Logo
Logo

कुटपिटबाट सैनिक जवानको हत्या


- दृष्टि न्युज/संवाददाता


लहान, ३ जेठ ।
चोरीको आरोपमा कुटिएका नेपाली सेनाका जवान अनिशकुमार सिंहको उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको छ । सिरहाको दक्षिणी सीमावर्ती बरियारपट्टी गाउँपालिका–४ तेनुवापट्टी गाउँ घर भएका सिंहमाथि ६ दिनअघि निर्घात कुटपिट भएको थियो ।
संखुवासभाको खाँदबारीस्थित नेपाली सेनाको गुल्ममा कार्यरत सिंह घरबिदामा आएका वेला घटना भएको हो । काठमाडौंको छाउनी अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान २ बजेतिर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।

स्थानीयको धर्ना र प्रदर्शन

सिंहको मृत्युपछि बिहीबार दिउँसो स्थानीयले सिंहलाई सहिद घोषणाको माग गर्दै बरियारपट्टी इलाका प्रहरी कार्यालयअगाडि नाराबाजी र प्रदर्शन गरे । गाउँपालिका प्रमुखसहित स्थानीय अगुवा र प्रहरीबीचको छलफलमा गाउँलेका माग माथिल्लो निकायमा जानकारी गराउने सहमतिपछि गाउँलेले प्रदर्शन रोकेका थिए । सहिद घोषणासँगै बरियारपट्टीको मिलन चोकमा स्मारक निर्माण, बरियारपट्टीमा एक दिन सार्वजनिक बिदालगायत नौबुँदे माग स्थानीयले राखेका छन् । यस्तै, केन्द्रीय छानबिन टोलीबाट घटनाको छानबिनको माग पनि राखिएको छ ।

गाउँलेकै कुरा बाझियो

बरियारपट्टी–४, तेनुवापट्टीकी दुलेश्वरीको घरमा नकाव लगाएर लुट्न आएकाहरूले घरका सदस्यलाई कुटपिट गर्दै ५० हजार नगद, डेढ तोला सुन, ४० तोला चाँदी लुटेर भाग्दै गर्दा गाउँलेको एक समूहले लखेट्ने क्रममा अनिशलाई पक्राउ गरिएको दाबी गरिएको छ । दुलेश्वरीदेवी यादवले २८ वैशाखको राति अनिशसहित पाँच–सातजनाको समूहले घरमा लुटपाट गरेको भन्दै बरियारपट्टी प्रहरीमा ठाडो निवेदन दिएकी थिइन् । सिरहाका प्रहरी नायब उपरीक्षक खरेलले घटनाबारे अनुसन्धान भइरहेको र घटनामा संलग्नको खोजतलास भइरहेको बताए ।

घरबिदामा आउँदा ज्यान गयो

बरियारपट्टी गाउँपालिका–४ सोहपुर गाउँका घुरनकुमार सिंह दनुवारका छोरा अनिश संखुवासभाको खाँदबारीस्थित नेपाली सेनाको बराह दल गुल्ममा कार्यरत थिए । २५ दिनको बिदा लिएर ५ वैशाखमा घर आएका उनी २९ वैशाखमा फर्कने तयारीमा थिए । तर, २८ गते राति छिमेकी गाउँमा चोरी र लुटपाट गरेको आरोपमा उनीमाथि स्थानीयले मरणासन्न हुने गरी कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका अनिशलाई प्रहरीले उद्धार गरी विराटनगरस्थित गोल्डेन अस्पताल पठाएको थियो । त्यहाँ उपचार हुन नसकेपछि छाउनी अस्पताल पुयाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्