्ष निर्वाचित भएपछि ओलीले सबै पक्षलाई समेटेर पार्टीलाई एकतावद्ध, सुढृढ र गतिशील बनाउने प्रतिवद्धता जनाएका थिए । अध्यक्षको कार्यभार सम्हालेलगत्तै आफ्नो निवास बालकोट पुगेका उनले भनेका थिए, ‘पार्टीको अभिभारा र चुनौती मेरो काँधमा आएको छ, सबै पक्षलाई समेटेर जिम्मेवारीपूर्वक पार्टी सञ्चालन गर्छु ।’ तर, समय बित्दै जाँदा ओलीको अहंकार र घमण्ड पनि बढ्दै गयो ।

अध्यक्ष ओलीले जनताको बहुदलीय जनबाद (जबज)को सिद्धान्तअनुसार नै पार्टीलाई अगाडि बढाइने र पद विशेषलाई भन्दा पनि देश र जनताको उन्नतिका लागि काम गर्ने प्रतिवद्धता जनाएका थिए ।

नवौँ महाधिवेशनले दिएको अर्को कार्यभार थियो, वाम मोर्चाको निर्माण र पार्टी एकीकरणका विभिन्न चरणको माध्यमबाट नेकपा एमालेलाई कम्युनिस्ट केन्द्रका रूपमा विकास गर्ने । यो कार्यभारअनुसार माओवादी केन्द्रसँग एकता गरिएपनि सैद्धान्तिक बहसबिना गरिएको यो एकता छिन्नभिन्न मात्र भएन, नवौँ महाधिवेशनबाट आएको नेतृत्वसमेत छिन्भिन्न हुन पुग्यो । एमाले पार्टी निर्माणमा महत्वपूर्ण योगदान गरेका नेताहरुलाई ओलीले दुश्मन बनाए ।

१३ वटा कार्यभार तय गर्दै राजनीतिक प्रतिवेदन पास गरेको नवौँभन्दा १०औं महाधिवेशनको स्वरूपसमेत फरक छ किनकि, त्यसबेला महाविधेशनले नीति र नेतृत्व दुवै चयन गरेको थियो । तर, यसपटक एमालेले महाधिवेशन अघि नै नीति पारित गरिसकेको छ भने १०औँ महाधिवेशनले नेतृत्व चयन गर्नेछ ।

नेपाल र खनालको योगदान
नेपाली कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल र झलनाथ खनालको जति योगदान छ, त्यति केपी ओलीको छैन । यो पार्टी पंक्तिमा सर्वदिवित्तै छ । नेपाल र खनाल विभिन्न चरणको वाम आन्दोलन र समूहको नेतृत्व गरेका नेताहरु हुन् । नेकपा माले हुँदै एमाले बनेपछि खनालले पटक–पटक पार्टीको नेतृत्व गरे । खनालले विभिन्न चरणमा पार्टी नेतृत्व गर्दै वैचारिक संघर्ष र पार्टी निर्माणमा महत्वपूर्ण योगदान गरे ।

२०४९ को पाँचौँ महाधिवेशनमा नेता मदन भण्डारीले प्रस्तुत गरेको ‘जनताको बहुदलीय जनवाद’ (जबज) एमालेको मार्गदर्शक सिद्धान्तको रूपमा विकसित गरिएको थियो । राजनीतिक कार्यक्रमका रूपमा प्रस्तुत जबज छैटौँ र सातौँ महाधिवेशनसम्म आइपुग्दा मार्गदर्शक सिद्धान्त बनाइयो । २०५० मा मदन भण्डारीको निधन भएपछि नेता नेपाल नेतृत्वमा आए ।

२०५९ को सातौँ महाधिवेशनमा पार्टी पंक्तिको झण्डै ८५ प्रतिशत मत माधव नेपालले होल्ड गरेका थिए । पुराना र नयाँ पुस्ता दुवैले उनलाई साथ दिएका थिए । त्यो बेला खनाल महासचिव बने । खनाललाई महासचिव बनाउन नेपालले नै भूमिका निर्वाह गरेका थिए ।

२०६४ को पहिलो संविधानसभा निर्वाचनमा एमाले पराजित भएपछि नेता नेपालले नैतिकताका आधारमा राजीनामा दिएपछि पुनः खनाल नेतृत्वमा आए । २०७१ साउनमा सम्पन्न नवौँ महाधिवेशनमा पुराना नेताहरू वामदेव गौतम, मुकन्द न्यौपाने, प्रदीप नेपाल र ईश्वर पोखरेलको साथ पाएपछि बल्ल केपी ओली नेतृत्वमा आएका हुन् । तर, समयान्तरमा एकैठाउँ उभिएर ओलीको आलोचना गरिरहेका नेपाल–खनाललाई अन्ततः पार्टीबाटै निष्कासित गरिए ।

१४ वर्षे जेलजीवनपछि बहुदलीय व्यवस्था स्थापना हुँदै गर्दा पार्टी केन्द्रीय कमिटीमा आएका ओलीले एमालेको एकतामा ‘नेपाल–खनाल समस्या’ बनेको भन्दै त्यतिखेरै नेपाल र खनालले पार्टीप्रति गरेको योगदानलाई तिलाञ्जली दिए ।

‘महाधिवेशन नाटकमात्रै’
नेकपा एमालेको १०औंँ महाधिवेशन शुक्रबार चितवनमा तामाझामका साथ सुरु हुँदैछ । तर, एमालेको यस महाधिवेशनलाई ‘महाधिवेशन’ भन्न नसकिने राजनीति विश्लेषक बताउँछन् ।

एमाले पार्टी निर्माणमा महत्वपूर्ण योगदानमात्र होइन, जीवन समर्पण गरेका माधवकुमार नेपाल र झलनाथ खनालजस्ता नेताको सहभागिताविना हुन लागेको महाधिवेशन ‘केपी ओलीबाट मञ्चित नाटक’ मात्र हुने विश्लेषकको बुझाइ छ । हुन पनि यो महाधिवेशन नाम मात्र महाधिवेशन हुने निश्चित छ । किनकि, यो महाधिवेशनमा नेतृत्वका लागि केही अभ्यास हुने छैन । ओलीलाई नै नेतृत्व सुम्पन महाधिवेशन तयार छ ।

एमाले कार्यकर्ताहरु नै यो महाधिवेशनलाई ‘खल्लो’ मानिरहेका छन् । पार्टी निर्माणमा अहोरात्र लाग्दै आएका नेताहरु अलग भएपछि महाधिवेशनलाई लिएर विगतमा जस्तो रौनकता नदेखिनु स्वभाविक हो ।

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ भन्छन्, ‘नेपालको राजनीति फोहोरको डंगुर भइसक्यो । नेताहरु व्यक्तिवादी भएपछि के हो महाधिवेशन ?’ नेपाली कम्युनिष्टमा केपी ओलीजस्ता व्यक्तिहरुको उदयले कम्युनिष्ट नै सकिँदै गएको उनको बुझाइ छ ।

पत्रकार तथा वाम विश्लेषक श्रेष्ठ भन्छन्, ‘मैले राजनीतिक विश्लेषण गर्नै छाडेँ किनकि, यहाँ कम्युनिष्ट नै रहेनन् । कम्युनिष्टहरु कम्युजन छाडेर कता–कता लागे । कम्युनिष्टको राजनीति विरक्त लाग्दो छ ।’

एमालेको १०औँ महाधिवेशनलाई ‘नौटंकी’को संज्ञा दिँदै उनले भने, ‘केपी ओली नै प्रतिगामी भइसके । यस्तो अवस्थामा एमालेको महाधिवशेन हुँदैछ, जतिखेर कम्युनिष्टहरु रंग बदलेर कोही पहेँलो र खैरो बनिरहेका छन् । खाशमा सबैको रंग रातो हुनुपर्ने हो नि । त्यसैले यसलाई महाधिवेशन भन्न सकिँदैन ।’

नेता माधव नेपाल र झलनाथ खनालप्रति उनको छोटो टिप्पणी छ । विश्लेषक श्रेष्ठ भन्छन्, ‘एमाले पार्टी निर्माणमा माधव नेपाल र झलनाथ खनालको योगदानलाई विश्लेषण गर्नै सक्दिनँ । उहाँहरु १०/१० वर्ष महासचिव भएर पार्टी चलाएका व्यक्तिहरु हुन् । उहाँहरु पार्टी नै स्थापना गर्ने नेताहरु हुन् ।

’वर्तमान एमाले अध्यक्ष केपी ओली प्रतिगामी र अधिनायकवादी भएकै कारण नेपाल र खनालले अलग पार्टी गठन गर्न पुगेको उनको विश्लेषण छ । प्रतिगामीले नेतृत्व गरेको पार्टीमा बस्नुभन्दा बाहिरिनु उचित हुने टिप्पणी गर्दै उनले भने, ‘नेपालको राजनीतिमा फोहोरैफोहोर मात्र छ । त्यसैले मैले विश्लेषण गर्न छाडेको हुँ । यही मंसिर १ गतेदेखि राजनीतिक विश्लेष नगर्ने घोषणा गरेको छु । तर, लेखहरु भने बेला बेला लेख्नेछु ।’

प्रतिक्रिया दिनुहोस्